काठमाडौं- नेकपा(माओवादी केन्द्र) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट कामचलाउ सरकारले असंवैधानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाएका छन्। आगामी आर्थिक वर्षको बजेटबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
‘नियमित सेवा र काम गर्नबाहेक पूर्ण बजेट ल्याउन पाइन्नथ्यो। प्रतिनिधिसभाविना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन पनि पाइन्न, यो सरकारबाट संविधान विपरीत काम भएको छ,' उनले भने, 'निर्वाचनको बजेट ठोस रुपमा नआउँदा अर्थमन्त्रीलाई प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा जस्तो आभास पनि भएजस्तो छ।’
हामीले गर्न खोजेका थियौँ, काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको आरोप लगाउँदै पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री समेत रहेका पुनले भने, 'आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ, चुनावलाई प्रभाव पारौँ भन्ने सोचबाट गैरजिम्मेवारपूर्वक रुपमा बजेट आएको छ।’