कठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका सर्वोच्च नेताबीच भएको ऐतिहासिक वार्तालाई मुख्य समाचार बनाएका छन् ।
यो विषयलाई आजको नागरिक दैनिकले 'अमेरिका-उत्तर कोरिया सम्बन्ध नयाँ युगमा' शीर्षक दिएर छापेको छ भने कान्तिपुर दैनिकले 'ट्रम-किम शिखर वार्ताः परमाणु निःशस्त्रीकरणको वाचा' शीर्षकमा खबर लेखेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले पनि डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भएको भेटवार्तालाई नै प्रमुख समाचार बनाउँदै 'विश्व शान्तिमा ऐतिहासिक कदम' शीर्षक दिएर छापेको छ । नयाँ पत्रिका, राजधानी दैनिकले पनि यो विषयलाई महत्वका साथ छापेका छन् ।
यो विषय बाहेक प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएको, सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियारले छानबिन सुरु गरेको, उपभोक्ता महँगीको मारमा रहेको, खाने दूधमा युरिया र नुन समेत भेटिएको, ४१ वटा मौलिक हकका एउटै मस्यौदा दर्ता नभएको लगायतका विषयलाई पनि आजका पत्रपत्रिकाले विशेष स्थान दिएका छन् ।
परमाणु निःशस्त्रीकरणको वाचा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरउाली नेता किम जोङ–उन कोरियाली द्वीपलाई पूर्ण रुपमा परमाणु अस्त्रविहीन बनाउन सहमत भएका छन् ।
दुई नेताबीच मंगलबार भएको बहुप्रतिक्षित शिखर वार्तामा अमेरिकाले आफ्नो पुरानो शत्रु राष्ट्र उत्तर कोरियाको सुरक्षाका लागि प्रतिवद्धता जनाएपछि यस्तो सहमती भएको हो । दुई नेताबीच चार बुँदे सहमतिपत्रमा हप्ताक्षर भएको छ ।
सिंगापुरमा भएको शिखर वार्तापछि भएको उक्त सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्धको वाचा गरेको छ । सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु निशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने सहमतिमा दुबै नेताबीच सहमति भएको आजका दैनिक अखबारहरुले लेखेका छन् ।
सुनकाण्डमा संलग्न प्रहरी अख्तियारको छानबिनमा
साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो ।
आयोगका प्रवक्ता रामेश्वर दंगालले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपीद्वय दिवेश लोहनी र श्याम खत्री, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन सुरु भएको बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर अनुसार उनीहरूविरुद्ध आयोगमा विभिन्न व्यक्तिबाट उजुरी दर्ता हुनुका साथै सरकारी वकिलको कार्यालय मोरङबाट छानबिन गर्न आग्रह गरेको अख्तियारले जनाएको छ । सोमबारदेखि नै उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ । अख्तियारले उनीहरूविरुद्ध अकुत सम्पत्तिको छानबिन गर्दा गृह मन्त्रालयको अनुसन्धानमा कुनै असर नपर्ने जनाएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उपे्रती गोरेसहित तीनजनाविरुद्ध अनुसन्धान थालेको छ । अभियुक्तहरू चुडामणि उप्रेती, छिरिङ वांगेल र भुजुङ गुरुङविरुद्ध गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन थालेको हो । छानबिनका क्रममा गृह मन्त्रालयको अनुसन्धान प्रतिवेदनलाई समेत आधार मान्ने विभागले जनाएको छ ।
उपभोक्तालाई महँगीको भारी
सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बाहनामा ब्यापारीले दैनिक खाद्यवस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।
आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दायरा बढाएपछि व्यापारीले दाल, चामल, खाने तेल। तरकारीको भाउ बढाउँदा उपभोक्ताको भान्सा महँगिएको हो ।
नागरिक दैनिकमा प्रकाशित खबर अनुसार दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि न्यून आम्दानी हुने, ज्यालादारी गरेर घरव्यवहार चलाउने, विद्यार्थी बढी मर्कामा परेका छन् । व्यापारीले स्टक खाद्यवस्तु पनि मूल्य बढाएर बेच्न थालेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४