काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको बताएका छन्।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारका हिंसा भइरहेको बताएका हुन्।
‘संविधान र कानुनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरूले न्यायको अनुभूति गर्न सक्छन्,’ सन्देशमा भनिएको छ, ‘सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खतरा पैदा भएको छ।’
सामन्तवादका उपज सामाजिक कलंकका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरूका बीच एकताबद्ध पहलकदमीको आवश्यकता रहेको उनले बताएका हुन्। सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने उनको भनाइ छ।
जातीय छुवाछुत, विभेद र हिंसासम्बन्धी संविधान र कानुनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुतविरुद्ध जनचेतनालगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
उनले भनेका छन्, ‘स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल गर्दै यस दिवसको अवसरमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।’
