इटहरी- विश्वकै अग्ला चुचुराहरू समेट्ने हिमालय क्षेत्र र मनोरम प्राकृतिक तथा सांस्कृतिक धरोहरहरू भएको प्रदेश–१ ट्रेकिङ गर्नेहरूका लागि स्वर्ग नै हो ।
विश्वको सबैभन्दा लामो ट्रेकिङ रुट ‘ग्रेट हिमालयन ट्रेकिङको पनि अभिन्न अंग हो, प्रदेश–१ । प्रदेशभित्रैका आन्तरिक ट्रेकिङ रुटहरू पनि अन्तर्राष्ट्रियस्तरका छन् । यी हुन्, प्रदेश–१ का मुख्य ट्रेकिङ रुटहरू :
सगरमाथा आधार शिविर
प्रदेश–१ को एक्लो विश्व सम्पदा सूचीमा छ, सगरमाथा राष्ट्रिय निकुञ्ज । यही निकुञ्जको आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथा पर्वतारोहणका लागि मात्रै होइन, पदयात्राको लागि पनि चर्चित छ । लुक्लाबाट कालापत्थरसम्मको यो रुट विश्वमै लोकप्रिय छ । सामान्यतया १६ दिनको हो, यो रुट ।
यो रुटको उच्चतम विन्दु पाँच हजार पाँच सय ४५ मिटर हो । प्रदेशकै बासिन्दा भने उक्त रुटमा कमै पदयात्रामा निस्किने गरेको माउन्टेन राम एडभेन्चर्सका सञ्चालक रामशरण उप्रेती बताउँछन् ।
पैदल र हेलिकोप्टर दुवै प्रयोग हुन्छन्, यस रुटमा । पैदल यात्रामा ८० हजार र हेलिकोप्टरमा जनही तीन लाख रुपैयाँ खर्च हुन्छ । समूहमा जाँदा भने करिब एक लाख रुपैयाँ पर्छ ।
कञ्चनजंघा आधार शिविर

आठ हजार पाँच सय ८६ मिटरको विश्वको तेस्रो अग्लो कञ्चनजंघा आधार शिविरको टे«किङ प्रदेश–१ को दोस्रो लोकप्रिय रुट हो । ताप्लेजुङको सुकेटार विमानस्थलबाट शुरु हुने यो टे«किङ २५ दिन हाराहारीको छ ।
यो रुटको ट्रेकिङ कञ्चनजंघा आधार शिविरको ५४ सय मिटरमा पुगेर सकिन्छ । माउन्टेन मोनार्क टे«किङ एन्ड क्याइम्बिङका संस्थापक प्रदीपकुमार लिम्बुका अनुसार कञ्चनजंघा टे«किङका लागि विदेशी जनही दुई लाख रुपैयाँ लाग्छ ।
मकालु आधार शिविर
आठ हजार चार सय ६३ मिटरको विश्वको पाँचौं अग्लो शिखर हो, मकालु । संखुवासभामा पर्ने यो हिमालको आधार शिविर विश्वको लोकप्रिय ट्रेकिङ रुट हो ।
करिब २२ दिनको यो रुट संखुवासभाको तुम्लिङटार विमानस्थलबाट शुरु हुन्छ । संखुवासभाको नुमसम्म गाडी पुगेकाले त्यहाँबाट जाँदा भने १४ दिन मात्रै लाग्छ । मकालु एडभेन्चर्सका सञ्चालक मोहन लम्सालका अनुसार यो रुटको सबैभन्दा उच्चतम विन्दु पाँच हजार मिटर हो ।
विदेशी पर्यटकका लागि यो रुटको खर्च करिब दुई लाख रुपैयाँ छ । नेपालीले भने कमै यात्रा गर्ने गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४