जेरुसेलम- इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग विजयी भएका छन्। बुधबार इजरायली संसद्मा भएको संसद्मा भएका १२० मतमध्ये उनले ८७ मत प्राप्त गरी नयाँ राष्ट्रपतिमा चयन भएका हुन्।
प्रतिस्पर्धी शिक्षाविद् मिरियम पेरेजले भने २६ मतमा नै चित्त बुझाउनु परेको छ। तीन जना मतदानमा अनुपस्थित थिए भने तीन मत अयोग्य घोषित भएका थिए। यस्तै एक जना सांसदले भने मतदान गरेका थिएनन्।
साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए। उनी संसदमा विपक्षी दलको नेता पनि भइसकेका व्यक्ति हुन्। सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उठेका थिए।
उनी इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुन्। उनका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्तराष्ट्रसंघका लागि इजरायली राजदूत थिए। उनका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेशमन्त्री हुन्।
राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नुपर्ने व्यवस्था छ। कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदान हुनेछ।
विजयी आइज्याकले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन्। राष्ट्रप्रमुखका रुपमा रहने भए पनि इजरायलको राष्ट्रपति सम्मानित पद मात्र हुन्छ, र कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहीत हुने व्यवस्था छ।