काठमाडौं- काठमाडौं सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको छ। आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक वर्षदेखि सुर्तीजन्य पदार्थमा कर वृद्धि ग¥यो। आगामी वर्षको कर वृद्धिदर पछिल्लो पाँच वर्ष यताकै बढी हो। यसअघि सुर्तीजन्य पदार्थमा रहेको झण्डै ३० प्रतिशतबाट बढेर झण्डै ३८ प्रतिशत नजिक पुगेको छ। तर, पनि अपेक्षाकृत रुपमा वृद्धि हुन सकेको छैन।
सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा क्रियाशील संस्था नेपाल विकास अनुसन्धान परिषद् (एनडीआरआई)का अध्यक्ष जयकुमार गुरुङका अनुसार अपेक्षाकृत रुपमा कर वृद्धिदर निकै कम हो। उनी भन्छन्, ‘जति मात्रामा करवृद्धि गर्नुपर्ने थियो त्यो भएन तर माग मात्रै सुनुवाइ गर्न खोजेको जस्तो मात्रै भयो।
डब्ल्यूएचओले जनधनको क्षति कम गर्न सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएको छ। विज्ञहरूले नेपालजस्तो मुलुकले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दरमा कम्तीमा ७० प्रतिशतभन्दा माथि पुर्याउनु पर्ने बताउँदै आएको छ।
‘विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर समावेश गर्नुपर्छ भनिएको छ। तर, नेपालमा जम्मा ३७ प्रतिशत पुर्याउन लागिएको छ,’ गुरुङले भने, ‘कोरोनाले आक्रान्त पारिरहेको यो समयमा सुर्तीजन्य पदार्थमा कम्तीमा पनि ५० प्रतिशत कर वृद्धि गर्नुपथ्र्यो, जसले देशको राजस्वमा पनि दोब्बर वृद्धि हुन्थ्यो। त्यो मौका सरकारले गुमाएको छ।’
यसपटक सरकारले ५० देखि ७० प्रतिशत कर पुर्याउने अपेक्षा भए पनि आधा अपेक्षा पनि पूरा गर्न नसकेको उनी बताउँछन्। अध्यक्ष गुरुङ भन्छन्, ‘नेपाल सुर्तीजन्य पदार्थमा कम कर लगाउने सार्क राष्ट्रहरूको सूचीको पहिलो नम्बरमै देखिन्छ। सरकारले आगामी ३ वर्षमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्छ।’ डब्ल्यूएचओको मापदण्डअनुसार कम्तीमा ७० प्रतिशत पुग्नै पर्छ भने पनि त्योअनुसार नभएको उनको गुनासो छ। नेपाल सुर्तीजन्य पदार्थमा कम कर लगाउने सार्क राष्ट्रहरुको सूचीको पहिलो नम्बरमै रहेको गुरुङ बताउँछन्।
सुर्ती तथा चुरोट उद्योगहरुबाट नीति निर्माण तहका व्यक्तिहरु प्रलोभनमा पर्दा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन कार्यान्वयन हुन नसकेको बताएका छन्। सुर्ती जन्य पदार्थमा लाग्दै आएको करको दायरालाई बढाए उत्पादन र प्रयोगमा कमी आउने भए पनि सुर्तीजन्य उधोगहरुबाट प्रलोभनमा परी पर्याप्त रुपमा कर घटाउन नसकिएको अध्यक्ष गुरुङले बताए।
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीका भन्छन्, ‘कर बढाउँदा राज्यको बिनालगानीमा हजारौं नागरिकको ज्यान जोगाउन सकिन्छ, तर यति सरल उपाए हुँदाहुँदै पनि कर बढाउनेतर्फ राज्यले किन नसोचेको हो?’ कम कर भएकै कारण सुर्तीजन्य पदार्थको मूल्य सस्तो हुने र आम सर्वसाधारणको पहुँचमा पुग्ने भएकोले यसको प्रयोगमा नियन्त्रण गर्न नसकिएको उनको धारणा छ।
त्यस्तै एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्द पनि प्रलोभनका कारण कर बढाउन हिचकिचाएको बताउँछन्। उनी भन्छन्, ‘सुर्तीजन्य उद्योगहरुले चन्दाका नाममा उच्चतहका व्यक्तिहरु, डाक्टर, सरकारी अधिकारी, अस्पताललगायतलाई चन्दा दिन्छन्, त्यो सहयोग लिएपछि कर बढाउने तथा नीति नियम कार्यान्वयनमा समस्या भएको छ।’
कसरी हानी गरिरहेका छ सुर्तीजन्य पदार्थले?
