काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको मुद्दा सुनुवाइका लागि गठन हुने संवैधानिक इजलासमा ११ जना न्यायाधीश नराख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ।
अधिवक्ता राजाराम घिमिरेले उक्त मुद्दाको सुनुवाइ गर्दा ११ जना न्यायाधीशको स्वार्थ बाझिने भन्दै उनीहरुलाई संवैधानिक इजलासमा नराख्ने मागदाबीसहित आज निवेदन पेश गरेका हुन्। उनले सर्वोच्चको रिट महाशाखा र प्रधानन्यायाधीशको प्रमुख सचिवालयमा आफूले निवेदन पेश गरेको बताए।
सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राख्न नहुने माग दाबीसहित उनले निवेदन पेश गरेका हुन्।
अधिवक्ता घिमिरेले न्यायाधीशहरुको यसअघि विभिन्न मितिमा गरेका फैसलामा संलग्नता र मुद्दा हेर्न नमिल्ने कारण सहित रिट निवेदन दिएका हुन्। निवेदन संवैधानिक इजलासमा आइतबार नै पेश हुने अधिवक्ता घिमिरेले जानकारी दिए। उनले यसअघि नै केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गर्दै रिट दायर गरिसकेका छन्।
