सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल र सिटौलालाई देउवाको जवाफ- कांग्रेसमा बल्ल लोकतन्त्र आएछ

पौडेल र सिटौलालाई देउवाको जवाफ- कांग्रेसमा बल्ल लोकतन्त्र आएछ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– कांग्रेस सभापति शेरबहाुदर देउवाले कांग्रेसमा बल्ल लोकतन्त्र आएको बताउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलामाथि कटाक्ष गरेका छन् । 

ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले भने, ‘हिजो गिरिजाप्रसाद र सुशील कोइरालासँग चुइँक्क बोल्न नसक्नेहरूले मलाई गाली गर्न पाएका छन् । कांग्रेसभित्र त बल्ल लोकतन्त्र आएछ ।’

२८ जेठमा पौडेल र सिटौलासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वसह–महामन्त्री अर्जुननरसिंह केसीले देउवाविरुद्ध मोर्चाबन्दी घोषणा गरेका थिए । त्यसक्रममा उनीहरूले सभापति देउवाले ‘मालिकको चाकडी बजाएर पार्टी बर्बाद बनाएको’ आरोप लगाएका थिए । 

‘हिजो गिरिजाप्रसाद र सुशील कोइरालासँग चुइँक्क बोल्न नसक्नेहरूले मलाई गाली गर्न पाएका छन्’


देउवाले उनीहरूलाई जवाफ दिए, ‘कम्युनिस्टहरूको आलोचना गर्न नसक्नेहरूले मलाई त जति गाली गरे पनि भइहाल्छ नि ।’ 

आफूलाई मन पर्दा सहमति र मन नपर्दा विधान खोजेको बताउँदै देउवाले भने, ‘पार्टीमा एकता कि सहमतिबाट कि विधानबाट हुनु पर्छ रे, कहीं यस्तो हुन्छ ? दुई वटा एकै पटक हुन्छ ?’ आफ्नो विरोध गरेर कम्युनिस्टको चुनौतीसँग लड्न नसकिने उनको जिकिर थियो । 

मलेसियामा ९२ वर्षका महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बनेको प्रसंग कोट्याए । अनि थपे, ‘म दुई पटक पनि पार्टी सभापति भएको छैन । मेरो उमेर पनि महाथिरजति भएको छैन ।’ 

सम्बोधनका क्रममा देउवाले प्रधानमन्त्री केपी ओलीले जनकपुरमा भारतीय समकक्षी नरेन्द्र मोदीको स्वागतका क्रममा लगाएको लुगाको प्रसंग कोट्याए । र, भने, ‘दूतावासले ओलीजीको लुगाको नाप लिएछ । त्यही लुगा पछि पठाइदिएछ र उहाँ मोदीजीको स्वागतमा जनकपुर पुग्नुभएछ ।’

प्रधानमन्त्री ओलीले भन्ने गरेको समृद्धिविरुद्ध पनि खनिए, देउवा । भने, ‘महँगी बढेको बढ्यै छ, समृद्धि भनेको भन्यै छ ।’ 

अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको जिम्मा विश्व बैंकलाई राष्ट्रघात देख्ने कम्युनिस्टहरूले भारतलाई सुम्पिँदा भने राष्ट्रवाद ठहर गरेको बताउँदै देउवाले आश्चर्य व्यक्त गरे । ‘यो लम्पसारवाद नभए के हो त ?’ उनले प्रश्न गरे । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।