काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो, चौथो र छैटौं सेमेस्टरका परीक्षा आगामी साउन ५ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गर्ने भएको छ। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका परीक्षा र पठनपाठन वैकल्पिक विधिबाट सञ्चालन गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयले सूचना जारी गर्दै विश्वविद्यालयका स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेस्टरका विद्यार्थीलाई कक्षा चढाएर तेस्रो, पाचौं र सातौं सेमेस्टरका कक्षामा राखी आगामी जेठ २५ देखि कक्षा सञ्चालन गर्ने जनाएको छ। स्नातकोत्तर तहका हकमा भने दोस्रो सेमेस्टरका विद्यार्थीलाई तेस्रो सेमेस्टरमा राखी जेठ २५ गते र दोस्रो र चौथो सेमेस्टरको परीक्षा साउन २४ गतेदेखि वैकल्पिक माध्यमबाट सञ्चालन गरिने सूचनामा उल्लेख छ।
विश्वविद्यालयले कोरोनाको प्रकोप न्यून भएमा र सरकारले भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने निणर्य गरेमा कक्षा र निर्धारित परीक्षा भौतिकरूपमै सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ। वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षा लिखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणात्मक उत्तर दिनुपर्ने खालको प्रश्नपत्र तयार पारिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।