सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिकाका स्थानीय कोभिड–१९ को लक्षण देखिएपनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन्। संक्रमणको आशंका भएकाहरू रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन्। समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ। सङ्क्रमणका लक्षण देखिए पनि परीक्षण गर्न नआउँदा सङ्क्रमित थपिँदै र सङ्क्रमण फैलँदै गएको छ।
सङ्क्रमण भएका व्यक्ति र संक्रमणको आशंका भएकालाई रोगको भन्दा समुदायको डर छ। सङ्क्रमणका लक्षण देखिए पनि पिसिआर परीक्षण नगरी घरमै बस्दा सङ्क्रमणको स्थिति झन् भयावह हुनसक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा धिरेन्द्रकुमार सुदा बताउँछन्।
'दिउँसो सुनसान हुन्छ। यहाँ रात परेपछि ‘कोरोना परीक्षण गर्नु परो’ भन्दै धेरै आउनुहुन्छ, हामी परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइदिन्छौँ, कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्ति सबैले स्वास्थ्य संस्थामा नै बस्नुपर्छ भन्ने हुन्न,' उनले भने, 'सङ्क्रमणका लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिने, सास फेर्न गाह्रो हनु जस्ता लक्षण भएका बिरामीलाई हामी आइसोलेशनमा राखेर उपचार गर्दै आएका छौँ।'
समुदायमा हिँड्डुल, खेतीपातीको काम गर्ने तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा सङ्क्रमण भुसको आगो झैँ समुदायमा फैलन सक्ने खतरा रहेको छ। सिर्थौली कोभिड–१९ अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिले भने, 'गाउँमा ज्वरो आउने, खोकी लाग्ने, छाती दुखो भन्ने बिरामी धेरै छन्, केही त ठीक भइसके तर केहीलाई उस्तै छ, यतिबेला रोगको भन्दा समुदायको ठूलो डर छ, दुधौली नगरपालिकाले कोरोना सङ्क्रमितको घरमा स्टिकर टाँसिदिँदा परीक्षण गराउन आउन नमान्ने धेरै छन्।'
एन्टिबाइटिक औषधिको प्रयोग बढ्दो
सामान्य तरिकाले टाउको दुख्ने, खोकी लाग्ने र हल्का ज्वरो आउने बित्तिकै सिधै मेडिकलमा गएर एन्टिबाइटिक औषधि खानेको सङ्ख्या बढेको छ। सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा सुदाले भने, 'केही दिनअघि एकजना ज्वरो आयो भन्दै आउनुभयो, हामीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर गर्यौँ। पछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो, उहाँ सास फेर्न गाह्रो भएपछि आउनुभयो,' उनले भने। उनको अवस्था अहिले सुधार भइरहेको डा सुदाको भनाइ छ।
'हामीले उहाँलाई किन गाह्रो भएपछि आउनुभयो भनेर सोध्दा पाँच दिनसम्म टाइफाइडको औषधि खाएको र कम नभएपछि आएको सुनाउनुभयो, समुदायमा टाइफाइडको औषधि खाने धेरै रहेछन् यसले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ,' उनले भने।
जनचेतना फैलाउन प्रहरी परिचालन
दुधौलीमा सङ्क्रमण फैलिएको भन्दै नगरपालिकाले जनचेतना फैलाउन स्वास्थ्यकर्मी र नगरप्रहरीको टोली परिचालन गरेको छ। नगर प्रमुख घनश्याम राउतले दुधौलीमा सङ्क्रमण बढेपछि जनचेतनाको कमी हुँदा सङ्क्रमण फैलिएको निष्कर्षसहित टोली परिचालन गरिएको बताए।
'सङ्क्रमण लागेका व्यक्तिलाई निकृष्ट प्रकारको व्यवहार समुदायले गर्दा सङ्क्रमणका लक्षण देखिए पनि खुलेर नआउने हुँदा यसको समुदाय र नागरिकको स्वास्थ्यमा ठूलो असर परिरहेको छ,' उनले भने, 'म पनि कोरोना सङ्क्रमित हँु, अहिले कोरोनामुक्त भइसकेको छु, सङ्क्रमित नआत्तीकन उच्च मनोबलका साथ बस्ने र त्यो वातावरण घरपरिवार र समुदायले सिर्जना गर्नुपर्छ।'
उनका अनुसार नगर प्रहरीले जनचेतना फैलाउन माइकिङ गर्ने, सम्झाउने गरेको छ भने स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण पुष्टिपछि होम आइसोलेसनमा बस्दै आएका व्यक्तिलाई औषधि वितरण र स्वास्थ्य जाँच गर्दै आएका छन्।
हालसम्म ३४६ सङ्क्रमित भएकामा १३८ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमित ६ जनाले भने ज्यान गुमाउनु परेको छ। -रासस