सोमबार, वैशाख ८, २०८२

ग्रामीण क्षेत्रमा बढ्यो संक्रमण, डाक्टर भन्छन्– सिकिस्त भएपछि आउँदा बचाउन गाह्रो भयो

काठमाडौं उपत्यकामा मात्र नभएर देशभर नै गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
 |  मंगलबार, जेठ ११, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, जेठ ११, २०७८

vianetvianet

काठमाडौं- कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। काठमाडौं उपत्यकामा मात्र नभएर देशभर नै गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

triton college

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही जिल्लामा संक्रमितको संख्यामा केही कमी आए पनि अन्य प्रदेशमा संक्रमण बढिरहेको छ। प्रदेश २ मा यो साता १०५.५ प्रतिशतले संक्रमण वृद्धि भएको छ। 

उपत्यकाका अस्पतालमा पछिल्लो एकसाता यता बिरामीको चाप घट्ने संकेत देखिए पनि सिकिस्त बिरामीको संख्या बढ्दै गएको पाइएको छ। अस्पतालमा डिस्चार्ज हुने बिरामीको संख्या बढीरहे पनि आईसीयू र भेन्टिलेटर चाहिने बिरामीको चाप भने घट्न नसकेको अस्पतालहरूले बताइरहेका छन्। उपत्यकाका आईसीयू र भेन्टिलेटर अझै पनि जटिल खालका बिरामीले भरिएका छन्। 

सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने सिकिस्त अवस्थामा आईसीयू तथा भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या १ हजार ६९७ रहेको छ।

यो आईसीयू तथा भेन्टिलेटरमा उपचारतहरूको संख्या मात्रै हो। तर, अस्पतलामा आईसीयू तथा भेन्टिलेटर चाहिने बिरामी धेरै छन्। शुक्रराज टपिकल तथा सरुवारोग अस्पतालका निर्देशक सागर राजभण्डारीले अस्पतालमा आईसीयू नपाएर धेरै बिरामी छटपटाइरहेको बताए।

National life insurance

डा. भण्डारीका अनुसार गाउँबाट सिरियस भएका बिरामी आउन थालेका छन्। 'हेलिकप्टर चार्टर गरेर बिरामी आउँछन्, तर अस्पताल आइपुग्दासम्म उनीहरूको अवस्था निकै गम्भीर बनिसकेको हुन्छ, जसले गर्दा बचाउनै कठिन परेको छ,’ उनले भने।  उनले अस्पतालमा धादिङ, काभ्रे, सर्लाही, गोरखालगायत जिल्लाबाट बिरामी आउन थालेका उनले बताए। आएका बिरामी आएका सिकिस्त भएर आउने गरेको उनले बताए।

त्रिवि शिक्षण अस्तालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि गाउँबाट आउने बिरामीको संख्या बढ्दै गएको बताउँछन्। अस्पतालमा हाल ५० जनाभन्दा धेरै संक्रमित आईसीयूमा उपचाररत रहेको र उनीहरू सबैको अवस्था गम्भीर रहेको उनले बताए।

डा. दास भन्छन्, ‘कुनै दीर्घरोग नभएका व्यक्ति सिकिस्त अस्थामा भर्ना भइरहेका छन्। दुई साता अगाडिसम्म अक्सिजन दुई, तीन लिटर चाहिने बिरामी बढी आउने गरेका थिए। तर, अहिले अस्पताल आइपुग्दा नै उनीहरूलाई प्रतिमिनेट १० लिटर चाहिने बिरामी छन्। अस्पताल आइपुग्दा नै उनीहरूलाई आईसीयू तथा  भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ, तर अस्पताल पुग्नेवित्तिकै उनीहरूले भेन्टिलेटर पाउन सम्भव हुँदैन।’

अहिले कोरोना संक्रमितको अवस्था चाडै गम्भीर हुने पाइएको उनले बताए। ‘आज एक लिटर अक्सिजन चाहिएको बिरामीलाई भोली नै १० लिटरमा राख्नुपर्ने हुन्छ। भेन्टिलेटरमा पुगेका धेरै बिरामीले ज्यान गुमाउने गरेका छन्।'

उनले यही अवस्थामा संक्रमित आए १० दिनमा मृतक संख्या थप बढ्न सक्ने चेतावनी दिएका छन्। गाउँ-गाउँमा भएका बिरामीलाई जोगाउनु अहिलेको मुख्य चुनौति रहेको उनी बताउँछन्।

सशस्त्र प्रहरी अस्पतालका कोभिड प्रवक्ता डा. प्रविण नेपाल अघिल्लो हप्ताको तुलनामा अस्पतालमा बिरामीको चाप कम भए पनि बिरामी भर्नामा कमी नआएको बताउँछन्। 'सिकिस्त बिरामी बढेका छन्', डा. नेपालले भने, 'आईसीयू, भेन्टिलेटर चाहिने बिरामीलाई वार्डमानै राख्नुपरेको छ।’ अबको केही समय कठिन हुने उनी बताउँछन्। 

इपीपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल पनि गाउँ-गाउँमा संक्रमण फैलिरहेको बताए। कोरोना महामारीको दोस्रो लहरको सबैभन्दा अप्ठ्यारो साता चैत महिनाको अन्तिम सातायता देखिएको उनले बताए । ‘यी दिनहरूमा द्रूत दरमा संक्रमण बढेको देखिन्छ,’ डा. पौडेलले भने, ‘हाम्रो उपचारात्मक प्रणाली विशेष गरी अस्पतालहरू, अस्पताल शय्याहरू, अक्सिजन, आईसीयू र भेन्टिलेटरका लागि ठूलो माग रह्यो।’

डा. पौडेलका अनुसार दोस्रो लहरमा युवा उमेर समूहका व्यक्तिहरू संख्यात्मक रुपमा बढी प्रभावित भएका छन्। उनले अक्सिजन चाहिने नयाँ बिरामीलाई भर्ना गर्न नै गह्रो परिरहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगिसकेको जनाएको छ। मन्त्रालयले दोस्रो चरणको संक्रमण दर उच्च विन्दुमा पुगिसकेको र गतहप्ताको तुलनामा समग्रमा ५ प्रतिशतले संक्रमण दर घटेको जनाएको छ। तर, ५० वटा जिल्लामा भने व्यापक संक्रमण दर रहेको मन्त्रालयको भनाइ छ। प्रतिलाख जनसंख्यामा संक्रमणदर १० प्रतिशतभन्दा बढी भएमा संक्रमणको अवस्थालाई व्यापक मानिन्छ । 

तर, ५० जिल्लामा भने संक्रमणदर प्रतिलाख जनसंख्यामा २७.८ प्रतिशत रहेको छ। जसले गर्दा कोरोनाका गम्भीर बिरामी बढ्न सक्ने चिकित्सकहरू बताउँछन्। जनस्वास्थ्य विज्ञ डा. शरद वन्त भने अहिले कोरोना संक्रमितको संख्यामा कमी आएको भन्न नमिल्ने बताउँछन्। उनले भने, 'निशेषाज्ञाका कारण संक्रमितको संख्यामा कमी देखिएको हो, तर प्रत्येक घरमा कोरोना संक्रमित छन्, उनीहरू परीक्षणको दायरामा नपुगेकाले संक्रमितको संख्यामा कमी देखिएको हो।’

किन बढ्दैछन् सिकिस्त बिरामी? 

त्रिवि शिक्षण अस्पतालका डा. दासका अनुसार बिरामीहरू ढिलो गरी अस्पताल पुग्दा सिकिस्त बिरामी बढेको बताउँछन्। नयाँ भेरियन्ट निकै संक्रामक रहेको र बिरामी ढिलो अस्पताल पुग्दा समस्या उत्पन्न भएको छ। 'अधिकांश संक्रमित होम आइसोलसन्मा छन्', डा. दास भन्छन्, 'अस्पतालमा बेड नपाउने समस्याले उनीहरू अस्पताल पुग्नै डराएका छन्, जसले गर्दा उनीहरूमा लक्षण देखिन थालेपछि पनि उनीहरू घरेलु उपचार नै गरिरहेका छन्। घरमा निकै गाह्रो भएपछि अस्पताल पुग्ने प्रवृतिले गर्दा पनि सिकिस्त संक्रमितको संख्या बढेको छ।’

हाल देशभर १ लाख १५ हजार ४ सय ४७ संक्रिय संक्रमित छन्। जसमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन्।  संक्रमण पुष्टि भएका तथा नभएका जुनसुकै व्यक्ति पनि स्वास्थ्यमा समस्या आउनेवित्तिकै अस्पताल पुग्न उनको आग्रह छ। होम आइसोलेसनमा हुने संक्रमितले आफूखुशी औषधि सेवन गर्दा पनि समस्या देखिएको छ। 

'बिरामी जति ढिला अस्पताल पुग्छन्, उपचार प्रक्रिया पनि उती नै जटिल बन्दै जान्छ', डा. दासले भने, 'अहिलेको संक्रमितमा एउटामात्रै लक्षण देखिएको भए पनि त्यसले गम्भीर समस्या निम्त्याएको छ। पहिलाजस्तो एउटै संक्रमितमा धेरै लक्षण देखिएको छैन। कुनै बिरामीलाई ज्वरो मात्रै आएको छ, कुनै संक्रमितलाई खोकीमात्रै लाग्ने, टाउको दुख्ने, छाति दुख्ने जस्ता कुनै एउटा लक्षणमात्रै पनि देखिएका छन्।’

एउटै लक्षण देखिए पनि कोरोना संक्रमणको आशंकामा सचेत हुन डा. दासले आग्रह गरे। यस किसिमको लक्षण देखिएर तत्काल अस्पताल जाने हो भने हुन सक्ने क्षतिलाई कम गरी धेरैजनाको ज्यान जोगाउन सकिने उनले बताए।

प्रकाशित: May 25, 2021| 09:20 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्