काठमाडौं- रातभर झमझम पानी परेको थियो । सबेरै उठेर फ्रेस हावा खान बाहिर निस्किन लागेका काठमाडौं बुद्धनगरका श्यामलाल श्रेष्ठ भुईं तलामा राखिएका बाइक, गाडीलगायत सामानमा थुप्रिएको हिलो र धुलो देखेर अचम्मित भए ।
रातभरको पानीबाट सफा हुनुपर्ने बाइक, गाडी र रेलिङहरू धुलाम्य र हिलाम्य कसरी भए ? श्रेष्ठको दिमाग रन्थनियो । उनी घरको छततिर गए । त्यहाँ पनि त्यस्तै हिलो र धुलो जमेको थियो ।
अनि, छिमेकीलाई सोधे, ‘यो के भएको हो ?’ छिमेकीहरू पनि त्यही दृष्य देखेर अचम्मित भएका थिए । केही दिनदेखि आकाशबाट खसिरहेको धुलो र हिलोले राजधानीवासी मात्र होइन, मुलुकको अन्य भागका बासिन्दा पनि अचम्मित छन् । शनिबार बिहानदेखि यही हिलो र धुलोबारेका जिज्ञासा र प्रतिक्रियाले सामाजिक सञ्जालहरू भरिएका छन् ।
शनिबार बिहानै आफ्नो घरको छतको दृष्य देखेर नेपाल निजामति कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहन घिमिरे आश्चर्यमा परे । रातभरि पानी परेकाले छतमा पानी होला भनेर गएका उनी हिलो देखेपछि छक्क परे । अनि, फेसबुकमा लेखे, ‘लौ न यो के भएको ।’
घिमिरेले नेपाल समयसँग भने, ‘म त छक्कै परें । पानी पर्यो भनेको त रातभरि हिलो पो परेछ ।’ उनले आफ्नो घर रहेको क्षेत्रका सबै घरका छत र बाहिर राखिएका सवारी साधन नियाले । सबैमा सेतो हिलो थियो ।

बीबीसीबाट लिइएको स्केच
राजस्थानको धुलो नेपालमा बर्सियो
विज्ञहरूका अनुसार काठमाडौंको वायु मण्डलमा भएको हिउँदको धुलो यसअघि भएको वर्षामै झरिसकेको छ ।
शुक्रबार राति अरब सागरभन्दा पूर्वतर्फ ‘लाे प्रेसर’ थियो । लाे प्रेसर भनेको तातो हावा वायु मण्डलमा फैलिनु हो । त्यो हावा मनसुनले कम ताप भएको इलाकातिर लैजान्छ । जहाँ हार्इ प्रेसर हुन्छ, त्यही वर्षासँगै जमिनमा खस्छ । इरान, पाकिस्तान र भारतको राजस्थानतिर शुक्रबार लाे प्रेसर थियो । त्यो फैलिँदै आएर नेपालको पहाडी इलाकामा वर्षासँगै झरेको विज्ञहरू बताउँछन् ।
‘अरब सागरनजिकका मरुभूमिबाट वायु मण्डलमा पुगेको धुलो नै नेपालसम्म आइपुगेको हो,’ एक विज्ञ बताउँछन् । भारतका राजस्थान, दिल्ली र इन्द्रप्रस्थलगायत क्षेत्रमा लामो समयदेखि वर्षा भएको छैन । र, ती इलाकामा अत्यधिक गर्मी छ ।
त्यहाँको सुख्खा र तातो हावा यता आयो अनि चिसिएर वर्षा भयो । ‘यो नेपाली होइन, विदेशी धुलो हो,’ एक जलवायु विज्ञ भन्छन् ।
पछिल्लो ३६ देखि २४ घण्टामा नेपालतिर ‘मुभ’ भएको धुलोसहितको हावा नै वर्षाका रूपमा वायुमण्डलबाट खसेको हो ।
बिहीबार र शुक्रबार भारतका दिल्ली, लखनउलगायत क्षेत्रमा निकै ठूलो हुरी चलेको थियो । त्यसमा परेर सात जनाको ज्यानसमेत गयो । लामो समय वर्षा नभएको ठूलो क्षेत्रमा चलेको हुरीले बोकेर वायु मण्डल हुँदै नेपाली आकाशबाट बर्सिएको विज्ञहरू बताउँछन् ।
खासगरी, चुरे इलाकाको आकाशमा भरिएको बाक्लो धुलोसहितको हावा अझ माथि आएर बर्सिएको विज्ञहरू बताउँछन् । नेपालगञ्जबाट पूर्व सर्लाहीसम्म हिलो वर्षा भएको थियो, शुक्रबार राति ।
मौसमविद्हरूका अनुसार अझै पनि त्यस क्षेत्रमा धुलोका कण बाँकी छन् । हल्का वर्षा हुँदा पनि हिलोसहितको पानी जमिन खस्ने क्रम जारी नै छ ।
नेपालगञ्जमा भने हिलो वर्षा भएको छैन । त्यसदेखि पश्चिम कञ्चनपुरमा भने काठमाडौंको जस्तै समस्या देखिएको छ । कञ्चनपुरका विभिन्न इलाकामा काठमाडौंमा जस्तै लेदो वर्षा भएको स्थानीय बासिन्दाले जानकारी दिए ।
कञ्चनपुरको दक्षिणी भेगस्थित पुनर्वास र बेलौरी क्षेत्रमा हिउँजस्तै देखिने हिलोसहितको वर्षा हुँदा स्थानीय बासिन्दा चकित छन् ।
विज्ञहरूका अनुसार राजस्थान र अरब सागरमा तातो बढ्यो, हावा माथि गयो र लो प्रेसर जोन सिर्जना भयो । नेपालमा मनसुन शुरु हुँदै गर्दा बंगालको खाडीबाट हाई प्रेसर जोनको पानी यता आयो। पश्चिममा लो प्रेसर जोन सिर्जना भयो । सम्भवतः काठमाडौंको आकाशमा आइपुग्दा 'इन्टेनसिटी' धेरै भयो र हिलो वर्षा भयो । बीबीसीका अनुसार पाकिस्तानको अस्गाबाट क्षेत्रमा शुक्रबार लो प्रेसर जोन देखिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४