सोमबार, वैशाख ८, २०८२

कोभिड खोप लगाउनुपर्ने जनसंख्या दुई करोड १७ लाख, यस्तो छ उपलब्धताको अवस्था

औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसेल, कोभ्याक्सिन, स्पुतनिक–भी र कोरोनाभ्याकलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
 |  मंगलबार, जेठ २५, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, जेठ २५, २०७८

vianetvianet

काठमाडौं- मंगलबारदेखि ६० वर्षमाथि उमेर समूहकालाई कोरोना भाइरसविरुद्धको खोप भेरोसेल लगाइँदैछ।  एक हप्ताअघि चीन सरकाले अनुदानस्वरुप दिएको १० लाख डोज खोपको पहिलो डोज लगाउन लागिएको हो। 

triton college

भेरोसेलको पहिलो डोज सुरु भइरहँदा यसअघि कोभिसिल्डको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज कहिले पाउने भन्ने अन्योल छ। 

त्यसो त निवर्तमान स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयबाट बिदा हुँदै गर्दा आइतबार १७ लाख डोज खोप दुई हप्ताभित्र आउने दाबी गरेका थिए। उनले सिरम इन्स्टिच्युटसँग नेपालले गरिद गरेर आउन बाँकी १० लाख डोज दुई साताभित्र आउने संकेत हुन्। चीनबाट पनि २० लाख डोज खोप खरिदका लागि वार्ता प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताएका थिए । 

खोप खरिद प्रक्रियाको जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई छ। परराष्ट्र मन्त्रालयले खरिद प्रक्रियाको समन्वय गरिरहेको छ। सरकारले भारत, बेलायत, रुस, अमेरिका, चीनलगायत देशलाई औपचारिक रुपमा पत्र लेखेर खोप उपलब्ध गराउन आग्रह गरिरहेको छ।

अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीले पनि नेपाललाई खोप दिने भनेको छ। तर कति दिने, कहिले दिने र कुन रेटमा दिने भन्ने पत्रको जवाफ आइनसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी उताबाट आधिकारिक पत्र नआएसम्म अन्य कुरा भन्न नसकिने बताउँछन्।

National life insurance

उनका अनुसार डेनमार्कले पनि एस्ट्राजेनेकाको खोप दिने प्रस्ताव गरेको छ। १४ लाख खोप सहयोग गर्ने भन्दै डेनिस सरकारले नेपाललाई पत्राचार गरेको छ। सो खोप ल्याउनका लागि स्वास्थ्य सेवा विभागले युनिसेफमार्फत पहल गरिरहेको छ। विभागले युनिसेफलाई पत्र पठाए पनि युनिसेफबाट कुनै जवाफ आइसकेको छैन। पत्रको जवाफ नआएसम्म के हुन्छ भन्न नसकिने तिंकरी बताउँछन्। तर पनि डेनिस सरकारले खोप दिन सकारात्मक रहेको भन्ने पत्र पठाएकाले खोप लगाउन बाँकी रहेका नागरिकलाई दिन सकिन्छ कि भन्ने आशा जागेको उनी बताउँछन्। 

डा. तिंकरी भन्छन्, ‘फागुन २३ गतेदेखि चैत १० गतेसम्म पहिलो डोज कोभिसिल्ड लगाएका करिब १३ लाख मानिसले दोस्रो डोज पाएका छैनन्। उनीहरुले दोस्रो डोज लगाउने समय पूरा भइसकेको छ। कोभिसिल्ड खोप तत्काल आउने अवस्था छैन, तर एस्ट्राजेनेकाकै अर्को खोप लगाउन मिल्ने देखिएपछि हामीले एस्ट्राजेनेकाले उत्पादन गरेको अर्को खोप लगाउने तयारी गरेका छौं। तर एस्ट्राजेनेकाको अर्को खोप पनि हामीसँग छैन। डेनिस सरकारले १४ लाख दिने सकारात्मक कुराले कोभिसिल्डको दोस्रो डोज खोप लगाउन बाँकी रहेकालाई खोप लगाउन पाइन्छ कि लागेको छ।’

अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले गत बिहीबार ‘विश्वव्यापी खोप रणनीति’ घोषणा गर्दै नेपालसहितका देशलाई खोप दिने घोषणा गरेको छ। तर कति मात्रामा नेपालले खोप पाउने उल्लेख भएको छैन। डा. तिंकरीले भने, ‘जुनको अन्तिमसम्ममा उक्त खोप पाइने सम्भावना छ।’ 

त्यस्तै, सरकारले चीनबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो। तर चिनियाँ पक्षले खोप खरिदका लागि सर्त राखेको छ। तिंकरीका अनुसार नेपालले चीनसँग एक करोड डोज खोप खरिद गर्ने र पहिलो चरणमा २० लाख डोज किन्ने प्रस्ताव राखेको थियो। नेपालको जबाफमा चीनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात् गोप्य सम्झौता गर्नुपर्ने प्रस्ताव राख्यो। तर त्यसले समस्या आउन सक्ने भन्दै विभागले उक्त खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन। त्यसको कानुनी पाटोबारे छलफल भइरहेको विभागका एक अधिकारीले बताए। 

अहिलेसम्म कति खोप आयो? कतिले लगाए? 

