विराटनगर - प्रदेश सांसद विन्दीया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट विराटनगर-४ मा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
साँझ करिब ७ः२५ बजे तिर सांसद कार्कीका छोरा रोविनले चलाएको प्रदेश ३-०१०२२ च २१३९ नम्बरकाे कारले ठक्कर दिँदा विराटनगर-४ को न्यू एभरेस्ट फर्निचरमा काम गर्ने भारत कटिहार घर भएका ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो। शर्माको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो।
सोही स्थानमा काम गर्ने मोरङको कटहरीका २७ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन्। उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटना लगत्तै कार चालक फरार छन्। प्रहरीले भने चालकको पहिचान हुन नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जनाएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा अरू दुई युवती पनि थिए। भेला भएकाहरू दुर्घटनामा परेका घाइतेको उद्धारमा व्यस्त रहेका बेला चालक कार्की भने कार घटनास्थलमै छाडेर फरार भएका थिए। दुर्घटनामा परेर कार क्षतिग्रस्त बनेको छ।
कार्कीले यसअघि पनि थुप्रै दुर्घटना गराए पनि पहुँचका आधारमा छुट्दै आएको स्राेतकाे भनाइ छ।
