काठमाडौं - सरकारले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि आगामी आर्थिक वर्षमा साढे १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य पढ्दै उक्त जानकारी गराएका हुन्। उनका अनुसार आगामी आर्थिक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट १३ अर्ब ५८ करोड विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षमा रसुवामा सुख्खा बन्दरगाह निर्माण सम्पन्न गरिने लक्ष्य सरकारले लिएको छ। त्यस्तै कन्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरिने छ।
बजार अनुगमन नियमित र प्रभावकारी बनाइने र छिमेकी मुलुकसँग भएको समझौता अनुसार नेपालले पाएको पारवहन सुविधाको अधितकम उपयोग गर्ने लक्ष्य रहेको छ। बजारमा रहेको एकाधिकार निर्मुल गरी, दुर्गममा खाद्य र नुन ढुवानीमा अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए। दुर्गममा खाद्यान्न र नुन ढुवानीका लागि अनुदान दिन ७६ करोड विनियोजन गरिएको छ।
त्यस्तै आगामी आर्थिक वर्षमा न्युनतम ३ महिनाको लागि धान्ने गरी पेट्रोलियम भण्डारण स्थल निर्माणका कार्य अघि बढाउने लक्ष्य सरकारले लिएको छ।
पूर्वमा पानीट्यांकी देखि काँकडभिट्टा हुँदै चारआलीसम्म पेट्रोलियम पाइपलाइ निर्माणको कायम अघि बढाउने योजना सरकारको छ। त्यस्तै अमलेखगन्ज देखि लोथर हुँदै चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम प्रारम्भ गरि तीन वर्षभित्र सञ्चालनमा ल्याइने सरकारले बजेटमा उल्लेख गरेको छ।
त्यस्तै आयोडिनयुक्त नुनलाई सर्वसुलभ गुणस्तरयुक्त एवंम न्यून मूल्यमा उपलब्ध गराउन नीजि क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धि बनाइने अर्थमन्त्री पौडडेल बताए।