सोमबार, असार २९, २०८३

कांग्रेसमा यसरी हुँदैछ गुटहरुको 'फ्युजन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कांग्रेसको भातृ संस्था नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशन उद्घाटन सत्रमा भरखरै उपसभापति नियुक्त भएका विमलेन्द्र निधिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अनौपचारिक संवादमा भने, 'एकताका लागि मिलेर जाऔं ।' 

सिटौलाले जवाफ फर्काए, 'पार्टीभित्रै न्याय छैन, कसरी हुन्छ एकता ? तपाईंले मलाई उपदेश दिने हो र ?' उनीहरूछेउमै रहेका देउवाले सिटौलालाई प्रश्न गरे, 'मेरो विरोध गरेर कम्युनिस्टसँग लड्न सकिन्छ ?'

ट्रेड युनियन कांग्रेस सभापति खिलानाथ दाहालभन्दा पल्लो कुर्सीमा बसेका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन जनाबीच भइरहेको संवादमा चासो दिए । त्यतिबेला उनको सम्बोधनको पालो आइसकेको थियो । तर, उनले अब सच्चिएर जानुपर्ने औंल्याउँदै पोडियमतिर अगाडि बढे । 

पोडियममा उभिएर पौडेलले त्यसअघिको गन्थनलाई जोड्न खोजे, 'साथीहरू सुधारको कुरा गर्दा विरोध गरेको ठान्छन्, यसरी कसरी चल्छ ?' चार जनाबीच चलेको गन्थनको अन्तर्य भने सिटौलाले कार्यक्रमलाई सम्बोधनका क्रममा दिएको अभिव्यक्ति थियो । 

उनको अभिव्यक्तिबाट देउवा रातोपिरो देखिएका थिए । सिटौला सम्बोधन सकेर आसनमा फर्किनासाथ आफ्नो विरोध गरेको बताउँदै देउवा पड्किन थालिहाले, जुन अघिल्लो सिटमा बसेका कार्यकर्ताले सुनिने गरी थियो । 

पछिल्लो समय सभापति देउवाविरुद्ध बढेको असन्तुष्टी र पौडेलसहितका नेताहरूले थालेको मोर्चाबन्दीको परिणाम थियो, उक्त दृष्य । एक समयमा गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा रहेका पौडेल, सिटौला र अर्जुननरसिंह केसी उनको निधनपछि टाढा पुगेका थिए । अहिले तीनै नेता देउवाविरुद्धको मोर्चाबन्दीमा एकठाउँमा आएका छन् । र, मातृ पार्टीबाट विभाजित कांग्रेस प्रजातान्त्रिकमा गएर एकतापछि तत्कालीन संस्थापन पक्ष (कोइराला) निकट बनेका पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि अहिले देउवाविरुद्धको उक्त मोर्चामा उभिएका छन् । 

खासगरी, २८ जेठमा पुरानोबानेश्वरको एक पार्टी प्यालेसमा चारै नेता भेला भएर मोर्चाबन्दीको घोषणा गरेपछि सभापति देउवा आक्रोसित बनेका छन् । उनको त्यो आक्रोस भेट्नासाथ झगडै गर्ने तहमा देखिन थालेको छ । 

तीन प्रभावशाली युवा नेताहरू नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलले पनि पौडेल, सिंह, सिटौला र केसीलाई साथ दिएका छन् । भित्रभित्रै आफूविरुद्ध दह्रै मोर्चाबन्दी तयार भइसकेको थाहा पाएका देउवा तिल्मिलाएको अवस्था देखिन थालेका छन् । 
 
कांग्रेसभित्र देउवा, पौडेल-सिंह-सिटौला-केसी र कोइराला परिवारका तीन वटा गुटहरू तयार हुँदै ।

यसरी शुरु भयो मोर्चाबन्दी

देउवाविरुद्ध शक्ति सञ्चय गर्न केसीले सिटौलासँग सहकार्यको हात बढाए । जबकि, पार्टीको १३औं महाधिवेशनमा उनी देउवाकै प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । पार्टी सभापति देउवाले गत प्रतिनिधि/प्रदेश सभा निर्वाचनको समानुपातिक सूची नदेखाएपछि उनी चिढिएका हुन् । 