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप लगाएपछि तस्बिर खिचाउँदै टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी। फाइल तस्बिर : रासस 

नेपालमा हालसम्म ३२ लाख ४८ हजार डोज खोप अनुदानमा आएको छ भने सरकारले १० लाख डोज किनेको छ। नेपालले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख डोप कोभिसिल्ड खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख डोज आए पनि बाँकी १० लाख अझै आएको छैन।

हालसम्म भारतले ११ लाख (नेपाली सेनालाई अनुदानमा उपलब्ध गराएको १ लाख सहित) डोज कोभिसिल्ड, चीनले १८ लाख डोज भेरोसेल र कोभ्याक्स फ्यासिलिटीबाट ३ लाख ४८ कोभिसिल्ड खोप अनुदानमा आएको छ। १० लाख कोभिसिल्ड भने नेपालले सिरम इन्स्टिच्युटसँग खरिद गरेको छ। 

नेपालमा २ करोड १७ लाख नागरिकलाई खोप लगाउनुपर्ने स्वास्थ्य सेवा विभाग खोप महाशाखाको तथ्यांक छ। तर हालसम्म भेरोसेल र कोभिसिल्ड गरी जम्मा ४२ लाख ४८ हजार खोप नेपाल भित्रिएको छ। 

२३ लाख  ४८ हजार कोभिसिल्डमध्ये १८ लाख २३ हजारभन्दा धेरैले पहिलो डोज लगाएका छन् भने करिब ४ लाख ३५ हजारले मात्रै दोस्रो डोज लगाउन पाएका छन्। कोभिसिल्डको दोस्रो डोज लगाउन अझै १३ लाख बाँकी छन् तर उनीहरुले कहिले खोप पाउने निश्चित छैन। 

त्यस्तै १८ लाख भेरोसेलमध्ये २ लाख ९० हजारले पहिलो डोज लगाएका छन् भने २ लाख ७७ हजारभन्दा धेरैले मात्रै दोस्रो डोज खोप लगाएका छन्। १० लाख भेरोसेल मंगलबारदेखि देशैभर ६० देखि ६५ वर्ष उमेरका मानिसलाई लगाइँदैछ।

यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिडविरुद्धको खोप भेरोसेल दिने भनेको थियो। तर, अन्तिम समय आएर उपत्यका बाहिरका जिल्ल्लामा उमेर समूहमा संसोधन गरेको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।

दोस्रो डोजको सुनिश्चितता गरेर मात्रै चिनियाँ खोपको पहिलो डोज लगाइएका कारण चिनियाँ खोप अभियानमा कुनै समस्या नरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा पनि दोस्रो डोजको सुनिश्चितता गरेर अभियान सञ्चालन गर्न लागेको उनले डा. तिंकरी बताउँछन्। 

नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पनि सबैभन्दा पहिले दोस्रो डोज लगाउन बाँकी १३ लाखलाई खोप उपलब्ध गराउन प्रयास गरिरहेको बताएका छन्। 

खोप ढिला भए के हुन्छ? 

अहिले देशभर करिब १३ लाख मानिस कोभिसिल्डको दोस्रो डोज लगाउने पर्खाइमा छन्। खरिदको सम्झौता अनुसार भारतले खोप नदिँदा फागुन २३ देखि चैत १० सम्म पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज लगाउने समय ढिला भइसकेको छ। 

विश्व स्वास्थ्य संगठनले खोप पहिलो डोज र दोस्रो डोजको लगाउने अवधि ८ देखि १२ हप्ताभित्र भनेको छ। पहिलो डोज लगाएकाले समयभित्रै खोप लगाउन नपाउँदा के हुन्छ त? खोप विज्ञ तथा सरकारद्वारा गठित खोप समितिका संयोजक डा. श्यामराज उप्रेती भन्छन्, ‘केही समय ढिला हुँदैमा डराउनु पर्दैन। दोस्रो डोज लगाउन नपाउँदा कुनै असर गर्दैन। १२ हप्तापछि शरीरमा रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ, त्यो समयमा संक्रमण हुन सक्ने सम्भावना बढी हुन्छ। त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। तर दोस्रो डोज लगाएपछि प्रतिरोधात्मक क्षमता पूर्ववत् अवस्थामा नै आउँछ।’

समयमै खोप लगाउन नपाउँदा १२ हप्तापछि शरीरमा प्रतिरोधात्मक क्षमता कम हुने तर खोप पाएपछि पुनः एन्टिबडीले निरन्तरता पाउने उनले बताए। केही ढिला गरी खोप लगाए पनि पछि फेरि अर्को खोप लगाउनु नपर्ने उनी बताउँछन्। 

उनी थप्छन्, ‘दोस्रो डोज लगाउन नपाएका मानिसहरु शरीरमा अन्य असर गर्ने हो कि भन्ने चिन्तामा परेका छन् तर त्यसो होइन। दोस्रो डोजले बुस्टमात्रै गर्ने हो। त्यसैले केही समय ढिला हुँदा आत्तिनु पर्दैन।’

औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड, बेइजिङ इन्स्टिच्युट अफ बायोप्रडक्ट अन्तर्गत सिनोफार्मले उत्पादन गरेको भेरोसेल, भारत बायोनटेकले विकास गरेको कोभ्याक्सिन, रुसले विकास गरेको स्पुतनिक–भी र चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले बनाएको ‘कोरोनाभ्याक’ लाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ। नेपालमा अहिलेसम्म कोभिसिल्ड र भेरोसेल खोपमात्रै प्रयोगमा ल्याइएको छ। 

प्रकाशित: Jun 08, 2021| 00:34 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्