सोमबार, साउन १८, २०८३

१-९ कक्षाको वार्षिक परीक्षा नगर्ने सिम्ता गाउँपालिका र शारदा नगरपालिकाको निर्णय

यसअघि सञ्चालित प्रथम र द्वितीय त्रैमासिक परीक्षालाई आधार मानेर मूल्यांकन गरी नतिजा प्रकाशन गर्ने यी पालिकाहरुले निर्णय गरेका हुन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

सुर्खेत- सुर्खेतको सिम्ता गाउँपालिका र सल्यानको शारदा नगरपालिकाभित्रका विद्यालयहरूमा वार्षिक परीक्षा नगरिने भएको छ। स्थानीय तहले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा नलिएरै नतिजा प्रकाशन गर्न सबै विद्यालयलाई पत्राचार गरेका हुन्। 

यसअघि सञ्चालित प्रथम र द्वितीय त्रैमासिक परीक्षालाई आधार मानेर मूल्यांकन गरी नतिजा प्रकाशन गर्ने यी पालिकाहरुले निर्णय गरेका हुन्। स्थानीय तहले परीक्षा प्रणालीका प्रचिलित मूल्यमान्यता, पाठ्यक्रमले निर्दिष्ट गरेको परीधिभित्र रही प्रथम र द्वितीय त्रैमासिक परीक्षालाई आधार मानेर नतिजा प्रकाशित गर्न विद्यालयहरुलाई निर्देशन गरेका छन्।

गाउँ शिक्षा समितिले सिम्ताका विद्यालयले जेठ २५ गते र नगर शिक्षा समितिले शारदाका विद्यालयले जेठ मसान्तसम्म परीक्षाफल प्रकाशित गरिसक्नुपर्ने व्यवस्था गरिदिएको छ।असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नका लागि जेठ २५ गतेभित्र नतिजा प्रकाशित गर्ने निर्णय भएको सिम्ता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

कोरोना महामारी न्यूनीकरणका लागि जारी गरिएको निषेध आदेशका कारण वार्षिक परीक्षा लिन सम्भव नहुने र अवस्था सहज भएको खण्डमा असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने बाध्यताका कारण वार्षिक परीक्षा नलिएरै नजिता प्रकाशन गर्ने निर्णय भएको शारदा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबालले जानकारी दिए।

सिम्ता गाउँपालिकाको सूचना

शारदा नगरपालिकाको सूचना

प्रकाशित: Jun 01, 2021| 10:17 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्