सोमबार, असार २९, २०८३

'देउवाले मालिक खुशी पारे, पार्टी बर्बाद बनाए'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २८ जेठमा एकै ठाउँ जम्मा भए, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला तथा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी । उनीहरूलाई साथ दिए, केन्द्रीय सदस्यत्रय नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलले ।

कांग्रेस सभापति शेरबहादुर देउवा हालसम्म पार्टी जीवनमा बलियो प्रतिपक्षीविहीन थिए । २८ जेठको भेलाबाट देउवाविरुद्धको मोर्चाबन्दी बलियो बन्ने संकेत देखिएको छ, कांग्रेसभित्र । किनकि, अलग-अलग गुट बनाएर चलिरहेका पौडेल, सिटौला र केसीबीचको एकताले देउवाका लागि चुनौती दिनसक्ने समूह तयार भएको छ ।

उनीहरूको सामूहिक आरोप छ, 'देउवाले मालिक खुशी बनाए, पार्टी बर्बाद बनाए । पार्टीभन्दा पदलाई प्राथमिकता दिए, पूर्वाग्रही व्यवहार गरे । विधि, विधान र पद्धति कुल्चँदै संगठन कमजोर बनाए ।'

'चुनावमा पराजित भएको तथ्यलाई स्वीकार्दै पार्टीलाई शक्तिशाली बनाउन व्यवहार, आचरण र मूल्यांकनको परिपाटी बसाल्न सभापतिजी असफल भए,' वरिष्ठ नेता पौडेल भन्छन्, 'अब कांग्रेसलाई पुरानो ठाउँमा फर्काएर हुँदैन, नयाँ गन्तव्यमा पुर्‍याउनुपर्छ ।'

केही समयअघि महामन्त्री डा. शशांक कोइरालालाई पोखरामा वरिष्ठ नेता पौडेलले भनेका थिए, 'फोटो खिचेर जलप लगाएको एकताको औचित्य छैन ।' त्यसको जवाफ पौडेलले देउवाबाटै पाए । राष्ट्रपति निवासमा भेट हुँदा देउवा पौडेलमाथि खनिए, 'मलाई नक्कली सुन भनेर विरोध गर्ने ?'

पार्टीलाई विधानसम्मत ढंगले चलाउन आग्रह गर्दा सभापति देउवा रिसाउने गरेको पूर्वमहामन्त्री सिंह बताउँछन् । उनी प्रश्न गर्छन्, 'पार्टीको कमी-कमजोरी हामीले नऔंल्याएर के कम्युनिस्टले औंल्याउने हुन् र ?'

- 'पार्टीको कमी-कमजोरी हामीले नऔंल्याएर के कम्युनिस्टले औंल्याउने हुन् र ?'


नेविसंघलाई पनि कांग्रेसजस्तै लथालिंग र भताभुंग बनाउन अध्यक्ष नैनसिंह महर लागिपरेको आरोप सिंहको छ । पार्टी सभापति देउवाकै जस्तो कार्यशैली महरको पनि देखिएको उनी बताउँछन् । नेविसंघमा ११ वटा जिल्लाको अधिवेशन गराउनै नसक्नु त्यसको उदाहरण भएको सिंहको भनाइ छ ।

उपेन्द्र यादव, महन्थ ठाकुर, कमल थापा र पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन सभापति देउवाले ठूलो मिहिनेत गरेको तर ती सबै नेता कांग्रेसलाई हराउन ज्यान फालेर लागिपरेको पूर्वमहामन्त्री सिटौला बताउँछन् । पार्टी मजदूर, शिक्षक, प्राध्यापक, इञ्जिनियर र पत्रकारलाई समानुपातिकमा अवसर नदिएर देउवाले चर्को वर्गीय विभेद गरेको उनको आरोप छ । उनी भन्छन्, 'सभापतिजीलाई मजदूर चाहिएन, मालिक भए पुग्ने रहेछ ।'

सिटौलाका अनुसार सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष भएर किन समर्थन गरेको भनेर सभापति देउवासँग जिज्ञासा राख्दा 'थाहै नपाएको' जवाफ दिएका छन् । उनी प्रश्न गर्छन्, 'संसदमा के विषयमा छलफल हुँदैछ र कांग्रेसको धारणा के हो भन्ने थाहा नपाउने सभापतिबाट के आशा गर्ने ?'

सभापति देउवा सीमित समूहको नियन्त्रणमा रहेको पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी बताउँछन् । 'अधिनायकवादी र समर्पणवादी दुवै प्रवृतिबाट पार्टी चल्दैन,' केसी भन्छन्, 'कांग्रेसको वर्तमान नेतृत्व स्वेच्छाचारी चरित्रको छ ।'

कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउने सभापति देउवाको प्रतिबद्धताले पार्टी सफल नहुने युवा नेता गगन थापाको ठम्याइ छ । उनी भन्छन्, 'आगामी चुनावमा थपिने ४० लाख नयाँ मतदातामध्ये कम्तीमा १५ लाखलाई कांग्रेसमा जोड्न सक्नुपर्छ ।' सभापति देउवाको कार्यशैलीबाट त्यो सम्भव नहुने उनी बताउँछन् ।

पार्टीभित्र सामन्तवादी संस्कार कायम रहेकाले नीति, व्यवहार, आचरण, शैली र नेतृत्व परिवर्तन जरुरी भएको युवा नेता प्रदीप पौडेल बताउँछन् । 'नेतृत्व स्वेच्छाचारी बन्दा समग्र संगठन नै कमजोर बनेको छ,' केन्द्रीय सदस्य नवीन्द्रराज जोशी भन्छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।