त्यसैले अहिले पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउन केसीले नै सेतुको भूमिका निर्वाह गरेका हुन् । केसीकै पहल र उपस्थितिमा पौडेल र सिटौलाबीच पौडेलको बोहराटारस्थित निवासमा पटक-पटक गोप्य बैठक भएको थियो, मोर्चाबन्दीका लागि । 

पौडेल र सिटौला नजिकिएको थाहा पाएका देउवाले पूर्वरक्षामन्त्री तथा सांसद भीमसेनदास प्रधानमार्फत् सिटौलालाई फकाउने प्रयास पनि नगरेका होइनन् । प्रधान सिटौला निकटस्थ नेता हुन् । सिटौलालाई आफूतिर तान्न सकिने मनोविज्ञानकै कारण उनको समूहका शिवप्रसाद हुमागाईं र पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थमान डंगोललाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनित पनि गरे । 

तर, मोर्चाबन्दी यति अगाडि बढिसकेको थियो कि देउवाका सबै प्रयास निरर्थक सावित भए । 

भरतपुर महानगरपालिकाको निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणुलाई समर्थन गर्ने हस्तक्षेपकारी निर्णयका कारण सिटौला देउवासँग चिढिएका हुन् । सिटौलाले युवा नेता दिनेश कोइरालालाई मेयरको टिकट दिलाएका थिए । तर, देउवाले एकल निर्णयमार्फत् रेणुलाई समर्थन गराए, कांग्रेसबाट । 

अझै पनि सिटौलालाई फकाउने प्रयास छाडेका छैनन्, देउवाले । उपसभापति निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतलाई सिटौलाको निवासमै पठाएर मिलेर अगाडि बढ्न आग्रह गर्न छाडेका छैनन् । स्रोतका अनुसार सिटौलाले उनीहरूलाई 'आफ्नो घर आगो लाग्दा तमासा हेरेर बस्ने प्रवृतिको म होइन' भन्ने जवाफ दिएर फर्काउने गरेका छन् । 

पौडेल-सिटौला: कहिले नजिक कहिले टाढा

फागुन ०७२ मा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा पौडेल र सिटौला दुवै सभापतिका प्रत्यासी थिए । दुवै देउवासँग पराजित भए । त्यतिबेला दुवै नेता एकअर्काको अस्तित्व नै नस्वीकार्ने मनस्थितिमा देखिएका थिए । पहिलो चरणको निर्वाचनबाट बाहिरिएपछि सिटौलाले पौडेल नभई देउवालाई समर्थन गरे । सोही कारण पौडेल करिब पाँच सय मतान्तरले पराजित भएका थिए । 

तीन वटै तहको निर्वाचनका क्रममा सिटौला देउवासँग चिढिए । पौडेल त सधैं प्रतिपक्षमै थिए । स्थानीय निर्वाचनमा संसदीय समिति गठन नगरी एकलौटी ढंगबाट उम्मेदवार छनोट गरेकामा सिटौला देउवासँग रिसाएका हुन् । प्रतिनिधि/प्रदेश सभा निर्वाचनमा संसदीय समिति गठन गरेर पनि एकलौटी निर्णय गर्न नछाडेकाले सिटौला अझ चिढिए । 

प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीका उम्मेदवारको नामावली चयन व्यक्तिगत इच्छाको आधारमा गरिएको बताउँदै सिटौलाले देउवासँग गम्भीर असहमति जनाएका थिए । उनकै जस्तो असन्तुष्टी पौडेलको पनि थियो । 

तथापि, उनीहरू एक ठाउँमा थिएनन्, अलग-अलग ढंगले असन्तुष्टी व्यक्त गरिरहेका थिए । त्यही समानुपातिक बन्द सूचीका कारण केसी पनि देउवासँग आक्रोसित बने । र, देउवाविरुद्धको मोर्चाबन्दीमा साँघुको काम गर्न आइपुगे । 

भदौ ०७३ मा सम्पन्न नेविसंघको ११औं र नेपाल महिला संघको तेस्रो महाधिवेशनमा देउवा पक्षले सिटौला समूहकै समर्थनमा बहुमत ल्याएको थियो । त्यतिबेला पौडेल समूह कमजोर बनेको थियो । 