विभिन्न रोगका कारण भइरहेको मृत्युमध्ये ७० प्रतिशत मृत्यु धुमपानले बोकेको छ। वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेका अनुसार विभिन्न क्यान्सरको कारणमा ३० प्रतिशत धुमपान रहेको छ। नेपालमा धुमपानका कारणले मात्रै क्यान्सर भई एक वर्षमा ७०० भन्दा धेरैको मृत्यु हुने गरेको छ। त्यस्तै मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार चुरोटका कारण फोक्सोलाई असर गर्ने मात्रै होइन हृदयघातको समस्या बढिरहेको छ। डा. अनिल भन्छन्, ‘मस्तिष्कघात तथा हृदयघातका समस्या बढ्नुमा चुरोट तथा सुर्तीजन्य पर्दार्थको भुमिका महत्वपूर्ण देखिन्छ।
अर्कोतर्फ चुरोट सेवन गरिरहेका व्यक्तिको नजिक धेरैबेर बस्दा पनि असर गर्ने उनी बताउँछन्। असर त गर्छ नै तर एकैछिन् सामुन्नेमा पर्दा पनि यसले असर गर्ने डा. ओम बताउँछन्। डा. अनिलका अनुसार चुरोट तानेर बाहिर निस्किएको धुवाँमा हुने ७० भन्दा बढी क्यान्सर गराउने रसायनले नखाने व्यक्तिलाई पनि असर पुर्याउँछ।
‘थोरै समय बस्दा पनि यसले हृदयघात हुन सक्छ।’ डा. अनिल भन्छन्, ‘जब चुरोट सेवन गर्दा निस्किएको धुवाँ रगतमा जान्छ तब रगत नलीको भित्री भागमा असर गर्छ। त्यसपछि हर्टएट्याक र स्ट्रोक हुन सक्छ।
यसको असर बालबालिकामा बढी देखिन्छ। चुरोटको धुवाँका कारण बालबालिकाको फोक्सोमा असर पुगी उनीहरूमा निमोनिया देखिने उनी बताउँछन्। सुर्तीजन्य पदार्थ खानाले क्यान्सरलगायत अन्य २५ किसिमका रोग लाग्न सक्ने चिकित्सकहरु बताउँछन्। सुर्तीजन्य पदार्थले फोक्सो, स्वासनली, मुख, मष्तिष्क, आँखा, मुटुलगायतमा असर गर्दछ।
धुमपान मन्द विष हो, जसले तत्काल असर नदेखाए पनि दीर्घकालीन समस्या हुन्छ र मानिसको मृत्यु गराउँछ। सुर्तीजन्य पदार्थमा लगाइँदै आएको करलाई बढाउनु नै सुर्तीजन्य पदार्थ नियन्त्रणको बलियो उपाय रहेको सरोकारवालाहरु बताउँछन्।
स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण बर्सेनी २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वभरमा नै ८० लाखको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। तथ्यांकअनुसार ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्ने मानिसले खाएको चुरोटको असरको कारणले मृत्यु हुने गर्दछ।
अघिल्लो वर्ष ७० एमएमसम्मको फिल्टर चुरोटमा प्रति एम १ हजार १३५ रूपैयाँ कर तोकिएको थियो। यो वर्ष सो बढेर १ हजार ४१८ रूपैयाँ पुगेको छ।
यस्तै ७० एमएमको फिल्टर नभएको चुरोटमा अघिल्लो वर्ष प्रतिएम ४९५ रूपैयाँ तोकिएकोमा यो वर्ष ६१८ रूपैयाँ पुर्याइएको छ। विश्व स्वास्थ्य संगठन जनधनको क्षति कम गर्न सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएको छ।
एनडीआरआईको तथ्यांकअनुसार प्रत्येक वर्ष २७ हजार १३७ जना अर्थात् प्रतिघण्टा तीन जनाले सुर्तीजन्य पदार्थको कारणले ज्यान गुमाइरहेका छन्। कुल संख्याले नेपालको जम्मा मृत्युको १४.९ प्रतिशत ओगटेको छ।
२०२० मा मात्रै चुरोट सेवनका कारण निम्तिने रोगहरूको उपचारका लागि बिरामीको खर्च र उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्युसमेत जोड्दा प्रत्येक वर्ष ४० अर्ब खर्च हुने गरेको छ। चुरोट बिँडीबाट संकलन भएको राजस्व भने साढे १८ अर्ब मात्रै भएको तथ्यांक छ।
सुर्तीजन्य पदार्थ प्रयोगविरुद्ध जारी भएका ऐन नियमको कार्यान्वयन गर्नेतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने सरोकारवालाहरु बताउँछन्।
के छ ऐनमा?
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन, ऐन २०६८) ले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ। यदि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा १०० रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ तर त्यो नियम व्यवहारिक देखिएको छैन।
त्यस्तै कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन। यदि गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्ने ऐनमा उल्लेख छ। खुलेआम फुटपाथमा समेत सुर्तीजन्य पदार्थ बिक्रिवितरण गर्न रोक लगाउनुपर्ने ऐनमा उल्लेख छ तर अस्पतालको गेटमासमेत सुर्तीजन्य पदार्थको बिक्रिवितरण भइरहेको देखिन्छ।
त्यस्तै कार्यालय र सार्वजनिकस्थलमा धूमपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्ने व्यवस्था छ। यसैगरी १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न गराउन वा निःशुल्क उपलव्ध गराउन नपाइने उल्लेख छ।
सुर्तीजन्य पदार्थको लत छोड्ने उत्तम समय
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सुर्तीजन्य पदार्थ सेवन गर्ने र दीर्घरोगी कोरोनाको उच्च जोखिममा रहेको बताएको छ। सुर्तीजन्य पदार्थको सेवनका कारण शरीरमा प्रतिरक्षा क्षमता घटाउने भएकाले कोरोनाम संक्रमणको जेखिम उच्च हुने विश्व स्वास्थ्य संगठनको धारणा छ। त्यसैले यो समयमा धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढा रहन विज्ञहरुको सुझाव छ।
चिकित्कका अनुसार सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरुको मुख्य अंगहरु फोक्सो, मुटु, कलेजोलगायत अंगहरु कमजोर हुन्छन्, उनीहरुको रोग प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। त्यस्ता व्यक्तिलाई संक्रमण भएमा सिकिस्त बनाउन सक्ने र मृत्युसमेत हुने सम्भावना रहन्छ।
चिकित्सकहरुका अनुसार सुर्तीजन्य पदार्थको लतबाट आफूलाई टाढा राख्ने यो उत्तम समय हो। यसबाट टाढा रहनका लागि बारम्बार पानी पिउने, लत लागेका व्यक्तिले घटाउँदै लाने, मुखमा अन्य चीजहरु राखिरहने जसले चुरोटको तलतल मेटियोस्।