काठमाडौं- निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहेपनि 'समृद्ध नेपाल' निर्माण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्पलाई सदैव साथ रहने बताएका छन्। मन्त्रीमण्डल हेरफेर भएको भोलिपल्टै गुरुङले मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेकोसमेत दाबी गरे।
'प्रधानमन्त्री ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग रहिरहने छ,' उनले भने। ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उनको भनाइ छ।
कोभिड-१९ महामारीका कारण यो पुस्ताकै सबैभन्दा भयावह मानवीय सङ्कटको सामना गरिएका बेला सरकार परिवर्तनको खेल र अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या अनिश्चिय गुज्रिए पनि कुनै पनि दिन मन्त्रालयको अन्तिम दिन हुन सक्छ भन्ने सोचेरै काम गरेको पनि उनको भनाइ छ।
प्रधानमन्त्री ओलीलाई जोडेर गलत र भ्रमपूर्ण सन्देश प्रवाह हुन नदिन आफूले सचेततापूर्वक कार्य सम्पादन गरेको दाबी गर्दै उनले आफ्नो १९ महिने कार्यकालमा कुनैपनि पक्षले नकारात्मक आलोचना नगरेको जिकिर गरे।