सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गण्डकीमा अक्सिजन प्लान्ट : सरकारी योजना प्रक्रियामै गएन, निजीको यकिन छैन

सर्वसाधारणलाई कुनै विकल्प नै नदिई पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाइए पनि त्यहाँ कोभिडका बिरामीलाई भनेजस्तो सुविधा भने छैन।
 |  शुक्रबार, जेठ १४, २०७८
nespernesper

विभु भुसाल

विभु भुसाल

शुक्रबार, जेठ १४, २०७८

पोखरा - गण्डकी प्रदेशकै ठूलो, सुविधासम्पन्न र सस्तो मानिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई जेठ ११ गतेदेखि कोभिड डेडिकेटेड अस्पतालको रूपमा परिणत गरियो। अस्पतालका निर्देशकक डा. भरतबहादुर खत्रीले अस्पतालका सबै बेड र वार्डहरू क्रमशः खाली गर्दै पूर्णरूपमा कोभिडका बिरामी मात्रै राख्ने बताए। 

triton college

सर्वसाधारणलाई कुनै विकल्प नै नदिई कोभिड डेडिकेटेड अस्पताल बनाइए पनि त्यहाँ कोभिडका बिरामीलाई भनेजस्तो सुविधा भने छैन। अहिले अस्पतालका सबै वार्ड र बेडमा कोभिडका बिरामी मात्रै राख्ने हो भने पनि सबैजसोलाई अक्सिजन आवश्यक परे पाउने अवस्था छैन। 

हाईफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढेपछि अक्सिजनको माग बढेसँगै अभाव पनि सुरू भएकाे हाे। अस्पतालका अनुसार अहिले अस्पतालका कोभिड बेडमा उपचार गराइरहेका ७० देखि ८० जना बिरामीका लागि दैनिक ३६० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ। 

अस्पतालका पूरै वार्ड र बेडमा कोभिडका बिरामी राख्दा दैनिक १८ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने अस्पतालको अनुमान छ। तर, पोखरामा अक्सिजन उत्पादन गर्ने दुई कम्पनीको दैनिक १२ सय सिलिन्डरभन्दा उत्पादन क्षमता छैन। 

गण्डकी प्रदेशमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा सरकारी तवरबाट क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न विनियोजन गरिएको बजेटको प्रसंग उठेको छ। 

Metro Mart
vianet

सरकारी निकाय सहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन एकाइ पोखराले ठेकेदार कम्पनी विकेइ/पिके/रौताहा जेभीसँग अस्पतालको भवन प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने र त्यही भवनमा अक्सिजन प्लान्ट राख्ने सम्झौता गरेको २०७७ असारको अन्तिम सातामा सम्झौता गरेको थियो। 

अस्पतालमा अक्सिजन प्लान्ट समयमै स्थापना नहुनुमा अस्पतालमा कार्यरत र अवकाशप्राप्त चिकित्सकहरूलाई जिम्मेवार ठहर्‍याइएको छ। 

मूल्य अभिवृद्धि करबाहेक ४५ करोडमा भएको उक्त सम्झौतामा उक्त योजना दुई वर्षभित्र सक्नुपर्ने उल्लेख छ। तर, अहिलेसम्म कुनै काम हुन सकेको छैन। 

ठेकेदार कम्पनी रौताहाका सञ्चालक धर्मराज दाहालले भवनको प्रवलीकरण पनि अक्सिजन प्लान्ट राख्ने भनिएकाले त्यतातर्फ ध्यान नदिइएको बताए। 

‘सम्झौता भयो, भवन प्रवलीकरण पछि प्लान्ट राख्ने सहमति भयो, यत्तिकैमा कोरोनाको लहर पनि सकियो, अनि त्यस्तै त्यस्तै भयो,’ उनले नेपाल समयसँग भने। 

दाहालले सम्झौतामा जे सुकै भए पनि मानवीयता हिसाबले अब पहिलो प्राथमिकतामा अक्सिजन प्लान्ट नै रहेको बताए। यसका लागि आफूले प्रक्रिया सुुरू गर्न लागेको जानकारी उनले दिए। ‘धेरै सरकारी कामहरू मिलाउँदा समय लाग्ने त देखियो, एलसी खोल्नुपर्ने बैंकहरू पनि बन्द छन्, तै पनि प्रक्रिया सुरु गर्न लागिएको छ,’ उनले भने। 

यता संघीय योजना कार्यान्वयन एकाइका इन्जिनियर झपट थापाले भने सबै जिम्मा ठेकेदार कम्पनीलाई दिइएको हुनाले सबै जिम्मेवारी उसैले लिनुपर्ने बताए। 

