काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भइसकेको बेला जसपाकै अर्को समूहका नेता उपेन्द्र यादवले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग भेटवार्ता गरेका छन्।
निधी निवासमा शुक्रबार बिहान भएको भेटमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको उपसभापति निधीका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए। उनले भने, ‘उहाँहरुबीच वर्तमान राजनीति र यसका आयामबारे छलफल भएको हो।’
जसपाका अध्यक्षसमेत रहेका यादव र निधीबीच भएको छलफलमा प्रदेश नम्बर दुईमा सरकारको संरचनाबारे पनि कुराकानी भएको स्रोतको भनाइ छ। भेटका क्रममा नेता यादवले प्रदेश नम्बर दुईको सरकारमा कांग्रेस पनि सहभागी हुँदा यसको राजनीतिक सन्देश राम्रो जान सक्ने भएकाले यसबारे सोच्न नेता निधीलाई आग्रह गरेको बताइएको छ। जवाफमा कांग्रेस उपसभापति निधीले ३ वर्षसम्म सरकारको नेतृत्व जसपाले गरेकाले कांग्रेसले सम्मानजनक स्थान पाउने भए यस विषयमा दलभित्र छलफल गर्न सक्ने बताएका थिए।
प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि जसपाभित्र अन्तरद्वन्द्व चर्किएको छ। अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई सरकारको विपक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सरकारमा जाने अन्तिम तयारीमा छन्।
अर्को समूह सरकारमा जाने निश्चित भएपछि यादव पक्ष नयाँ राजनीतिक समीकरणको अभ्यासमा लागेको देखिन्छ। ‘यही अभ्यासको सिलसिलामा अध्यक्ष यादवले कांग्रेसका प्रभावशाली नेता तथा उपसभापति निधीसँग छलफल गर्नुभएको हो,’ यादव निकट एक नेताले भने, ‘अहिलेको भ्रष्ट सरकार र केही लोभीपापी नेताहरुको चंगुलबाट देशलाई मुक्त गर्न पनि विपक्षीहरु एक ठाउँमा आउन जरुरी छ।’
उपसभापति निधी र अध्यक्षबीच शुक्रबार भएको छलफलमा फेरि अर्को पटक पनि भेटेर प्रदेश नम्बर दुईको राजनीतिक समीकरणका विषयमा छलफल हुने मौखिक समहमति भएको बताइएको छ।
