बुधबार, असोज १४, २०८३

युगकवि श्रेष्ठ : कवितामा क्रान्ति ल्याउने कवि

चेतना र जागरणका गीत गाउने कार्यमा सिद्धिचरणले तत्कालीन युगमा दिएको योगदान अहिले पनि साहित्यानुरागीहरुले प्रशंसा गर्दछन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

ओखलढुंगा- आइतबार युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती। विसं १९६९ जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा जन्मिएका श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले जीवन्त छन्। श्रेष्ठको २०४९ जेठ २२ गते निधन भएको थियो। 

श्रेष्ठ नेपाली कवितामा क्रान्ति शब्दको प्रयोग गर्ने प्रथम क्रान्तिकारी कविका रूपमा परिचित छन्। नेपाली साहित्य जगतबाट क्रान्ति, परिवर्तन र समतामूलक समाजको परिकल्पना गर्नुे उनले देशको माटो, नागरिकले लिएको बाटो र राजनीतिमा फैलिएको विकृतिको पाटोलाई केन्द्रमा राखेर कलम चलाए। उनी नेपाली समाजमा विकृतिको रूपमा रहेको जातीय विभेद वा छुवाछुत प्रथाका घोर विरोधी मानिन्छन्। 

चेतना र जागरणका गीत गाउने कार्यमा सिद्धिचरणले तत्कालीन युगमा दिएको योगदान अहिले पनि साहित्यानुरागीहरुले प्रशंसा गर्दछन्। ‘साहित्यमार्फत समाज रुपान्तरणको बाटो जसरी उहाँले देखाउनुभयो पछिल्लो पुस्ता आज पनि उहाँकै बाटोमा हिडिरहेको छ,’ साहित्यकार एवम् ओखलढुङ्गा क्याम्पसका प्राध्यापक डा भेषनाथ खनाल भन्छन्, ‘परिवर्तित समाजमा क्रान्तिको उद्घोष गर्ने स्रष्टाहरू जति पनि हुन सक्छन् तर स्रष्टाको मूल्याङ्कन ऊ बाँचेको युग वा उसले गरेको सिर्जनाको युगीन धरातलबाट हुनुपर्छ । यस आधारमा हेर्दा कवि सिद्धिचरणको भूमिका जति प्रशंसा गरेपनि कम हुन्छ।’

 सिद्धिचरणले युगान्तकारी परिवर्तनको बिजारोपण गर्दै कवितामार्फत समाज चित्रण गरेझैं साहित्यमार्फत पछिल्लो पुस्ताले दमदार आवाज बुलन्द गर्न सक्नुपर्ने डा खनालको तर्क छ। सिद्धिचरणले सिर्जनामार्फत राणाकाल, प्रजातन्त्रकाल र पञ्चायतकाल तीनै समयमा एउटै आवाज उठाएको पाइन्छ। साहित्य क्षेत्रबाट सिद्धिचरणको स्मरणमा प्रकाशित सबैजसो लेख, रचनामा उहाँले कल्पना गरेको क्रान्ति, परिवर्तन, जाति, वर्ग, लिङ्ग, धर्म, संस्कृतिलगायत सबैखाले विभेदरहित समतामूलक समाजको स्थापना र प्रत्येक नागरिकमा परिवर्तनको अनुभूति तथा स्वाधीनतापूर्ण नेपाली जीवनको पहिचानलाई सम्झना गरेको पाइन्छ।

श्रेष्ठले आफ्नो जन्मभूमिको सम्झनामा लेखेको मेरो पियारो ओखलढुङ्गा कविता चर्चित छ। त्यसबाहेक उहाँका नेपाली भाषा र नेपाल भाषाका गरी दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्। सिद्धिचरणले कविताका विविध रूपअन्तर्गत लघुतम रूप (मुक्तकीय रचना), लघु रूप (फुटकर कविता) र मध्यम रूप (खण्डकाव्य) गरी तीन ओटा रूपमा विशिष्ट कलम चलाएको पाइन्छ। उनका कवित्वको चरम प्राप्ति फुटकर रचनामा पाइन्छ भने आख्यान र कवित्वको सन्तुलित मिश्रण खण्डकाव्यमा पाइन्छ। 

उनका ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचना लोकप्रिय छन्। उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति छन्। विसं १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखेवापत तत्कालीन सरकारले उनलाई १८ वर्षको जेल सजाय तोकेको थियो। 

ओखलढुङ्गामा जन्मिएका युगकवि श्रेष्ठको नामबाट उनको जन्मभूमिमा पूर्ण कदको शालिक राखिएको छ। सो शालिकको गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी थिइन्। श्रेष्ठकै सम्मानमा जिल्लाको एक मात्र नगरपालिकाको नाम सिद्धिचरण नगरपालिका राखिएको छ। नगरपालिकाले सिद्धिचरणको योगदानलाई जीवन्त राख्न विशेष योजना ल्याएर नगरपालिका क्षेत्रलाई साहित्यिक पर्यटकीय नगरी बनाउने अभियान थालेको छ।

युगकविकै नामबाट साहित्यिक सङ्ग्रहालय स्थापना गरिएको छ भने युगकविको जन्मभूमिमा स्रष्टापार्क निर्माणको काम थालिएको छ। युगकविकै नामबाट सिरहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको मुख्य सडकको नाम सिद्धिचरण लोकमार्ग राखिएको छ। -पूर्णप्रसाद न्यौपाने/रासस

प्रकाशित: May 23, 2021| 15:41 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।