काठमाडौं– निजी विमान कम्पनीहरुले बाह्य र आन्तरिक दुवै उडान खोल्न लबिङ सुरु गरेका छन्। कोरोना संक्रमणदर कम हुँदै गएको र दैनिक घाटा बढ्दै गएको भन्दै निजी विमान कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले उडान खोल्न पहल गरेको हो।
संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग बाह्य मात्रै नभई आन्तरिक उडान पनि खोल्न आग्रह गरेको छ। पछिल्लो केही दिनयता लगातार संक्रमण दर घट्दै गएकाले सुरक्षाका सबै उपाय अपनाएर असार १ गतेबाट उडान खोल्न उनीहरुले माग गरेका छन्।
पछिल्लो एक हप्तामा मात्रै निजी विमान कम्पनीका सञ्चालकहरुले पर्यटनमन्त्री भानुक्त ढकालसँग दुई पटक भेट गरेर अनौपचारिक छलफल गरेका छन्। ‘हामीले बाह्य मात्रै होइन, आन्तरिक उडान पनि खोल्नुपर्छ भन्ने विषयमा मन्त्रीज्यूसँग कुरा गरेका छौं। तत्कालै नभए पनि असार १ गतेबाट विमानस्थल खोल्नुपर्ने हाम्रो माग छ,’ बुद्ध एयरका प्रवक्ता तथा वायुसेवा सञ्चालक संघका कोषाध्यक्ष रुपेश जोशीले भने। उनका अनुसार छलफल सकारात्मक दिशामा अघि बढेको छ।
संक्रमण घट्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर उडान खोल्दा केही फरक नपर्ने विमान कम्पनीहरुको दाबी छ। सरकारले बिहीबारमात्रै चीन, टर्की र कतारबाट हुने नियमित उडान खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले कतारको दोहा विमानस्थल, टर्कीको इस्तानबुल विमानस्थल र चीनका कुनै पनि स्थानमा सातामा एक उडान (आगमन र प्रस्थान दुवै) गर्न अनुमति दिने निर्णय गरेको हो।
सरकारले केही देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरे पनि निजी विमान कम्पनीहरुले आन्तरिक उडान खोल्नका लागि थप दबाब दिने तयारी गरेका छन्। ‘अन्तर्राष्ट्रिय उडानमा कोरोना नसर्ने, आन्तरिकमा सर्ने भन्ने हुँदैन। त्यसैले आन्तरिक उडान पनि खोल्नुपर्छ। यसका लागि हामी पहल गरिरहेका छौं,’ यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने।
उडान बन्द भएपछि दैनिक एक करोडभन्दा धेरै घाटा सहनुपरेको उनी बताउँछन्। उनले भने, ‘हामी दैनिक करोड बढी घाटा सहिरहेका छौ। अब पनि उडान बन्द भइरहे थेग्न गाह्रो पर्छ।’ यती एयरलाइन्ससँग हाल ७ वटा जहाज सञ्चालनमा छन्। उनका अनुसार पार्किङमा मात्रै दैनिक एक लाखभन्दा बढी तिर्नुपरेको छ।
बुद्ध एयरलाइन्ससँग हाल १५ वटा जहाज छन्। उडान बन्द भएसँगै सबै जहाज ग्राउन्डेड हुँदा दैनिक २ करोड घाटा सहनुपरेको बुद्धका प्रवक्ता जोशीले बताए। उनका अनुसार पार्किङ शुल्कमात्रै दैनिक २ लाख रुपैयाँ तिर्नुपर्छ। ‘पोहोरको लकडाउनबाट बोहोरेको घाटा अझै परिपूर्ति भएको छैन। फेरि दैनिक करोडौं घाटा सहनु परेको छ। यो कुरालाई सरकारले विशेष ध्यान नदिए अब गाह्रो पर्छ,’ उनले भने। मन्त्री भानुभक्त ढकालसँग यो विषयमा कुरा भएको जानकारी दिँदै उनले असार १ बाट आन्तरिक उडान पनि खोल्नका लागि जोडदार रुपमा माग गरेको बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि उडान खोल्नुपर्ने राय मन्त्रालयलाई दिएको छ। अहिलेकै दरमा संक्रमितको संख्या घटे स्वास्थ्य मापदण्डमा कडाइ गरेर उडान खोल्नुपर्ने प्राधिकरणको राय छ। उसले पनि असार १ बाट खोल्ने गरी तयारी गर्न सकिने मन्त्रालयलाई जानकारी गराएको स्रोतले जनाएको छ।
हाल आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा ५६ वटा हवाईजहाज र ३६ वटा हेलिकप्टर ग्राउन्डेड भएका छन्। यीमध्ये ४२ वटा हवाइजहाज र २१ वटा हेलिकप्टर नियमित सञ्चालनमा थिए।
नेपाल नागरिक उड्डन प्रावधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल एयलाइन्सका ८ वटा, बुद्ध एयरलाइन्सका १५ वटा, यतीका १४ वटा, सौर्यका ३ वटा, सिम्रिकका ३ वटा, सीता एयरलाइन्सका ४ वटा जहाज ग्राउण्डेड छन्। अन्तराष्ट्रियतर्फका भने एयर डाइनेष्टीका ३ वटा र हिमाल एयरलाइन्सका ४ वटा जहाज ग्राण्डडेड छन्।
नेपाल एयरलाइन्ससँग १४ वटा जहाज रहेकोमा हाल ८ वटा जहाज मात्रै सञ्चालित अवस्थामा थिए। त्यसमध्ये पनि आन्तरिकतर्फ उडान भर्ने एउटा ट्विनअटर मर्मत हुँदै थियो। त्यसैले आन्तरिकतर्फ ३ र बाह्यतर्फ ४ वटा जहाजले उडान भर्दै आएका थिए। ६ वटा चिनियाँ जहाज पहिलेदेखि नै ग्राउन्डेड थिए। हाल उडान बन्द हुँदा नेपाल एयरलाइन्सले दैनिक ७० देखि ८० लाखभन्दा धेरै घाटा बेहोर्नुपरेको बताएको छ।
उडान बन्द हुँदा ग्राउन्डेड जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दैनिक साढे १२ लाख रुपैयाँ पार्किङ शुल्क बुझाउनुपर्ने देखिएको छ। सामान्य अवस्थामा दैनिक ९ देखि १० लाख उठ्ने गरेकोमा उडान बन्द हुँदा र धेरैजसो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किदा पर्किङ शुल्क बढी उठेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
निजी विमान कम्पनीहरुले आफू चरम घाटामा परेको भन्दै पार्किङ शुल्क मिनाहा गर्न आग्रह गरेका छन्। प्राधिरकणले अघिल्लो लकडाउनमा करिब ६ महिना ग्राउन्डेड भएका जहाजहरुको पार्किङ शुल्क मिनाहा गरेको थियो।