सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आंशिक शिक्षक आन्दोलित हुँदा पीएन क्याम्पसका १४ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प

देशकै ठूलो मानिएको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकको आन्दोलनका कारण यहाँ अध्ययन गर्ने १४ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन करिब एक महिनादेखि अवरुद्ध छ। 
 |  सोमबार, जेठ २४, २०७८
nespernesper

विभु भुसाल

विभु भुसाल

सोमबार, जेठ २४, २०७८

पोखरा- देशकै ठूलो मानिएको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकको आन्दोलनका कारण यहाँ अध्ययन गर्ने १४ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन करिब एक महिनादेखि अवरुद्ध छ। 

triton college

पढाइ अवरुद्ध भएपछि विद्यार्थीहरु आफ्नो भविष्यको बारेमा चिन्तित देखिन्छन् भने क्याम्पस प्रशासन र आंशिक शिक्षकहरु आ–आफ्नो दन्तबझानमा छन्। 

क्याम्पसमा पढाएको कक्षाभार अनुसारको नियुक्ति र सुविधा पाउनुपर्ने माग गर्दै आंशिक शिक्षकहरुले प्रशासनले सञ्चालन गर्ने भनेको भर्चुअल कक्षा पोखरामा लकडाउन भएको समय वैशाख १५ गतेदेखि बहिष्कार गरेका छन्। त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिको आह्वानमा उनीहरुले भर्चुअल कक्षा वहिष्कार गरेको संघका अध्यक्ष सुनिल गौतमले नेपाल समयलाई बताए। 

आंशिक शिक्षकहरुको माग समान कामको समान ज्याला भन्ने छ। तर क्याम्पस प्रशासनले यसतर्फ कुनै ध्यान नदिएको संघको आरोप छ। त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा हप्तामा १५ पिरियड कक्षा लिनेलाई स्थायी सरहको सेबा सुबिधा दिने नीति ल्याएको बताउँदै गौतमले पीएन क्याम्पस प्रशासनले त्यसो नगरेको आरोप लगाए। उनले २०७७ साल मंसिरमा त्रिविविका उपकुलपति, रजिष्ट्रार र रेक्टरसँग भएको सहमति कार्यान्वयन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्। 

‘हामीले पूर्व सहमति अनुसार क्याम्पस प्रशासन नगए अनलाइन तथा भौतिक रुपमा क्याम्पसमा उपस्थित भएर लिइने कक्षा समेत बहिष्कार गर्ने बताएका छौं,’ उनले भने। 

Metro Mart
vianet

गौतमका अनुसार क्याम्पसमा विगत १५ वर्षदेखि आंशिक शिक्षकले पढाउँदै आएका छन् र उनीहरुलाई खान नपाएर क्याम्पसमा पढाउन आएको जस्तो व्यववहार गरिएको छ। कोरोना महामारीका कारण २०७७ सालको लकडाउनमा अनलाइन कक्षा लिएको भुक्तानी पनि क्याम्पस प्रशासनले नदिएको आरोप संघको छ। 

संघले यही असारको पहिलो हप्तामा माग सम्बोधन हुनुपर्ने बताएको छ। असारको पहिलो हप्तासम्म मागमा सुनुवाई नभए क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने उसको जिकिर छ। ‘विश्वविद्यालयसँग भएका सहमति पनि पालना हुन सकेनन् भने उहाँ नैतिकताको आधारमा पदमा बस्न सुहाउन्न, राजीनामा दिए अर्को क्याम्पस प्रमुखले समस्या समाधान गर्नुहुन्छ,’ गौतमले भने। 

तर क्याम्पस प्रशासनले भने त्रिविविको नियम र निर्देशन विपरित क्याम्पस नजाने बताएको छ। क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले त्रिवि सेवा आयोगको परीक्षा पास गरेर नियुक्ति लिएर आउने शिक्षकलाई नियमानुसार हुने बताउँदै आंशिक शिक्षकलाई एक्कासी करार सेवा र स्थायी बनाउन असम्भव भएको नेपाल समयसँग बताए। 

