एजेन्सी- भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी नेटवर्कविरुद्ध दिल्ली उच्च अदालतमा दिएको निवेदन खारेज भएको।
फाइभ-जी नेटवर्कले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै चुहीसहित ३ जनाले झण्डै ५ हजार पृष्ठ लामो निवेदन दिल्ली उच्च अदालतमा दिएका थिए।
अदालतले यो निवेदनलाई खारेज गर्दै निवेदनकर्ताहरुले न्यायिक प्रक्रियामा दखल पुर्याएको भन्दै उल्टै भारतीय २० लाख अर्थात् ३२ लाख रुपैयाँ जरिवाना लगाएको छ।
दिल्ली उच्च अदालतले आफ्नो आदेशमा यो निवेदन आफ्नो प्रचारप्रसारका लागि प्रेरित भएको आरोपसमेत लगाएको छ। अदालतमा यस निवेदनमाथि सुनुवाइ चलिरहँदा अभिनेत्री चावलाले सुनुवाइको लिंक अनलाइनमा सेयर गरेको आरोप छ। अदालतले निवेदनकर्ताहरुलाई यो मामिलामासमेत दोषी ठहर गरेको छ।
अदालतले सुनुवाइलाई सामाजिक सञ्जालमा सेयर गर्ने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन दिल्ली पुलिसलाईसमेत आदेश दिएको छ।
अभिनेत्री चावलासहित वीरेश मलिक र टीना वाच्छानीले भारतमा फाइभ-जी प्रविधिले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै यसबारे छानबिन गर्न उच्च अदालतमा निवेदन दिएका थिए।
उनीहरुले छानबिनका लागि कुनै निजी कम्पनीलाई जिम्मा नदिनसमेत अनुरोध गरेका थिए। भारतमा फाइभ-जी प्रविधिबारे केही वर्षयता विभिन्न प्रश्नहरु उठ्दै आएका छन्।
चावलासहितका निवेदनकर्ताहरुले फाइभ-जीको प्रभावबारे विभिन्न वैज्ञानिक तर्कहरु निवेदनमा समावेश गरेका थिए।