सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीका प्रिय मन्त्रीलाई 'सिधा प्रश्‍न' गर्ने पत्रकारको मुख बन्द !

ओलीका प्रिय मन्त्रीलाई 'सिधा प्रश्‍न' गर्ने पत्रकारको मुख बन्द !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  सरकारी स्वामित्वको नेपाल टेलिभिजनबाट प्रसारण हुने अन्तर्वार्तामूलक कार्यक्रम ‘सीधा प्रश्न’मा कडा प्रश्‍न सोध्दा पत्रकारको मुख नै बन्द भएको छ।

गत शनिबार दिउँसो अन्तर्वार्ताका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई प्रस्तोता राजु थापाले ‘सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा धेरैजसो मन्त्रीले दाइजोबाट प्राप्त भएको भन्दै सुन र चाँदीको विवरण अस्वाभाविक होइन र’ भनी प्रश्न गरेका थिए ।

विभागीय मन्त्री बाँस्कोटाले कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किने क्रममा कार्यक्रम सञ्चालक राजु थापालाई साक्षी राखेर अन्य कर्मचारीलाई भनेका थिए, ‘नेपाल टेलिभिजनमा धेरै परिवर्तन गर्नुपर्ने रहेछ । यहाँ मैले सिर्कनु लगाएर छाड्छु ।’ विभागीय मन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि धेरै कर्मचारीको मनमा डरले ढ्यांग्रो बजिसकेको थियो ।

मन्त्री बाँस्कोटाले कसलाई सिर्कनु लगाउन लागे भनेर धेरै कर्मचारी र पत्रकारमा त्रास बढिरहेका बेला नेपाल टेलिभिजनको समाचार महाशाखा प्रमुख मनोहरी थापाले ‘सीधा प्रश्न’का सञ्चालक थापालाई कार्यक्रम रद्ध भएको जानकारी गराए । ‘मन्त्री बाँस्कोटाले अन्तर्वार्ताको क्रममा देखाएको प्रस्तुती र बाहिरिने क्रममा दिएको अभिव्यक्तिबाटै मलाई फायर गर्छन् भन्ने लागेको थियो,’ थापाले नेपालसमयसँग भने ।

अन्तर्वार्ताको क्रममा मन्त्रीसँग सम्पत्ति विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा उक्त कार्यक्रम बन्द गराइएको थापाले जानकारी दिए । ‘समाचार महाशाखा प्रमुख मनोहरि थापालाई मोहरा मात्र बनाइएको हो,’ थापाले भने ।

स्रोतका अनुसार आफ्नै इच्छाबाट कार्यक्रम बन्द गरेको वक्तव्य दिन पत्रकार थापालाई टेलिभिजन व्यवस्थापनले दबाब दिइरहेको छ । 

नेपाल पत्रकार महासंघले प्रश्न सोधैकै आधारमा निरन्तर प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहास भएको ठहर गरेको छ । 

‘सरकारले नीति तथा कार्यक्रममा सञ्चारमाध्यम सञ्चालन सरकारले नगर्ने प्रतिबद्धता गरेको महासंघ स्मरण गराउन चाहन्छ,’ महासंघका महासचिव रमेश बिष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरे पनि सञ्चार जगतको हकहितको जिम्मेवारी लिनुपर्ने मन्त्री बाँस्कोटाबाटै प्रेसलाई हतोत्साहित बनाउने गरी भएको यस्तो कार्यले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिबद्ध नरहेको देखाउँछ ।’

तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।