पार्टीमा आफ्नो कमजोर अवस्था देखेका पौडेल तरुण दलको महाधिवेशनमा भने नेतृत्व चयनमा सर्वसम्मतिको प्रक्रियामा जान तयार भए । सोही कारण तरुण दलको अध्यक्ष देउवा समूहका जितजंग बस्नेत, उपसभापतिमा सिटौला समूहका उत्तम चापागाईं र महामन्त्री पौडेल समूहका भूपेन्द्रजंग शाही चयन भएका थिए । 

सिटौला र पौडेलको मोर्चाबन्दीका कारण गत चैतमा भएको नेपाल निजामति कर्मचारी युनियन र नेपाल शिक्षक संघको निर्वाचनमा सभापति देउवा निकटका उम्मेदवार पराजित भए । कर्मचारी युनियनमा पौडेल-सिटौलाका साझा उम्मेदवार गोपालप्रसाद पोखरेल र शिक्षक युनियनमा राजेन्द्रराज पौडेल नेतृत्वका बहुमत सदस्य विजयी भए । 

के गर्दैछन् कोइरालाहरू ?

तीन वटै तहको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएपछि मुलुककै पुरानो पार्टीको भविष्यबारे चौतर्फी चासो व्यक्त भइरहेको थियो । सोही क्रममा २ माघ ०७४ मा कोइराला परिवारका तीन नेता मण्डिखाटारस्थित स्वर्गीय गिरिजाप्रसाद पुत्री सुजाताको निवासमा भेला भएर 'लन्च मिटिङ' गरेको तस्बिर सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल बन्यो । 

उक्त भेटमा सुजातासहित कांग्रेस महामन्त्री डा. शशांक र डा. शेखर कोइराला उपस्थित थिए । त्यसअघि पहिलोपटक उनीहरूले टोखास्थित डा. शशांकको निवासमा भेला भएर लन्च मिटिङ गरेका थिए, ४ साउन ०७४ मा । 

उनीहरूलाई नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूले महाराजगञ्जस्थित डा. शशांकको निवासमा एउटै मञ्चमा पनि राखे, भदौ ०७३ मा । कार्यक्रमलाई 'तीन कोइरालाको आयोजना' बताइएको थियो । 

खासमा, तीनै नेता अहिले वरिष्ठ नेता पौडेलसँग नजिक छैनन् । जबकि, डा. शशांकले पौडेलकै समूहबाट महामन्त्री जितेका थिए । 

२१ फागुन ०७४ मा सम्पन्न संसदीय दलको निर्वाचनमा पौडेल समूहका प्रकाशमान सिंहलाई मत नहाली देउवातिर लहसिएका थिए, डा. शशांक । त्यसपछि पौडेलसँग चिसिएको सम्बन्ध झनै टाढिँदै गएको छ । 

तीन कोइरालाबीचका माथिका जमघटलाई पारिवारिक संज्ञा दिइने गरे पनि खासमा उनीहरू आगामी महाधिवेशनमा विरासतको राजनीति फर्काउने अभ्यासका रहेको कांग्रेसजनले विश्लेषण गर्ने गरेको पाइन्छ । तर, डा. शशांकले तीनै तहका निर्वाचनमा पराजयका कारण आलोचना खेप्दै आएका सभापति देउवाको बचाउ गर्दै आएका छन् । 

त्यसैले उनलाई अहिले कांग्रेसजनले तत्कालीन संस्थापन पक्षबाट जितेर त्यसपछिको संस्थापनतिर लहसिएका नेताका रूपमा विश्लेषण गर्ने गरिएको छ । डा. शेखरले भने सभापति देउवाको खरो आलोचना गर्दै आएका छन् । सुजाता विरोध र समर्थनको दौडमा देखिन्नन् । 

सभापति देउवाको एउटा समूह, पौडेल-सिंह-सिटौला-केसीको अर्को समूह र कोइराला परिवारको अर्को समूह । कांग्रेसमा निकट भविष्यमै त्रिपक्षीय प्रतिस्पर्धाको माहोल तयार हुँदै गरेको विश्लेषकहरूको ठहर छ । 

स्वर्गीय खुमबहादुर खड्का निकटस्थ कांग्रेस नेता/कार्यकर्ता भने अहिले सभापति देउवाको निकट पुगेका छन् । उनीहरूको नेतृत्व महामन्त्री पूर्णबहादुर खड्काले गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।