पोखरा- पोखरा महानगरपालिका-३२ मजुवास्थित सेती नदीको किनार रातोपहिरो घाट। घाट वरिपरि कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन गर्दा प्रयोग गरिने सामान छरपष्ट छन्।
त्यहाँ शव व्यवस्थापन गर्न नेपाली सेनाले लगाउने पीपीई, मास्क, पञ्जा, फेसशिल्ड, मिनरल वाटरका बोतलहरु असरल्ल छन्। यसका साथै शव बेरेर ल्याइएका प्लाष्टिकको कात्रो, शव बाँधिएका नाइलनका डोरी पनि छरपष्ट देख्न सकिन्छ।
यो दृष्यले घाटनजिकैको बस्तीका बासिन्दामा त्रास बढ्दो छ। घाटमा अव्यवस्थित फालिएका ती बस्तु सम्झँदा पनि उनीहरु झस्किन्छन्। बस्तीमा गठन गरिएको मिलिजुली मजुवा समाजका अध्यक्ष दिलबहादुर गुरुङले शव व्यवस्थापनमा हदैसम्मको लापर्बाही भएको गुनासो गरे।
‘घाटनजिकै छौं, केही दिनअगाडि ३० जनाको परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखियो, दुईजना त बिते।’ गुरुङले नेपालसमयसँग भने, ‘बस्तीमै कोरोनाले मान्छे बित्नु र घाटको यो हालत देख्दा हामी एकदमै डराएका छौं।’
एक जना आफन्तको शव लिएर सोमबार घाटमा पुगेकी पत्रकार राधिका कँडेलले पनि त्यहाँको अवस्था देखिनसक्नु रहेको बताइन्। ‘किनारमा अधकल्चो मानव कंकाल त्यसै छोडिएको छ, त्यहाँको अवस्था हेरिसक्नु छैन।’ उनले भनिन्।
साँच्चै पोखरा–३२ मजुवास्थित रातोपहिरो घाटको अवस्था त्रासमय देखिन्छ। दिउँसो काम विषेशले एक्लै जानेहरु अहिले त्यतातर्फ फर्केर हेर्न पनि डराउने अवस्था आएको छ। ‘यहाँ साह्रै भएको छ सर, हामीलाई बसिसक्नु छैन।’ स्थानीय युवा कुमार गुरुङले भने।
घाटको अवस्था हेर्दा त्यहाँ सरोकारवाला निकाय तथा व्यक्तिले हदैसम्मको लापर्बाही गरेको प्रष्टै देख्न सकिन्छ। महानगरपालिकाको ३२ नम्बर वडाका अध्यक्ष अक्कलबहादुर कार्कीले पनि घाटमा शव व्यवस्थापनको नाममा लापर्बाही भएको र स्थानीयलाई त्रसित बनाउने काम भएको बताए।
‘बस्तीबाट केही टाढा भएको र मानवीय हिसाबले पनि यहाँ शव व्यवस्थापन गर्न दिइएको हो।’ कार्कीले नेपालसयमसँग भने, ‘जलाउने भन्ने कुरै भएको होइन, तर जलाएर पनि अलपत्र अवस्थामा छोडिएको छ।’ उनले वडा कार्यालयले त्यहाँ शव गाड्न मात्रै दिएको तर जलाउन नदिएको प्रष्ट पारे। ‘नत्र गाउँलेलाई उठाएर ढुंगामुढा गर्न हामीलाई पनि आउँथ्यो, तर मानवीय हिसाबले दिइएको हो।’ उनले भने।
कार्कीले रातोपहिरो घाटमा उचित ढंगले शव व्यवस्थापन गर्न पटकपटक महानगर र जिल्ला प्रशासन कार्यालयलाई ताकेता गर्दा पनि अझै सुनुवाइ हुन नसकेको बताए। संक्रमितको शव व्यवस्थापनको सम्पूर्ण जिम्मा सेनाको भएकाले पनि अव्यवस्थित भएको उनको आरोप छ। ‘सेनाले शव ल्याउँछ, वरिपरि जान दिँदैन, के-कसो गर्छ अरुलाई थाहा हुने कुरा भएन।’ उनले भने।
पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नेपाली सेना विजयपुर व्यारेकले एक दिनमा पाँचपाँच जनाको दुईवटा टोली खटाउने गरेको छ। व्यारेकका प्रमुख सेनानी तथा जनसम्पर्क अधिकृत प्रेमप्रसाद पौडेलले अहिलेको टीम पनि अझै सानो भएकोले जनशक्ति थप्नुपर्ने अवस्था रहेको बताए।
तर मजुवाको रातोपहिरो घाटमा शव व्यवस्थापनमा भएको लापर्बाहीबारे उनले मृतकका आफन्तलाई देखाएर पन्छिन खोजे। ‘हामीले त शव लगेर मृतकका आफन्तको चाहनाअनुसार कि चितामा राखिदिने हो, कि त खाल्डोमा हालिदिने हो।’ उनले भने, ‘त्यसपछि हाम्रो काम सकिन्छ।’
घाटको अस्तव्यवस्तताबारे थाहा पाएपछि जिल्लास्तरीय कोभिड नियन्त्रण तथा रोकथाम समितिले त्यहाँ अनुगमन पनि गरेको थियो। तर त्यसले केही प्रकृया अगाडि नबढाएको वडाध्यक्ष कार्की बताउँछन्।
उनले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय मौन रहेको आरोप लगाए। ‘थप एक दुई दिन हेरौं, अनि भएन भने थप कदम चालौंला’ उनले भने।