काठमाडौं- ३३ किलो सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद सकिएको छ । २० चैतमा गठित उक्त समितिको म्याद बिहीबार सकिएको हो ।
समितिमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक छन् । नेपाल प्रहरीका एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक र निरीक्षक भिष्म हुमागाईं सदस्य छन् । उक्त समितिले उक्त प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहे पनि टुंगोमा पुर्याउन सकेको छैन ।
संगठित अपराधको छानविन प्रक्रिया लामो हुने भएकाले समितिको म्याद थप्नुभन्दा महानगरीय अपराध महाशाखालाई नै जिम्मा दिनेबारे छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल भने यस प्रकरणलाई सोही समितिमार्फत् टुंगोमा पुर्याउनुपर्ने पक्षमा देखिएको मन्त्रालय स्रोतको भनाइ छ । सोही कारण समितिको म्याद एक महिना बढाउन सकिनेबारे पनि मन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको छ ।
सुन तस्करीको 'नेक्सस' सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरूसम्म रहेको अनुमानमा गृहमन्त्री रामबहादुर थापा र छानविन समिति
तर, यस प्रकरणलाई महाशाखाले नै उठान गरेकाले उसैलाई जिम्मा दिएर टुंग्याइनुपर्ने पक्षमा केही गृह अधिकारीहरू देखिएका छन् । '१/२ दिनमै यसबारे निर्णय लिइनेछ,' स्रोतले भन्यो ।
गृहमन्त्री थापा र छानविन समितिले सुन तस्करीको 'नेक्सस' सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरूसम्म रहेको अनुमानमा रहेको स्रोतको भनाइ छ । तर, बलियो प्रमाण फेला नपरेकाले तत्काल 'एक्सन'मा जान नसकिएको स्रोतको दाबी छ । कुन तहका नेता हुन् भन्नेबारे भने स्रोतले केही खुलाएन ।
यस प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती 'गोरे'लगायत अभियुक्तले आफूहरूभन्दा माथिल्लो 'कनेक्सन'बारे मुख नखोलिरहेको समिति स्रोतको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४