विदेशमा अध्ययनका लागि अनलाइनबाट आवेदन दिएका विद्यार्थीहरूको डकुमेन्टेसनको काम गरिरहेका परामर्श व्यवसायीहरू कोरोना प्रभावितको सहयोगमा पनि जुटेका छन्।
काठमाडौं – विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएका व्यवसायीहरू कोरोना प्रभावितको सहयोगमा जुटेका छन्।
परामर्श व्यवसाय यतिबेला ठप्प भए पनि प्रक्रियामा रहेका कामहरू अनलाइन माध्यमबाट भइरहेका छन्। सरकारले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई रोकेको विदेश अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्न थालेको छ।
विद्यार्थीले एनओसी अनलाइनबाटै आवेदन गरेर लिन सक्ने पनि शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ।
योसँगै प्रक्रियामा रहेका विद्यार्थीले आवेदन दिने गरेको र अनलाइनबाटै डकुमेन्टेसनको काम भइरहेको परामर्श व्यवसायीहरू बताउँछन्।
व्यवसायीले अहिलेको समय व्यवसायमा भन्दा पनि समाजसेवा र मानवीय कर्ममा लाग्नुपर्ने भएकाले त्यसमा बढी ध्यान केन्द्रित गरेको बताएका छन।
नेपाल शैक्षिक परामर्श संघ ईक्यानले यसअघि कोभिड हेल्पडेस्ककोे स्थापना गरेर कोभिड बिरामीलाई सहयोग गर्ने काम अगाडि बढाइसकेको छ।
ईक्यानले परामर्श व्यवसायी, कर्मचारी, उनीहरूका परिवारका सदस्य, अत्यावश्यक सेवा चाहिने नागरिकको जीवन रक्षाका लागि आवश्यक आपत्कालीन सहयोग जुटाउन सबै परामर्श व्यवसायी, विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई सहयोगको लागि अपिल गरेको छ।
ईक्यानका महासचिव दीपकराज भुषालले परामर्श व्यवसायीलगायत अत्यावश्यक पर्ने सबैलाई कोभिड–१९ का कारण समस्या परेमा ईक्यानको हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गरेका छन्।
यस्तै स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) अध्यक्ष बासु नेपालले संस्थाको सामाजिक उत्तरदायित्वको भूमिकालाई निर्वाह गर्दै आफ्ना सदस्यलाई मात्र नभएर, सुरक्षाकर्मी, अग्रपंक्तिमा काम गर्दै आएका विभिन्न पेसाका व्यक्तिलाई स्वास्थ्य सामग्री वितरण गर्ने गरेको बताए। ‘फेकनले आफ्ना सदस्यहरूलाई समस्या परेमा सहयोगको लागि पहल गर्ने गरेको छ,’ उनले भने, ‘हामीले सबै सदस्यलाई कोभिड–१९ विरुद्धको खोप लगाउन पहल गर्यौं र अधिकांश सदस्यले खोप लगाउनु पनि भएको छ।’
यस्तै परामर्श व्यवसायीहरूको अर्को संस्था आइरिनले पनि कोभिड महामारीमा सहयोग जुटाइरहेको जनाएको छ।
आइरिन अध्यक्ष मनोज पराजुलीका अनुसार अहिले विद्यार्थीलाई परामर्श प्रदान गर्ने विषयमा भन्दा पनि महामारी नियन्त्रणमा सरकारलाई कसरी सहयोग गर्ने भनेर लागिपरेको बताए।
‘कोभिड फण्ड कलेक्सन गरेर हामीले सरकारद्वारा सञ्चालित राहत कोषको मार्फतबाट सहयोग गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘देशभरका परामर्श व्यवसायीलाई घरमै बसेर घरबाटै सेवा उपलब्ध गराउन आग्रह गरेका छौं। विदेश जाने तयारीमा रहेका तर विदेश जान नभएका विद्यार्थीलाई मनोशैक्षिक परामर्श पनि प्रदान गरेका छौं।’
परामर्श व्यवसायी संघका तर्फबाट मात्रै नभएर व्यवसायीले आफ्नो व्यक्तिगत तवरबाट पनि कोभिडको मारमा परेका व्यवसायी र अन्य अग्रपंक्तिमा खटिएर सेवा प्रदान गरिरहेका व्यक्तिलाई सहयोग गरेका छन्।
ग्रेस इन्टरनेसनलका एजुकेशनका सञ्चालक एन्ड्रियू पौडेलले पनि विद्यार्थी, अभिभावक, साथीभाइलगायतलाई स्वास्थ्य सामग्री सहयोग गरिरहेका बताएका छन्।
चितवन माडी नगरपालिकाको बघौडा अस्पतालमा स्वास्थ्य सामग्री वितरण गर्ने, पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गर्ने, होम आइसोलेसनमा बस्दा गर्नुपर्ने तयारीबारे सचेतना कार्यक्रम, अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको उनले बताए।
जापानलगायत विभिन्न मूलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनलाइन माध्यमबाट आफ्नो काम अघि बढाइरहेका छन्। कोभिड–१९ का कारण नेपाली विद्यार्थीको रोजाइका शैक्षिक गन्तव्यहरू गत वर्षदेखि नै अष्ट्रेलिया, न्युजिल्याड, जापानलगायत देशमा अन्तर्राष्ट्रिय उडान बन्द हुनुका साथै भौतिक उपस्थितिमा पठनपाठन बन्द भएपछि नेपालबाट उक्त देशमा विद्यार्थी अध्ययनका लागि जान पाएका छैनन्।
विदेश अध्ययनमा जान चाहने कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी पनि विदेश अध्ययनमा जानका लागि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा अन्योलमा छन्। परामर्श व्यवसायीले पनि सहज रूपमा परामर्श प्रदान गर्न सकेको अवस्था छैन।