आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रम ओलीसहित एमालेका यी नेता जसले बजेटमा हालीमुहाली गरे

प्रम ओलीसहित एमालेका यी नेता जसले बजेटमा हालीमुहाली गरे

बजेटमा प्रधानमन्त्री ओलीलाई खुसी बनाउनका लागि उनको जिल्लाबाट आएका हरकोहीको कार्यक्रमलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए। ओली प्रधानमन्त्री भएर आएपछिका अर्थमन्त्री डा.युवराज खतिवडाले पनि झापालाई नै केन्द्रमा राखेर बजेट बनाएका थिए। 
 |  मंगलबार, जेठ १८, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

मंगलबार, जेठ १८, २०७८

vianetvianet

काठमाडौं– आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि सरकारले ल्याएको बजेटमा सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा मात्र १२ वटा कार्यक्रम परेका छन्। बजेट झापा केन्द्रित भएको देखिन्छ। झापामा चिल्ड्रेन प्याराडाइजदेखि बहुतले बसपार्कसहितको सिटी पार्क निर्माण गर्नेसम्मका कार्यक्रम संघीय बजेटमा समेटिएका छन्। 

triton college

बजेटमा प्रधानमन्त्री ओलीलाई खुसी बनाउनका लागि उनको जिल्लाबाट आएका हरकोहीको कार्यक्रमलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए। ओली प्रधानमन्त्री भएर आएपछिका अर्थमन्त्री डा.युवराज खतिवडाले पनि झापालाई नै केन्द्रमा राखेर बजेट बनाएका थिए। 

‘खतिवडाको घर पनि झापा नै भएकोले आफ्नो जिल्लाको लागि महत्वमा राखिएको होला भन्ने सोचेका थियौं, तर होइन रहेछ। रुपन्देहीका अर्थमन्त्रीले पनि झापालाई नै प्राथमिकता दिएर बजेट बनाउन लगाए,’ ती अधिकारीले भने। 

झापाको दमकमा चिल्ड्रेन प्याराडाइज स्थापना गर्ने, चन्द्रगढीमा उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने, बिर्तामोड र चन्द्रगढी नगरपालिकामा मेगा सिटी विकास गर्ने, दमकमा बहुतले बसपार्कसहितको सिटी पार्क निर्माण गर्ने कार्यक्रम बजेटमा समेटिएका छन्। 

दुई वर्षभित्र झापाको चन्द्रडाँगी कृषि फार्मलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने, सम्भावनायुक्त स्थानमा नदी पथान्तरण आयोजना सञ्चालन गरी झापादेखि कञ्चनपुरसम्मका तराईका भू–भागमा सिँचाइ सुविधा विस्तार गर्ने, चन्द्रगढी विमानस्थलको विस्तार एवम् स्तरोन्नति गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ।

National life insurance

समृद्ध तराई–मधेस सिँचाइ विकास कार्यक्रम अन्तर्गत झापा, सप्तरी लगायत २५ जिल्लामा सिँचाइ सुविधा विस्तार गर्ने, झापाको भद्रपुर, म्याग्दीको बेनी, डोल्पाको दुनै, बझाङको चैनपुर र दार्चुलाको खलंगा बजारलाई नदी कटानबाट संरक्षण गर्ने कार्यक्रम पनि बजेटमा छन्।

त्यसैगरी झापादेखि कञ्चनपुरसम्मको चुरे पहाडको भावर क्षेत्रमा कोशी, गण्डकी, कर्णाली एवम् तिनका सहायक नदी प्रणालीलाई अन्तरआवद्ध गरी नहर निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने, झापाको दमकलगायत स्थानमा आगामी दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने कार्यक्रम बजेटले समेटेको छ। झापाका लागि तय गरिएका कार्यक्रममा कति बजेट छ्ट्याइएको छ भन्नेचाहिँ खुलाइएको छैन।

प्रधानमन्त्रीपछि महेश बस्नेत

झापापछि बजेटको प्राथमिकतामा परेको अर्को जिल्ला हो भक्तपुर। भक्तपुर ओलीका विश्वासपात्र सांसद महेश बस्नेतको गृहजिल्ला हो। उनको जिल्लामा ११ वटा कार्यक्रम परेका छन्। 

भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमी, शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका चार स्थानमा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गरी सार्वजनिक–निजी साझेदारीमा नयाँ सहर निर्माण कार्य अगाडि बढाइने कार्यक्रम बजेटमा राखिएको छ। 

त्यस्तै वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गरिने, काठमाडांैको जडीबुटीदेखि भक्तपुरको दुवाकोट अस्पताल निर्माणस्थलसम्म मनोहरा नदीको दुवै किनारमा चार–चार लेनको करिडोर सडक निर्माण गरिने, भक्तपुरको सूर्यविनायकमा मंगला–सहाना पुनर्स्थापना केन्द्र निर्माण गर्ने, सूर्यविनायकमा निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान निर्माण सम्पन्न गर्ने लगायतका कार्यक्रम बजेटमा समावेश गरिएका छन्। 

