काठमाडौं- सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ प्रभावित बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आए त्यसबाट बालबालिकाका धेरै प्रभावित हुन सक्ने आशंका रहेकाले बालबालिकाका लागि सबै अस्पतालमा शय्याको तयारी गर्न मन्त्रालयले निर्देशन दिएको हो।
मन्त्रालयले पहिलो र दास्रो लहरमा प्रौढ र युवाहरु संक्रमित भएका हुँदा अहिलेको तयारी यीनै समूहलाई लक्षित गरी भइरहेको भन्दै अब अस्पतालहरुले बालबालिकाका लागि तयारी अवस्थामा शय्याहरु राख्न भनेको छ।
अस्पतालहरुलाई लेखिएको पत्रमा भनिएको छ, ‘दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ।’
साथै सबै अस्तपाललाई अक्सिजनको व्यवस्थापन गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।
