काठमाडौं- भारतको पिथौरागढमा नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ ।
जेठ १६ गतेदेखि सञ्चालन भएको नेपाली र भारतीय सेनाबीचको संयुक्त ‘अभ्यास सूर्यकिरण—१३’ जेठ २९ गते सम्पन्न भएको हो । प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि अभ्यास गरिएको थियो ।
भारतको मिजरममा मिति २०६७ सालबाट पहिलो पटकसुरु भएको यो संयुक्त अभ्यास हाल एक÷एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गर्दछ ।
अभ्यासमा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी श्री तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज (१ सेक्सन महिलासहित) र भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महा सेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए ।
नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा गएमा मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्पmबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण—१३’ को संयुक्त रुपमा समापन गरेका हुन् ।
समापन कार्यक्रम सम्वोधनको क्रममा उनीहरुले यस्ता अभ्यासबाट दुई देशका सेनाको पेशागत ज्ञान अभिवृद्वि भई दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए । यस संयुक्त अभ्यासमा नेपाली सेना र भारतीय सेना बीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो ।
दुई देशका सेना बीच सम्पन्न सैनिक अभ्यासले सदियौंदेखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै द्विपक्षीय सकलदर्जाहरु बीचको समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको सैनिक निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४