डोटी- जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका अधिकांश नागरिक कोभिड–१९ संक्रमित भएपछि उपचारमा समस्या देखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार चाँसीका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो। कोरोना जाँच नगरिएका थुप्रै नागरिकमा पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको शाखाले जनाएको छ।
सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। गाउँका अधिकांश नागरिकलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए। उनले भने, 'सिङ्गो गाउँ नै कोभिड सङ्क्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, सङ्क्रमितको उपचारमा पनि समस्या छ।'
उनका अनुसार ५२ जना सङ्क्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी रहेका कारण उपचार गर्नमा झनै समस्या उत्पन्न भएको हो। यति मात्र नभई एउटै परिवारका छ जनासम्मलाई सङ्क्रमण पुष्टि भएको पाइएको छ। उनका अनुसार अधिकांशलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गर्ने गरेका छन्।
सङ्क्रमित देखिएका ५२ जनामध्ये अहिलेसम्म कुनै सङ्क्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन। सङ्क्रमित देखिएकाहरुमा जटिल खालको स्वास्थ्य समास्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होम आइसोलेसनमा राखिएको सिनियर अहेब खड्काले बताए।
गाउँमा रहेको स्वास्थ्य चौकीमा दुई स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण सङ्क्रमित देखिएकाको उपचार तथा रेखदेख गर्नमा समस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। सङ्क्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ।