अचेल मेरो दिनको सुरुवात प्राय: मुहारकिताब (फेसबुक) को अध्ययनबाट हुने गरेकाे छ। सदाझैं आज पनि सबेरै आँखा मिच्दै मोबाइल फोन तानें र प्रवेश गरें आफ्नो दुनियाँमा। फेसबुक स्क्रोल गर्दा मेरा आँखा एउटा स्टाटसमा पुगेर रोकिए। त्यहाँ लेखिएकाे थियाे, 'डियर एटी नाइन (Dear 89) अलबिदा, हाम्रो सम्बन्धले शान्ति पाओस्!'
000
मैले स्टाटस राख्ने मान्छेको नाम पढें। हो सुरज ('डियर एटी नाइन' सुरजकी प्रमिकाको उपनाम हो) ले नै त्यो स्टाटस राखेको थियो। अनि फेरि दोहोर्याएर स्टाटस पनि पढें। ९ घण्टाअघि लेखेको त्यो स्टाटसले मेरो मनमा घोच्न थाल्यो। कतै सुरजले वास्तविकता त थाहा पाएन? नत्र सुरजले आफ्नै प्रोफाइलमा आफूलाई भन्दा बढी माया गर्ने मान्छेको 'निक नेम' राखेर श्रद्धाञ्जली दिँदैनथ्यो। जस्तै भए पनि कसैको मृत्यु भए बाँच्नेले सहनैपर्ने रहेछ।
सुरजलाई फोन गरें, फोनमा जवाफ आउँदै थियो माफ गर्नुहोला....। पूरा सुन्ने काम नै मैले गरिनँ, सोझै माफ गरिदिएँ। हतारहतार कपडा भिरेर सरासर लागेको थिएँ सुरजको घरतिर।
000
एक महिनाअघि मात्रै सुरजले प्रेमिकालाई कोरोना संक्रमण हुँदा उसको मनमा छाएको डर मैले राम्रैसँग नियालेको थिएँ। ऊ हतासिएको थियो र कोरोना संक्रमित उसकी प्रेमिकालाई भेट्न हामी दुई जना सँगै गएका थियौं।
कोरोनाले धेरैको ज्यान गइरहेका बेला हामीलाई डर लागेन। केवल मनमा माया महसुस गरेको थिएँ मैले। मलाई सुरजको छटपटी देखेर माया लागेको थियो। सुरजलाई उसकी प्रेमिकाको अवस्था देखेर। डियर एटी नाइनलाई कोरोना संक्रमण भएको खबरले अत्त्याएको थियो। हामीले सुरजकी प्रेमिकालाई भेटेर नजिकबाटै कुरा गर्यौं। उनलाई हामीले लगेको केही सामान पनि दियौं।
सुरज निडर मान्छे लाग्थ्यो मलाई। मैले उसकाे आँखामा डरको भाव एकदमै कम देखेको थिएँ। उसका आँखा प्रायः क्रोधपूर्ण भरिएकाजस्ता र तेजिला देखिन्थे। उसका आँखामा कमै डर भेटेको थिएँ मैले। तर त्यो दिन सुरज बिल्कुल फरक थियो।
हामी त्यहाँ लामै समयसम्म गफ गरेर बसेका थियौं, फरक विषयमा। सुरजकी प्रेमिकाले मृत्युबारे कुरा कोट्याइन्। बस्ने कुर्ची थिएन, तैपनि लामै समय गफ गर्दा पनि खुट्टा गलेका थिएनन्। सुरज अलिकति ओशोबाट प्रेरित थियो। 'जीवनको अन्तिम सुख मृत्यु हो' भन्ने भनाइमा थोरबहुत सहमत भएजस्तो मैले पाएको थिएँ। उसलाई लागेको कुरा थोरबहुत भन्यो पनि। त्यो दिन मृत्युबारे उसले भनेका केही कुरा उसको स्टाटसले मलाई सम्झाइरहेको थियो।
