काठमाडौं- गीतकार राजु थापाले आफ्ना रचनाहरु समेटिएको कलेक्सन गीति एल्बम 'शब्द ब्यारेक' सार्वजनिक गरेका छन् ।
गायक शिव परियारको स्वर रहेको 'पाकेर खा'को फल मीठो, काँचैमा ला'को माया मीठो' बोलको चर्चित गीतका रचनाकार थापाले आफ्नो जीवनसँग जोडिएको ब्यारेकलाई नै एल्बमको नामाकरण गरेका हुन् । भारतीय सेनामा कार्यरत थापाका लागि 'शब्द' र 'ब्यारेक' जीवनको अविच्छिन्न पाटो बनेको छ ।
गीत सिर्जनामा रमाउने थापाका लागि शब्दहरुले जुन महत्व राख्छन् त्यस्तै, महत्व उनको जीवनको अर्को पाटो ब्यारेकले पनि राख्छ । सैनिक ब्यारेकका सिपाही थापा शब्द रचनामा पनि सिपाही झै दरिलो खम्ब बनेर उभिन खोजेका छन्, गीति एल्बम 'शब्द ब्यारेक'मा । त्यसैको परिणाम स्वरुप आफ्नो गीति एल्बमको शिर्षक पनि शब्द र ब्यारेक दुई शब्दको मिलनबाट 'शब्द ब्यारेक' राखिएको गीतकार थापाको भनाइ छ ।
शब्द ब्यारेक भित्र हरि लम्साल, देव आले, कृष्णभक्त राई, बि.बि. अनुरागी र विनोद खम्बुको संगीत रहेको छ । एल्बममा समेटिएका दश वटा गीतमा स्वच्छा ठकुरी, अन्जु पन्त, देव आले, शिव परियार, कृष्णभक्त राई, गोविन्द गुरुङ, कल्पना गौतम, चन्दा देवी र राजेश थपलियाको स्वर रहेको छ ।
गीतकार थापाको 'कुवाको पानी', 'यो साल पनि बाँझै बस्यो' लगायत बोलका गीतले निक्कै चर्चा बटुलेका थिए । यस्तै, पछिल्लो समय युट्युबमा लोकप्रियता कमाउँदै गएको चलचित्र शिरफुलको 'शिरै माथि शिरफुल', बोलको गीतबाट उनले मिडिया एण्ड इन्टरटेनमेन्टले प्रदान गरेको वर्षको उत्कृष्ट गीततर्फको क्रिटिक्स अवार्ड नै हात पारेका छन् ।
यो गीत युट्युबमा सबै भन्दा धेरै पटक हेरिएको भिडियोहरुमध्ये एक हो ।
युवा निर्देशक कमल ऐक्चै मगरको निर्देशन रहेको यो चलचित्रको गीतले लोकप्रियता कमाउँदै गएपछि गीतकार थापाको चलचित्रको गीत लेखनमा पनि सुखद देखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४