‘प्रवलीकरणको काम सरेर प्लान्ट स्थापना गर्दा लामै समय लाग्ने देखियो,’ उनले भने, ‘प्लान्टका सामान डेनमार्कबाट ल्याउनुपर्ने भएकाले पनि यो स्थापना हुन समय लाग्ने भयो।’

तर, अस्पतालमा अक्सिजन प्लान्ट समयमै स्थापना नहुनुमा अस्पतालमा कार्यरत र अवकाशप्राप्त चिकित्सकहरूलाई जिम्मेवार ठहर्‍याइएको छ। 

क्षेत्रीय अस्पतालमा कार्यरत १२ जना वरिष्ठ चिकित्सकको पोखरा अक्सिजन ग्यास उद्योगमा लगानी भएका कारण अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा आलटाल गरिएको आरोप उनीहरूमाथि छ। 

यसरी लगानी गर्नेहरूमा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, डिन लगायतका डाक्टरहरू छन्। 

अस्पतालमा प्लान्ट स्थापना गर्दा आफूले लगानी गरेको उद्योगको व्यापारमा कमी आउने त्रासले उनीहरूले नै चासो नदेखाएको अस्पतालका कर्मचारीहरूको आरोप छ। किनकि क्षेत्रीय अस्पताल यो अक्सिजन कम्पनीको सबैभन्दा धेरै व्यापार दिने ग्राहक हो। 

कोरोनाको दोस्रो भेरियन्टबाट सिकिस्त बिरामीले छुट्टाइएका बेड भरिने साथै अलिअलि जोहो गरेको अक्सिजनले पनि नपुग्ने अवस्था आएपछि यो योजनाको बारेमा सोधखोज भएको हो। 

योजनाका बारेमा बुझ्दै जाँदा सम्पन्न हुन करिब एक वर्ष लाग्ने देखिएपछि पोखराको एउटा व्यापारिक घरानाले अस्पतालमा पोखरामा अक्सिजन प्लान्ट निर्माण गर्ने पहल लिन सुरु गरेको छ। 

सरकारले प्रवलीकरण र प्लान्ट स्थापना गर्न सम्झौता गरेको ठेकेदार कम्पनी रौताहाका सञ्चालक धर्मराज दाहालको भनाइ र आशयअनुसार क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया सुरु भएकै छैन।

बतास कम्पनीको सामाजिक उत्तरदायित्व निभाउने संस्था बतास फाउण्डेसन आफैंले २५ लाख रूपैयाँ बीउ पुँजी राखेर १५ दिन अघि सुरू गरेको यो पहलकदमीअन्तर्गत अहिलेसम्म साढे दुई करोडभन्दा बढी रूपैयाँ संकलन भइसकेको तथा चार करोडभन्दा बढी रूपैयाँको प्रतिबद्धता भइसकेको ‘पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट निर्माण तदर्थ समिति’ का कोषाध्यक्ष तथा प्रवक्ता नारायणप्रसाद पौडेलले नेपाल समयलाई जानकारी दिए। 

यो समितिमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई संरक्षक राखिएको छ भने बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास अध्यक्ष छन्। 

अभियानलाई आफैंले पनि २५ लाख रूपैयाँको योगदान गरेका पौडेलले अक्सिजन प्लान्ट निर्माण हुन पाँच करोड रूपैयाँ लाग्ने र बाँकी रकमले अस्पतालमा आईसीयू थप्ने योजना सुनाए।

१५ दिन अघि सुरु गरिएको यो अभियानमा थप प्रगति के भइरहेको छ त ? प्रवक्ता पौडेल भन्छन्, ‘फ्रान्सबाट प्लान्टको सामान अर्डर गरिसकेका छौं, हामीलगायत अन्य १० वटा संस्थाको पनि प्लान्टको सामान रहेछ, अब सामान आएपछि अस्पतालको काम सुरु हुन्छ।’

उनले एअर कार्गोमार्फत् सामान ल्याउन लागिएको जानकारी दिए। जसका लागि ६५ हजार युरो भाडा तिरिएको उनको भनाइ छ। 

‘अब कति समयमा बन्छ भन्ने कुरा सामान नेपाल झरेपछि थाहा हुन्छ,’ उनले भने। उनका अनुसार सामान आएको एक महिनामा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुन्छ। 