शरीरमा सास चल्न छोड्ने खालको मृत्यु सबैको समवेदना प्राप्त गर्ने मृत्यु हो, जुन खालको मृत्यु मानिसले एकपटक प्राप्त गर्न आफूलाई समाप्त गर्छ। संवेदनाविहीन जीवन मृत्यु समान हुन्छ। यस्तै केही कुरा गरिसकेपछि उसले हामीलाई केही प्रश्न गरेको थियो। मान्छे जिन्दगीको भागदौडमा यसरी कुदेका छन्, उनीहरूलाई आफूलाई र आफ्नो कर्तव्य र वचनलगायतका सबै कुरा सम्झने फुर्सद छैन, के त्यो भागदौड मृत्यु होइन? उसका प्रश्नको जवाफ हामीसँग थिएन। सुरजका प्रश्नलाई त्यहीं रोकेर मैले सुरजलाई फर्कनका लागि भनेको थिएँ।
000
सुरज निडर मान्छे लाग्थ्यो मलाई। मैले उसकाे आँखामा डरको भाव एकदमै कम देखेको थिएँ। उसका आँखा प्रायः क्रोधपूर्ण भरिएकाजस्ता र तेजिला देखिन्थे। उसका आँखामा कमै डर भेटेको थिएँ मैले। तर त्यो दिन सुरज बिल्कुल फरक थियो।
कोरोना संक्रमित उसकी प्रेमिकाको मुटुको शल्यक्रिया गरेको पनि धेरै दिन भएको थिएन। उनीहरूबीचको सम्बन्धमा परिवार सहमत थिएन। सुरजको परिवारलाई मुटुरोगी बुहारी स्वीकार्य थिएन। सुरज दोधारमा थियो- परिवारको साथ रोजौं वा आफ्नी प्रेमिकालाई दिएको वचन पूरा गरौं। मसँग उसले यसबारे धेरै पटक कुरा गरेको थियो। मैले भनेको पनि थिएँ, 'परिवार ढिलोचाँडो तिम्रो निर्णयमा सहमत हुनुहुन्छ, म मनाउनेछु बाबालाई, तिमी यो कुराले आफूलाई कमजोर नपार।'
पारिवारिक अवस्था कमजोर रहेको र परिवार सुरजकै भरमा रहेकाले पनि सुरज परिवारलाई चटक्कै भुल्ने पक्षमा थिएन। तर पनि ऊ आफ्नो निर्णयमा अडिग रहेको थियो।
000
पछिल्लो हप्ता सुरजसँग मेरो भेट भएको थिएन। सुरज पनि संक्रमित भएर आइसोलेसनमा बसेको थाहाचाहिँ पाएको थिएँ। फोनमा कुराकानी हुँदै गर्दथ्यो। आफ्नो व्यस्तताले गर्दा म त्यहाँ पुग्न सकेको थिइनँ। तर पनि उसले गुनासो गरिरहन्थ्यो। भन्थ्याे, 'उसले (सुरजकी प्रेमिकाले) मेरो फोन उठाउन छाडेकी छ। म संक्रमित हुँदा उसले फोनसम्म गरेर स्वास्थ्य लाभको कामना किन गरिन?'
उसकी प्रेकिकाको उपचारका क्रममा तीन दिनअघि मृत्यु भएको खबर मैले उसका सामु उभिएर सुनाउन सकेको थिइनँ। उसकी प्रेमिकाको मृत्यु भएको खबर सुनाउनुअघि नै ऊ आफैं अस्ताइसकेको थियो। संक्रमणका कारणले निधन भएकाले म उसको घरभित्र गएर उसलाई नियाल्न पाइनँ।
केवल सेनाले शव बाँध्दै गरेको दृश्य मेरा आँखामा झलझली आयो। अझसम्म पनि आइरहन्छन्। मेरा ओठहरूले 'अलबिदा सुरज' भन्न सकेनन्। अझसम्म पनि सकिरहेका छैनन्।