गोकुलको गृहजिल्लामा ७ वटा कार्यक्रम

प्रधानमन्त्री निकट अर्का सांसद गोकुल बाँस्कोटाको जिल्ला काभ्रेमा ७ वटा कार्यक्रम परेका छन्। काभ्रेको पनौती, धुलिखेल, पाँचखालमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिने, बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिने, पाँचखालमा विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने, विज्ञान तथा प्रविधिका क्षेत्रमा विश्वस्तरको जनशक्ति उत्पादन गर्न स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय काभ्रेको पाँचखालमा पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य आरम्भ गरिने, मिसन ओख्खर, व्यावसायिक कागती उत्पादनका लागि काभ्रे पनि समावेश गरिने लगायत कार्यक्रम बजेटमा परेका छन्।

अर्थमन्त्रीको जिल्लामा पनि कम छैनन्

अर्थमन्त्री विष्णु पौडेलले पनि आफ्नो जिल्लामा प्रशस्त कार्यक्रम पारेका छन्। आगामी आर्थिक वर्षको लागि रुपन्देहीका ७ वटा कार्यक्रम परेका छन्। तर, ती कार्यक्रम रुपन्देहीका लागि मात्रै भने छैनन्। सबैजसो कार्यक्रम अन्य जिल्लासँग पनि सम्बन्धित छन्।

बादलको जिल्लामा ६ कार्यक्रम

निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को गृहजिल्ला चितवनमा पनि आधा दर्जन कार्यक्रम समेटिएका छन्। माओवादी छोडेर एमालेमा गएका बादलले आफ्नो सांसद पद गुमाए। राष्ट्रिय सभामा पुनः निर्वाचित हुन नसकेपछि मन्त्री पनि रहेनन्। तर एमालेको संस्थापनमा उनी केपी ओलीपछि दोस्रो वरीयतामा छन् अनौपचारिक हिसाबले। 

बादलको गृहजिल्ला चितवनमा राम मन्दिर बनाउने लगायत ६ वटा ठूला कार्यक्रम परेका छन्। चितवन माओवादी अध्यक्ष प्रचण्डको पनि निर्वाचन क्षेत्र भएको जिल्ला हो। 

तीन मन्त्रीका जिल्लामा तीन–तीन कार्यक्रम

ओली सरकारका प्रभावशाही मन्त्रीहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री पार्वत गुरुङ र कृषि विकासमन्त्री पद्माकुमारी अर्यालका जिल्लामा भने तीन–तीनवटा कार्यक्रम बजेटमा परेका छन्। उता, परराष्ट्रमन्त्रीको गृहजिल्ला गुल्मीको एउटामात्र कार्यक्रम बजेटमा समावेश भएको छ। 

मदन भण्डारीको नाममा तीन कार्यक्रम 

सरकारले आगामी बजेटमा मदन भण्डारीको नाममा तीनवटा कार्यक्रम राखेको छ। मदन भण्डारी प्रोद्यौगिक विश्वविद्यालय आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने, मदन भण्डारी राजमार्गको चतरा–हेटौंडा खण्डको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गर्ने र नारायणी नदीको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगा खण्डलाई मदन–आश्रित जलमार्ग नामाकरण गर्ने कार्यक्रम बजेटमा राखिएको छ। यी कार्यक्रमहरुको लागि बजेट भने खुलाइएको छैन।

‘मतदाता फकाउने मेलो’

नेपालमा मतदाता रिझाउन र आफूले जित्नका लागि आफ्नो गृहजिल्ला त्यसमा पनि आफ्नै निर्वाचन क्षेत्रमा बढी बजेट पार्ने प्रचलन पुरानै हो। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्री केपी ओलीले पछिल्ला चार वर्षदेखि नै झापा जिल्लालाई महत्वका साथ बजेट छुट्याउन लगाइरहेका छन्। पहिलेका बजेट अध्ययन गर्दा पनि बजेट झापा केन्द्रित भएको स्पष्ट देखिन्छ। यो वर्ष पनि शक्तिशाली नेता तथा मन्त्रीको गृह जिल्लामा बढी बजेट गएको देखिन्छ।’ 

प्रधानमन्त्रीको गृह जिल्लामा बजेट थुपार्न अहिलेका अर्थमन्त्रीले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासँग प्रतिस्पर्धा नै गरेको उनले टिप्पणी गरे। उनले थपे, ‘पछिल्ला तीन आर्थिक वर्षको बजेट पल्टाउने हो भने धेरै खुद्रे कार्यक्रम झापामा केन्द्रित भएका थिए। त्यसैको निरन्तरता यो सरकारका अर्थमन्त्री पौडेलले पनि दिएका छन्। पछिल्लो समय आफूअनुकूल बजेट बनाउन सिस्टम नै मिच्ने गरिएको पनि छ।’ 

प्रकाशित: Jun 01, 2021| 07:32 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।