समितिले गण्डकी प्रदेशका अस्पतालमा हुने माग धान्ने गरी प्लान्ट निर्माण गरिने दाबी गरेको छ। पौडेलका अनुसार क्षेत्रीय अस्पतालबाट उत्पादन हुने अक्सिजन प्रदेशका सबै अस्पतालमा पुर्‍याउन सकियोस् र यसलाई प्रदेशकै सम्पत्तिको रूपमा लिइओस् भन्ने चाहना छ। 

तर, उनले पनि प्लान्टको सामान कहिले आइपुग्ने र कहिले सुरु हुने भन्ने बारेमा यकिन बताउन सकेनन्। उनले यति मात्रै भने कि, ‘सामान कहिले आउँछ, त्यसैमा भर पर्छ।’ तर, अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले भने, समितिले बनाउने अक्सिजन प्लान्टको लागि ठाउँ निश्चित गरिदिएको बताएका छन्। 

सरकारले प्रवलीकरण र प्लान्ट स्थापना गर्न सम्झौता गरेको ठेकेदार कम्पनी रौताहाका सञ्चालक धर्मराज दाहालको भनाइ र आशयअनुसार क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया सुरु भएकै छैन। उनले कोरोना र लकडाउनको कारण देखाएर प्रक्रिया नै सुरु नगरिएको बताएका छन्। 

यता व्यापारिक घरानामार्फत् अक्सिजन प्लान्ट स्थापना गर्ने समितिका प्रवक्ताले पनि कहिले सामान आउँछ र कहिले प्लान्ट सम्पन्न हुन्छ भन्नेबारे कुनै ठोस जानकारी दिन सकेनन्। उनीहरूका कुरा अनुसार क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट तत्काल बन्ने कुनै संकेत छैन। 

जबकि गण्डकी प्रदेशमा कोरोना संक्रमणको ग्राफ दैनिक बढिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिएको जानकारीअनुसार गण्डकी प्रदेशमा १७ सय ३३ जना नयाँ सँक्रमित थपिएका छन्। यसैगरी कोरोनाकै कारण १७ जनाले ज्यान गुमाएका छन्। 

गण्डकीमा तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको अवस्थामा प्रदेशकै आशा र भरोसाको केन्द्र मानिएको क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन अझै समय लाग्नु भनेको यहाँका नागरिकको स्वास्थ्यप्रति सरोकारवाला निकायको गैरजिम्मेवारीपना भएको टिप्पणी गर्न थालिएको छ। 

तथ्यांक अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्की र बागलुङ्मा संक्रमित थपिएका छन्। यो क्रम विस्तारै अन्य जिल्लामा पनि बढिरहेको छ। 

अप्रत्यासित ढंगले संक्रमण बढ्दै गए पनि स्थानीय जनप्रतिनिधिले हात उठाउन मात्रै बाँकी छ। गोखराको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले यसै गतिमा कोरोना संक्रमण फैलिने हो भने स्थानीय सरकारले केही गर्न नसक्ने चेतावनी दिइसकेका छन्। 

बारपाकमा अस्वाभाविक रूपमा कोरोना संक्रमण बढ्न थालेपछि पोखराको सामाजिक विकास मन्त्रालय र गोर्खा अस्पतालबाट चिकित्सक तथा प्राविधिकको टोली आज शुक्रबार त्यसतर्फ जाँदैछ। 

यसैगरी स्याङ्जाको वालिङ् नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले पनि गाउँगाउँमा कोरोना संक्रमण भुसको आगो झैं फैलिएको बताएका छन्। 

उनले गाउँहरूमा कोरोना परीक्षण गर्नुभन्दा सीधै खोपको व्यवस्था गर्न सरकारसँग माग पनि गरिरहेका छन्। यही संघीय सरकारले खोप दिन नसकेमा आफैंले खोप किनेर नगरवासीमा लगाउने उनले पत्र पठाइसकेका छन्। 

गण्डकीमा तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको अवस्थामा प्रदेशकै आशा र भरोसाको केन्द्र मानिएको क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन अझै समय लाग्नु भनेको यहाँका नागरिकको स्वास्थ्यप्रति सरोकारवाला निकायको गैरजिम्मेवारीपना भएको टिप्पणी गर्न थालिएको छ। 

प्रदेशका अन्य जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिसक्दा पनि राजधानी सहरमा रहेको ठूलो अस्पतालमा अझै ६ महिनादेखि एक वर्षसम्म अक्सिजन प्लान्टका लागि प्रतीक्षा गर्नु भनेको यहाँको व्यवस्थापनको लाचारी र असफलता भन्दा केही नभएको नागरिकहरूले गुनासो गर्न थालेका छन्।

प्रकाशित: May 28, 2021| 05:31 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्