काठमाडौं– भेरी अस्पताल घटनाका सम्बन्धमा छानबिन गर्न गठिन समितिले तयार पारेको प्रतिवेदनप्रति स्वास्थ्यकर्मीले असन्तुष्टि जनाएका छन्। घटनाको छानबिन गर्नुपर्ने र सरकारलाई सुझाव दिनुपर्नेमा प्रतिवेदनमा अस्पतालको कमजोरी मात्र औंल्याइएको भन्दै उनीहरुले आपत्ति प्रकट गरेका हुन्।
जेठ १३ गते राति भेरी अस्पतालमा स्वास्थ्कर्मीमाथि आक्रमण भएको थियो। उपचारमा लापरबाही गरेको भन्दै बिरामीका आफन्तले कोरोना वार्डभित्रै प्रवेश नर्ससहित स्वास्थ्यकर्मीमाथि आक्रमण गरे। नर्सहरूले दुई तलामाथि हामफालेर ज्यान जोगाएका थिए। घटनाको चौतर्फी विरोध भएपछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले प्रशासनलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ।
समितिले २५ पृष्ठको प्रतिवेदन तयार गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष पेस गरेको थियो। समितिले समग्र विषय समेटर प्रतिवेदन बुझाए पनि प्रमुख जिल्ला अधिकारी गेलालले पाँच पृष्ठको मात्र प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदनमा दोषीलाई कस्तो कारबाही हुने केही उल्लेख नभएपछि स्वास्थ्यकर्मीले आपत्ति प्रकट गरेका छन्। प्रमुख जिल्ला अधिकारी गेलालले सार्वजनिक गरेको प्रतिवेदनमा अस्पतालका कमजोरी मात्रै औंल्याइएको छ।
भेरी चिकित्सक संघका अध्यक्ष विनोद कर्णले सीडीओ कार्यालयले पूर्वाग्रही भएर प्रतिवेदन सार्वजनिक गरेको आरोप लगाए। ‘म पनि समितिको सदस्य हुँ। हामीले २५ पृष्ठको प्रतिवेदन बुझाएका थियौं। त्यसमा दोषीलाई के कारबाही हुने भन्ने बुँदा समेटिएको छैन। उल्टै अस्पतालका कमजोरी औंल्याइएको छ।’ उनले आफूहरूका माग सुनुवाइ नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी दिए।
प्रतिवेदनमा समितिले दिएका महत्त्वपूर्ण बुँदा समावेश नगरिएको भन्दै उनले आपत्ति जनाए। प्रतिवेदन अपूरो रहेको उनको आरोप छ। उनले प्रशासनले प्रतिवेदनको मर्म नै लुकाएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘दोषीले दोष कबुल गर्दा पनि सीडीओ पले किन जोगाउन खोज्नुभयो? त्यो नसच्याइए हामी फेरि कडा आन्दोलनमा उत्रिने छौं’, कर्णले नेपाल समयसँग भने।
प्रमुख जिल्ला अधिकारी गेलाल भने प्रतिवेदनको कमजोरीलाई स्वीकार्न तयार छैनन्। उनी भन्छन्, ‘प्रहरीले पहिले नै तीन जना अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाइरहेकाले अस्पतालका कमीकमजोरीलाई प्राथमिकतासाथ औंल्याइएको हो।’
समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुँदे कमीकमजोरी औंल्याइएको छ। जसमा उक्त घटनाका दोषीमाथि कस्तो कारबाही हुने भन्ने उल्लेख छैन। प्रतिवेदनमा अस्पतालमा आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाका लागि विशेष ध्यान दिन समितिले सुझाव दिएको छ। यस्तै अस्पतालको सेवालाई अझ गुणस्तरी बनाउनुपर्ने सुझाव छ।
प्रमुख जिल्ला अधिकारी गेलाल भने प्रतिवेदनको कमजोरीलाई स्वीकार्न तयार छैनन्। उनी भन्छन्, ‘प्रहरीले पहिले नै तीन जना अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाइरहेकाले अस्पतालका कमीकमजोरीलाई प्राथमिकतासाथ औंल्याइएको हो।’
समितिले भने कोरोना महामारीका कारण भेरीले जनशक्ति अभावमा खेप्नुपरेको समस्या र चिकित्सकमाथि भएको आक्रमणको सूक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो।
बिरामी तथा कुरुवासँग स्वास्थ्यकर्मीले गर्ने व्यवहार, अस्पतालको आन्तरिक व्यवस्थापन, अस्पतालको सुरक्षा व्यवस्था, केन्द्रबाट उपलब्ध गराउनुपर्ने जनशक्तिबारे प्रतिवेदनमा विस्तृत उल्लेख गरिए पनि अस्पतालले पूर्वाग्रही रुपमा पाँच पृष्ठको प्रतिवेदन तयार पारेको डा। कर्णले बताए।
गत बिहीबार दाङका कोरोना संक्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, छोरा भरत र लोकराजलगायतले भेरी अस्पतालको आईसीयूमा तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीलाई लखेटीलखेटी आक्रमण गरेका थिए।कर्णले आफूहरुले चाहँदाचाहँँदै पनि बिरामीलाई बचाउन नसकेको बताए। ‘बिरामी अस्पताल पुग्ने भनेको नै बाँच्ने आशासहित हो। हाम्रो धर्म नै बिरामीको उपचार गर्ने हो। हामीले कुनै बिरामीप्रति पूर्वाग्रह राखेका हुँदैनौं’, डा। कर्णले भने। उपचार गर्दागर्दै बिरामीको ज्यान गए स्वास्थ्यकर्मीको लापरबाही भन्दै आक्रमण गर्नु गलत मानसिकता भएको उनले बताए।
बिरामीमा अक्सिजन कम भइसकेपछि भेन्टिलेटरमा पाइप जोडेर अक्सिजन प्रवाहमा सहजता गरिएको हो। यसलाई सिप्यापमा राख्ने भनिन्छ। तर, बिरामीका आफन्तले हाम्रो अनुमति बिना किन भेन्टिलेटरमा राखेको भन्दै निहुँ खोजेको पाइयो। ‘यसका लागि बिरामीका आफन्तसँग अनुमति लिइराख्नु पर्दैनु’। प्रतिवेदन तयार पार्न गठित समितिका एक सदस्यले भने।