त्रिविका पदाधिकारी र संघ बीच भएको सहमति कार्यान्वययन नभएको विषयमा उनले क्याम्पसले आंशिक शिक्षकको लागि तत्काल वार्षिक २ करोड रुपैंयाँ उपलब्ध गराउने जानकारी त्रिविमा गराएको प्रष्ट्याए। ‘आंशिक शिक्षकहरुको लागि वार्षिक २ करोड रुपैंयाँ खर्च गर्न सक्ने क्षमता क्याम्पसको छ, त्यो पनि त्रिविको स्वीकृतिमा मात्रै गर्नुपर्छ,’ कोइरालाले भने, ‘त्यो पनि विद्यार्थीको भर्ना लगायतका शुल्कबाट उठाउने हो।’ 

आंशिक शिक्षकले भुक्तानी नपाएको विषयमा कोइरालाले पढाएको कक्षाको भुक्तानी कोही शिक्षकको पनि नरोकिएको दावी गरे। ‘नियमित रुपमा पढाएको शिक्षकको रकम रोकिएको छैन, कतिपय शिक्षकहरु विभागीय प्रमुख तथा सहायक क्याम्पस प्रमुखको हस्ताक्षर विनाको कागजपत्र ल्याएर भुक्तानी रोकियो भन्नुहुन्छ, यो अलि सुहाउँदो भएन,’ उनले भने। 

उनका अनुसार कतिपय विद्यार्थीले पठनपाठन नभएको गुनासो पनि गरेका छन्। विभागीय प्रमुख, सहायक क्याम्पस प्रमुखको हस्ताक्षर विनाको कागज ल्याएर भुक्तानी दिन नमिल्ने उनको जिकीर छ। 

क्याम्पसमा हाल २ सय १८ भन्दा बढी आंशिक शिक्षकले अध्यापन गराइरहेका छन्। यसका साथै विभिन्न विभाग अन्तर्गत ३ सय भन्दा बढी शिक्षक प्राध्यापक स्थायी र करार सेवामा अध्यापन गर्दै आइरहेका छन्। 

क्याम्पस प्रमुख कोइराला त्रिविको नियम अनुसार आएमा आफूलाई कुनै अप्ठ्यारो नपर्ने बताउँछन्। ‘स्थायी र करारलाई त्रिविले तलब खुवाउने हो, मलाई त केही समस्या छैन,’ उनले भने, ‘ठूलो क्याम्पस भएकोले यहाँ शिक्षक सेवानिवृत्त हुने र नयाँ नियुक्ति हुने क्रम चलिरहन्छ, यो महिना मात्रै १७ जना शिक्षक त्रिवि सेवा आयोग पास गरेर आए।’ 

आंशिक शिक्षकहरुले माग पूरा नभए क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने अडान राखेको सम्बन्धमा कोइरालाले आफूले राजीनामा दिने कुनै सम्भावना नरहेको बताए। ‘शिक्षकहरुको मागका बारेमा मार्गप्रशस्त गर्छु भनेको हुँ, तर मार्गप्रशस्त भनेको राजीनामा होइन,’ उनले भने। उनले त्रिविसँग भएको सहमति अनुसार वार्षिक २ करोड रुपैंयाँ उपलब्ध गराउनु नै मार्गप्रशस्त भएको जिकीर गरे। 

कोइरालाले आंशिक शिक्षकहरुले उठाउँदै आएको समान कामको समान ज्याला भन्ने नारा अनुसार नै काम भएको दावी गरे। ‘उहाँहरुले एक पिरियड पढाएको ५९० रुपैयाँ पाउनुहुन्छ, आंशिक शिक्षक भएमा जतिसुकै ठूलो प्राध्यापक भए पनि पाउने त्यत्ति नै हो,’ उनले भने। 

