काठामाडौं- महानगरीय प्र्रहरी परिसर काठमाडौं मा बुधबार अनौठो दृश्य देखियो । दृश्य हो, महानगरीय प्रहरी परिसर काठमाडौंमा मदिराको ताल । काठमाडौं प्रहरी परिसरले विभिन्न स्थानबाट बरामद गरिएको मदिरा नष्ट गर्ने क्रममा परिसरको पूर्व पट्टिको खाली स्थान पानीको तालजस्तै देखिन्थ्यो ।
प्रहरीले काठमाण्डौका विभिन्न स्थानबाट ५० हजार लिटर घरेलु मदिरा बरामद गरेको थियो । सोसँगै मदीरा उत्पादनमा प्रयोग हुने रसायनिक मल (यूरिया) पनि प्रहरीले बरामद गरेको हो ।
उक्त ५० हजार लिटर मदिरा तथा त्यसमा प्रयोग गरिएको अखाद्यवस्तुको प्रहरी परिसर नै दुर्गन्धित बनेको थियो ।
प्रहरीका अनुसार घरलु मदिरा उत्पादन गर्न प्रयोग गरिएको रसायनिक मल, दुषित तथा अखाध वस्तु बरामद गरी नष्ट गरेको हो । यस्तो यूरीया मिश्रित घरेलु मदिराबाट धेरैको ज्यान जानसक्ने र कानुनी रुपमा प्रतिबन्ध गरिएकोले प्रहरी बरामद गरेको जनाएको छ ।
काठमाण्डौ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार उपत्यकाका विभिन्न स्थानमा निषेधित मदिरा व्यावसायिक रुपमा उत्पादन भैरहेको सूचनाका आधारमा छापा मारेको बताए ।
उनले यसरी मदिरा उत्पादन गरिने ठाउँमा अनुगमन गर्दा हिंसात्मक गतिविधि समेत तुलनात्मक रुपमा बढी हुने गरेको एसएसपी पोख्रेलले बताए । परिसरले गत बैशाखमा समेत ३० हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४