काठमाडौं– कच्चा बोली र अस्थिर स्वभावका शेरबहादुर तामाङले विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको नेतृत्व पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पुनर्गठन गरेको मन्त्रिपरिषद्मा तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।
केपी शर्मा ओली सरकारबाट नैतिकताका आधारमा राजीनामा दिएका शेरबहादुर तामाङ दाेस्राेपटक मन्त्री बनेका छन्। उनी एमाले राजनीतिमा खेमा परिवर्तन गरिरहेका कारण अस्थिर स्वभावकाे परिचय बनाएका छन्। यस्तै मन्त्री पदमा रहँदा कच्चा अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएर पद नै गुमाउनुपरेको थियो।
पुस ५ मा केपी ओलीले संसद् विघटन गरेपछि तामाङले रातारात खेमा परिवर्तन गरेका थिए। तामाङ एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड–माधव समूहमा लागेका थिए। उनले त्यति बेला भनेका थिए, ‘औपचारिक रुपमा पार्टी विघटन तथा विभाजन भएको थिएन। अझै पनि मिलाउन सकिन्छ कि भनेर प्रधानमन्त्री ओलीसँग गएको हुँ। म नेकपा केन्द्रीय सदस्यमा छु र सांसद हुँ।’
त्यसपछि उनी फागुनमा ओली पक्षमा लागेका थिए। उनले त्यतिबेला प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएका थिए। उनी आफ्नी पत्नी प्रदेशसभा सदस्य उषाकला राईसँगै ओली समूहमा फर्किएपछि उषाकलाले प्रदेश १ को सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने तामाङ एमाले पार्टी कार्यालयको सचिवको जिम्मेवारीमा छन्।
यसो त कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला विवादित अभिव्यक्ति दिएपछि तामाङले २०७५ साउन ८ गते नैतिकताका आधारमा रानीनामा दिएका थिए। साउन ४ गते काठमाडौंको चाबहिलस्थित एक कलेजको कार्यक्रममा बंगलादेशमा पढ्ने छात्राबारे उनले दिएको अभिव्यक्तिले विवादमा तानिएका थिए।
उनले भनेका थिए, ‘बंगलादेशमा हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ। तर डाक्टरको प्रमाणपत्र लिनका लागि मैले सुन्या छु, उसले कहीं न कहीं आफूलाई बेच्नैपर्छ। हाम्रा छोरीचेलीलाई पढ्नलाई विदेशमा पठाउँछौं तर उसले आफूलाई त्यहाँ नसुम्पीकन प्रमाणपत्र प्राप्त गरिरहेको स्थिति छैन।’
उनले यस्तो अभिव्यक्ति दिएपछि बंगलादेशमा अध्ययनरत छात्राको अपमान भएको भन्दै विरोध भएको थियो। त्यसपछि उनी राजीनामा दिन बाध्य भएका थिए। राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङ रोएका थिए। उनले आफू नारी अस्मिताको विषयमा गम्भीर भएको र पदभन्दा पनि प्रतिष्ठाको खातिर लड्ने व्यक्ति भएकाले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए।
‘मैले विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदै छु। यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएर अहिले देखिएको समस्या समाधान गर्नु नै मेरो लक्ष्य हुनेछ।’
उनले भनेका थिए, ‘कानुन बनाएर लैंगिक समानताका विषयलाई संस्थागत गर्नेतर्फ केन्द्रित थिएँ। तर, महिलाको विषयमा बोलिएको शब्दकै कारणले यस्तो अवस्था आयो।’
सिन्धुपाल्चोकका तामाङले २०३६ सालदेखि तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौंको प्रारम्भिक कमिटीमा बसेर राजनीति सुरु गरेका हुन्।
उनी ०४० सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पार्टी सहयोग समूह, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भएका थिए।
२०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बनेका थिए। २०५९ सालमा एमाले बागमती अञ्चल सदस्य बनेका तामाङ अहिले एमालेको केन्द्रीय कार्यालय सचिव छन्। प्रतिनिधिसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै तामाङ दोस्रोपटक सांसद बनेका थिए। त्यसपछि उनी कानुनमन्त्री भएका थिए।
सजिलाे छैन तामाङलाई
तामाङलाई महामारी नियन्त्रणमा स्वास्थ्य उपकरण खरिद, उपचार व्यवस्था र खोप खरिदको जिम्मेवारी छ। महामारीका कारण सबैको ध्यान स्वास्थ्यमा केन्द्रित रहेकाले जिम्मेवारी पूरा गर्न उनलाई सजिलो भने छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदको शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने दाबी गरेका छन्। तामाङले नेपाल समयसँगको छोटो कुराकानीमा भने, ‘मैले विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदै छु। यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएर अहिले देखिएको समस्या समाधान गर्नु नै मेरो लक्ष्य हुनेछ।’
उनले सबैलाई खोप नलगाएसम्म जोखिम कायमै रहने अवस्था रहेको भन्दै यसमा नै बढी जोड दिइने बताए। ‘संक्रमणको रोकथाम र नियन्त्रण र स्वास्थ्य उपचारमा देखिएको कमजोरी हटाएर जनताको स्वास्थ्यमा नै केन्द्रित हुन्छु,’ उनले भने, 'अक्सिजन, औषधि लगायतको उपचारमा कुनै अभाव हुन नदिने हिसाबले काम अघि बढाउनेछु।
यसअघि कानुन मन्त्री हुँदा विवादमा आएपछि तामाङले राजीनामा दिएका थिए। त्यसपछि दोस्रो पटक उनी मन्त्री बन्न लागेका हुन्।