काठमाडौं- गायक शिव परियार सानैदेखि फुटबल खेल्थे । राजधानी नआउन्जेल उनको सात वर्ष फुटबल खेलेरै बित्यो ।
‘केही महिनाको तालिम लिने हो भने शायद राष्ट्रिय खेलाडी जत्तिकै खेल्न सक्छु,’ उनमा आत्मविश्वास छ अझै । स्कुले जीवनमा खेलेको खेललाई उनले बिर्सेका छैनन् । खुट्टामा बल ननचाई घर फर्केको दिन उनलाई निद्रा लाग्दैनथ्यो ।
आफूलाई किपर या डिफेन्सका रूपमा प्रस्तुत गरेनन् । तर, जहाँ पनि सहजै खेल्न तयार हुन्थे । भन्छन्, ‘खेलाडीले राम्रो खेल्ने हो ।’
गत १९ जेठमा उनी मोटरसाइकल दुर्घटनामा परे, खुट्टा भाँचियो । त्यसैले उनको दिनचर्या घरमै आराम गरेर बितिरहेको छ । सुत्ने कोठामा उनले टीभी जडान गराएका छन् । यसअघि योजना बनाएर विश्वकप हेर्थे, यसपालि घरमै सुतीसुती हेर्दैछु ।
खेल बुझेका साथीहरूसँग बसेर विश्वकप हेर्दा मूल्यांकन गर्न सहज हुने उनले नबुझेका होइनन् । भन्छन्, ‘खेल बुझेकाहरूसँग बसेर हेर्दा खेल र खेलाडीबारे थप सिक्न सकिन्छ ।’
फाइनलका दिन घरमै साथीहरू बोलाएर खेल हेर्ने योजना बनाएका छन् । शुरुवाती खेल परिवारसँग हेरे पनि अन्तिम खेलहरू साथीहरूसँगै हेर्ने उनको अडान छ ।
विगतका चार सेसन विश्वकप लगातार हेरे । यो सेसनलाई थप महत्वपूर्ण मानेका छन् । उनी खेलाडीलाई औधी सम्मान गर्छन् । अहिलेका युवा अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सीका फ्यान छन् ।
फुटबल टिममा खेलिने भएकाले उनी एकै खेलाडीको योगदान नहुने बताउँछन् । टिमवर्कबिना कुनै खेलाडीले पनि राम्रो प्रदर्शन गर्न नसक्ने उनको बुझाइ छ ।
विश्वकप एउटा फेसन निर्माण गर्ने ‘प्लेटफर्म’ पनि भइदियो । यसले युवालाई तानेकै हो । सामान्य बाजी लगाइरहेका छन् । बियर बाजी लगाएर खेल र खेलाडीको समर्थनमा रात गुजारिरहेका छन् । तर, खेलप्रेमी आपसमा झगडा गरेको पनि उनले देखेका छन् ।
परियारले कुनै टी–सर्ट किनेका छैनन् । सबै देशका खेलाडीको प्रशंसक हुन्, उनी । नेयमार, रोनाल्डो, मेस्सीजस्ता खेलाडी टिमवर्कबाटै जन्मिएको ठहर छ, उनको । त्यसैले राम्रो खेल प्रदर्शन गर्ने खेलाडीप्रति उनको झुकाव छ ।
उनको भनाइमा पहिले नेपालमा फुटबलको क्रेज थियो । राजु शाक्यजस्ता खेलाडी खेल जगतमा हुँदा फुटबलका ‘गसिप’ धेरै चल्थे । त्यो क्रेज अहिले हराउँदै गएको परियार बताउँछन् ।
‘अचेल त मुनाफाको खेल पस्किन थालिएपछि खेलाडी विस्तारै हराउँदै गए,’ उनी भन्छन्, ‘अब त खेल खेलाउने क्लबभन्दा पनि गिरोहहरू पो अगाडि छन् ।’
खेलकै लागि करोड बाजी लगाउनेहरू छन् । त्यस किसिमका गिरोह सधैं तम्तयार भइरहेका हुन्छन् । खेलले कस्तो असर दिन्छ भन्ने त खेलपछि मात्रै थाहा हुने हो । त्यसैले धेरै गिरोह खेलपश्चात् औंसीको रातजस्तो भएका छन् । उनी भन्छन्, ‘खेलाडीले स्वच्छन्द भएर खेल्ने हो । तर, खेलाडीलाई मैदानमा भन्दा नाफा–घाटामा खेलाउन थालियो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४