क्याम्पसमा अनलाइन कक्षा अवरुद्ध भएपछि विद्यार्थीको शैक्षिक कार्यक्रम तथा परीक्षाहरु पनि प्रभावित भएका छन्। तर क्याम्पस प्रशासनले भने यसको अपजस आंशिक शिक्षकहरुले नै लिनुपर्ने बताएको छ। कोइरालाले क्याम्पसले विद्यार्थीहरुको पढाइ नरोक्ने विकल्प दिँदा पनि आंशिक शिक्षकहरुले दवाव लिएर कक्षा रोकिरहेको आरोप लगाएका छन्। 

‘विद्यार्थीहरुको शैक्षिक कार्यक्रम तथा परीक्षा तालिका प्रभावित होला भनेर प्रशासनले आंशिक शिक्षकले पढाउने विषयहरु स्थायी तथा करार सेवाका शिक्षकलाई लिन निर्देशन दिएको थियो,’ उनले भने, ‘तर उहाँहरुले स्थायी तथा करार सेवाका शिक्षकहरुलाई फोन गरेर हाम्रो क्लास तपाईंहरुले लिने? भन्दै थर्काउनुभएछ। यसरी उनीहरुको भविष्य अन्योलमा राखिएको छ।’ 

विश्वविद्यालय स्तरको अध्ययन लामो समयदेखि रोकिएपछि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु पनि आक्रोशित भएका छन्। पिएन क्याम्पसका विद्यार्थी कुशल बरालले क्याम्पसमा पढाइ हुने वातावरण सिर्जना गर्न ‘फोन आन्दोलन’ गर्न आह्वान गरेका छन्। 

‘त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस, देशकै उत्कृष्ट उपाधि प्राप्त क्याम्पस पृथ्वीनारायण क्याम्पसमा विभिन्न बहानामा अहिले अनलाइन कक्षा हुन सकेको छैन। प्रशासन र शिक्षकहरुको मागका नाममा विद्यार्थीको पठनपाठन रोक्ने काम भएकोले हामीले पढ्न पाउने अधिकारमाथि हनन् भएको छ। धेरैजसो विषयको कक्षा अवरोध  भएको छ। त्यसैले अब क्याम्पस प्रमुख, प्रशासन, शिक्षकहरुलाई दिनहुँ १० कल हानेर अध्यापन गर्न अनुरोध गरौं,’ उनले भनेका छन्। 

यसैगरी एम.बि.एस. दोस्रो सेमेष्टरका विद्यार्थीले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र नै लेखेर कक्षा तत्काल शुरु गर्न माग गरेका छन्। ‘पृथ्वीनारायण क्याम्पस जस्तो लोकप्रिय क्याम्पसमा आंशिक शिक्षकहरु र क्याम्पस प्रशासनबीचको आन्तरिक कारणले गर्दा हाम्रो कक्षा सञ्चालन नै नहुनुले निकै गम्भीर प्रश्न खडा गरेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यदि क्याम्पसभित्र शिक्षकहरुबीच कुनै आन्तरिक समस्या छ भने पुनः यस्तो समस्या बारम्बार नदोहोरीने गरी समस्याको समाधान निकालियोस् र यो तत्काल सम्भब छैन भने विद्यार्थीलाई कक्षा सञ्चालनका लागि अन्य कुनै विकल्पको छनोट गरियोस्। तसर्थ पहिलो सेमेष्टरको जस्तो परिस्थिति वारम्वार झेल्न नपरोस् भन्दै कक्षा पूर्ण रुपमा सञ्चालन गरी विद्यार्थीहरुलाई सहज रुपमा अध्ययन गर्ने वातावरण प्रदान गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ। 

२०१७ सालमा स्थापना भएको पृथ्वीनारायण क्याम्पसले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा देशकै उत्कृष्ट भन्दै गुणस्तर निर्धारण प्रमाणपत्र (क्युएए) प्राप्त गरेको थियो। यो क्याम्पसलाई देशमा राजनीतिक नेता उत्पादन गर्ने कारखाना समेत भनेर चिन्ने गरिन्छ। 

प्रकाशित: Jun 07, 2021| 03:27 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्