काठमाडौं– देशका अधिकांश जिल्लामा निषेध आदेश लागू भए पनि विद्युत् खपत भने बढेको छ। हाल नेपालमा २ करोड ५० लाख युनिटमाथि विद्युत् खपत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। गत वर्ष देशैभर भएको लकडाउनको समयमा विद्युत् खपत दुई करोड युनिटभन्दा कम थियो।
गत सोमबार (जेठ १०) सम्मको तथ्यांक अनुसार देशभर दैनिक दुई करोड ६५ लाख युनिट विद्युत् माग रहेको छ। नेपालमा नै उत्पादन भएको विद्युत्ले माग धान्न नसकेका कारण अझै पनि नेपालमा एक करोड २० लाख युनिट विद्युत् आयात भारतबाट गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार गरेको कार्यक्रममा जानकारी दिए।
हाल प्राधिकरणका आयोजनाहरुबाट ७७ लाख युनिट ऊर्जा उत्पादन भइरहेको छ भने निजी क्षेत्रका आयोजनाबाट ६८ लाख युनिट उत्पादन भइरहेको छ। पछिल्लो दुई हप्तामा नै विद्युत्को माग झन्डै दुई सय मेगावाटले बढेको शाक्यले जानकारी दिए। उनले भने हाल विद्युत्को माग १३०२ मेगावाट पुगेको छ। जेठ १ गतेको तथ्यांक हेर्ने हे भनेपनि नेपालमा जम्मा ११ सय मेगावाटको हाराहारीमा रहेको थियो।
पछिल्लो समयमा कोरोनाका कारण मानिसहरुको मृत्युदर उच्च हुन थालेपछि देशैभर अग्सिजन प्लान्ट राख्ने काम भइरहेका कारण पनि विद्युत्को माग उच्च भएको हुनसक्ने प्राधिकरणको अनुमान रहेको छ। त्यसैगरी औद्योगिक क्षेत्रमा विद्युत्को खपत तुलनात्मक रुपमा नघटेको, गर्मी बढ्दा घरायसी खपत बढी भएका कारण पनि विद्युत्को खपत बढी भएको प्राधिकरणले जनाएको छ।