काठमाडौं- नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विपक्षी दलहरूले समेत यस वर्षको बजेटलाई विरोध गर्ने ठाउँ नपाएको बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नका लागि बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
'विपक्षीहरूले समेत बजेटप्रति विरोध गरौँ भने विरोध गर्ने ठाउँ कमै पाइएको छ। बजेटका सम्बन्धमा विरोधको विज्ञप्ति जारी गरे पनि विरोध गर्ने ठाउँ पहिल्याउनै सक्नुभएनछ। विपक्षीहरूले पनि विरोध गर्ने ठाउँ पाउनु भएनछ,' उनले भने।
सरकारको सँधै विरोध मात्र गर्ने नेपाल पत्रकार महासंघले पनि यो बजेटलाई स्वागत गरेकाले बजेट राम्रो भएको पुष्टि हुने मन्त्री गुरुङको दाबी छ। 'यो बजेटलाई नेपाल पत्रकार महासंघले पनि स्वागत गरेको छ। महासंघले जहिले पनि विरोध मात्र गरेको पाउँछौँ। तर यस वर्ष विपक्षी गठबन्धनको नेतृत्व हुँदासमेत यस वर्षको बजेटलाई स्वागत गरेको छ। आम सञ्चार माध्यमले पनि प्रशंशा गरेका छन्,' उनले भने।
सरकारले जेठ १५ गते अध्यादेशमार्तफत् आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो।
