जेनेभा- विश्व स्वास्थ्य संगठनले चीनमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको सिनोभ्याकलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले बेइजिङस्थित सिनोभ्याक कम्पनीले उत्पादन गरेको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको जानकारी दिएको हो।
सिनोभ्याकलाई भण्डारण गर्न पनि सहज हुने विज्ञप्तिमा उल्लेख छ। यसकारण यो कम स्रोत भएका स्थानका लागि पनि उपयुक्त हुने संगठनको भनाइ छ।
सिनोभ्याक १८ वर्षमाथिका व्यक्तिलाई लगाउन सकिने संगठनको भनाइ छ। वृद्धवृद्धामा पनि भ्याक्सिन प्रभावकारी भएको देखिएकाले उमेरको माथिल्लो हद तोकिएको छैन।
सिनोभ्याकले आपत्कालीन अनुमति पाएसँगै डब्लुएचओले कोभ्याक्स फ्यासिलिटीमा जोडिनसमेत उत्पादकलाई आग्रह गरेको छ। 'भ्याक्सिनको पहुँचमा व्यापक असमनाता भएकाले विश्वलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन अत्यावश्यक भएको छ,' विश्व स्वास्थ्य संगठनका सहमहानिर्देशक डा म्यारिन्जेला सिमाओले भनेका छन्, 'भ्याक्सिन उत्पादकहरूलाई हामी कोभ्यास फ्यासिलिटीमा सहभागी हुन आग्रह गर्छौँ। यसले महामारी नियन्त्रण गर्न सहयोग गर्छौँ।'
यसअघि डब्लुएचओले बायोटेकको फाइजर, आस्ट्राजेनेका एसकेबायो, सेरम इन्डियाको कोभिसिल्ड, आस्ट्राजेनेका इयू, जोन्सन एन्ड जोन्सन, मोडेर्ना र सिनोफार्म भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो। सिनोफार्म पनि चीनले नै उत्पादन गरेको खोप हो।