काठमाडौं-मन्त्रिपरिषद्को बिहीबारको बैठकका नौ बुँदे निर्णयमध्ये दोस्रो नम्बरमा छ, पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीको प्रसंग ।
ठ्याक्कै वर्षदिनअघि उनी मुख्यसचिवको पद छाडेर फिलिपिन्सको राजधानी मनिलाका लागि उडेका थिए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट । ठ्याक्कै वर्षदिन पुग्दा सरकारले फिर्ता बोलाएको छ, एसियाली विकास बैंकको वैकल्पिक निर्देशक पदबाट ।
उनको कार्यकाल अझै एक वर्ष बाँकी थियो । मुलुकको सम्मानित पद छाडेर उनी विदेशतिर उड्दा व्यापक आलोचना भएको थियो । नेपाल सरकारको मुख्यसचिवका रूपमा पनि उनी साउन ०७६ सम्म बहाल रहन्थे । अब न एडीबीको वैकल्पिक निर्देशक बाँकी रहे, न नेपाल सरकारको मुख्यसचिव । उनको स्थानमा सरकारले अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ ।
बिहीबारको ‘क्याबिनेट’ले संयुक्त समिति कार्यसञ्चालन नियामावली २०७५ पारित गर्न २० असार अपरान्ह चार बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठक बोलाउने निर्णय लिएको छ ।
यस्तै, नेपाल र चीन अन्तर्राष्ट्रिय सहायता विकास नियोगबीच मानव विकास सहायतासम्बन्धी समझदारी गर्ने, नेपाल र चीनको ‘दी नेसनल डेभेलपमेन्ट एन्ड रिफर्म कमिसन’बीच उत्पादन क्षमता विकासका लागि लगानी र सहयोगसम्बन्धी समझदारी गर्ने निर्णय पनि गरेको छ ।
जापानबाट ‘प्रोजेक्ट फर हुमन रिसोर्स डेभेलपमेन्ट’ छात्रवृत्तिअन्तर्गत् प्राप्त हुने जापानी येन करिब २८ करोड २० लाख (२७ करोड ५५ लाख रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
ऊर्जा मन्त्रालय र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीबीच एमओयूका लागि स्वीकृति प्रदान गरेको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आईडीएबाट करिब डेढ करोड रुपैयाँको सहायता स्वीकार गर्ने निर्णय लिएको छ । र, त्यसका लागि सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिको अध्यक्षमा महेन्द्र बिष्ट र हरिहर अधिकारीलाई नियुक्त गरेको छ । विद्युत् प्राधिकरण र चीनको स्टेट ग्रिड कर्पोरेसनबीच सम्झौताका लागि अख्तियारी दिने निर्णय गरेको छ । र, अन्तिम निर्णय छ, भारतबाट जावलाखेलस्थित चिडियाखानामा रहेको भाले भालु फिर्ता गर्ने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४