विश्वका ६ ठूला सहरमा सन् २०५० सम्ममा बाढीले तहसनहस गर्न सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकी अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलको एक अध्ययन प्रतिवेदनले तटीय क्षेत्रमा रहेका विश्वका ६ वटा ठूला सहर बाढीको उच्च जोखिममा रहेको औंल्याएको हो। अनुसन्धानअनुसार शताब्दीमा एकपटक आउने यस्तो भीषण बाढीले कुनै कुनै विशाल सहरमा ठूलो क्षति पुर्याउँदै आएको छ। यी हुन् जोखिममा रहेका ६ सहर :
सांघाई (चीन)

क्लाइमेट सेन्ट्रलको अध्ययन अनुसार सन् २०५० सम्म चिनियाँ भूमिमा रहेका नौ करोड तीन लाखभन्दा बढी मानिस बाढीको चपेटामा पर्नेछन्। यसमा तटीय सहर सांघाई निकै असुरक्षित रहेको अध्ययनको निष्कर्ष छ। अध्ययन प्रतिवेदनमा उल्लेख छ, ‘तटीय सुरक्षा अभावका कारण सांघाई समुद्री बाढीका कारण संवेदनशील छ।’
हनोई (भियतनाम)

भियतनाममा तीन करोडभन्दा बढी मानिस तटीय क्षेत्रमा बसोबास गर्छन्। ती मानिस सन् २०५० सम्म कुनै कुनै रुपमा बाढीबाट प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ। समुद्री बाढीका कारण घना आवादी भएका मेकाङ डेल्टा र राजधानी हनोई आसपासको उत्तरी तट निकै प्रभावित प्रभावित हुने अनुमान गरिएको छ।
कोलकाता (भारत)

भारतका पश्चिम बंगाल र ओडिसाका तटीय क्षेत्र बाढीको सबैभन्दा खतरामा छन्। समुद्रमा पानीको स्तर बढ्दा कोलकातामा सन् २०५० सम्म ठूलो क्षति हुने आँकलन प्रतिवेदनमा गरिएको छ।
बैंकक (थाइल्यान्ड)

थाइल्यान्डको १० प्रतिशत जनसंख्या अहिले पनि बाढीको उच्च जोखिममा छन्। सन् २०५० सम्म ती मानिस बाढीको अति चेपटामा पर्ने अध्ययनको निष्कर्ष छ। थाइल्यान्डको व्यावसायिक तथा राजनीतिक राजधानी समुद्री सतहभन्दा डेढ मिटर मात्रै माथि छ। त्यसैले पनि बाढीको जोखिम उच्च छ। अझ हङकङस्थित एक गैरनाफामूलक संस्था अर्थ डट ओआरजीले सन् २१०० सम्म ९४ प्रतिशत जनसंख्या बाढीबाट विस्थापित हुने औंल्याएको छ।
बसरा (इराक)

बसरा इराकको सबैभन्दा ठूलो सहर हो। यो सहर पनि तटीय क्षेत्रमा आउने बाढीका कारण उच्च जोखिममा छ। क्लाइमेन्ट सेन्ट्रलको अध्ययनमा यो सहर २०५० सम्म जलमग्न हुने अनुमान गरिएको छ। समुद्रमा पानीको मात्रा बढेपछि मानिसको जीवन बचाउनका लागि क्षेत्रीय एवम् राजनीति संघर्ष पनि हुन सक्नेछ।

अलेक्जेन्ड्रिया (इजिप्ट)
भविष्यमा सभ्यता लोप हुनाको एउटा कारण बाढी पनि हुन सक्ने अध्ययनको निष्कर्ष छ। अलेक्जेन्ड्रिया सिक्दार महानले दुई हजार वर्ष अगाडि स्थापना गरेका हुन्। भूमध्य सागर नजिकै रहेको यो भूमिमा झन्डै ५० लाख मानिसको बसोबास छ। अर्थ डट ओरजीले बाढी नियन्त्रण र स्थानान्तरण नगर्ने हो भने सन् २१०० सम्म यो सहरको अधिकांश भाग डुब्ने चेतावनी दिएको छ। एएफपी