सोमबार, असार २९, २०८३

नेपाली एफएमका भारतीय स्रोता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- रञ्जय राय सीमापारिको भारतीय बजारमा किराना पसल चलाउँछन् । पसलमा हरक्षण रेडियो बजिरहेको हुन्छ । उनले सुन्ने रेडियो स्टेसन भने भारतीय नभई नेपाली हुने गर्छ ।

गीत-संगीत र देश-विदेशको खबरका लागि रायको विश्वास जितेका छन्, सीमावारिका नेपाली एफएमहरूले । 

भारत बिहारको मधुवनी जिल्लास्थित बासोपट्टीका बासिन्दा हुन्, राय । उनको शहर जनकपुरबाट करिब २०/२५ किलोमिटर टाढा पर्छ । 'नेपालका रेडियोहरूले गीत-संगीत त सुनाउँछन् नै, समाचार पनि घण्टैपिच्छे दिन्छन्,' उनी भन्छन्, 'हामीलाई रेडियो सुनेर समय बिताउन सहज भएको छ ।' 

बासोपट्टीमा अधिकांश पसल र घरमा नेपाली एफएम बजिरहेका छन् । मधुवनीकै खजौली बजारका मोहम्मद इरफान पनि नेपाली रेडियोका पारखी हुन् । उनको कानमा हरदम इयरफोन जोडिएको हुन्छ । र, रेडियोमा बजिरहेको हुन्छ, नेपाली एफएम । 

जनकपुरका रेडियोहरूले मैथिली र हिन्दी भाषामा गीत-संगीत र कार्यक्रमहरू पस्किने गरेकाले भाषाको समस्या नभएको इरफान बताउँछन् । नेपाली एफएमका कार्यक्रमहरू उनलाई कण्ठस्थ छन् । भन्छन्, 'हरेक घण्टामा आउने समाचारले देश-दुनियाँको खबर थाहा पाउन सहज भएको छ ।'

जनकपुरका एफएमहरू सञ्चालनमा नआउँदासम्म सीमा आसपास बस्ने भारतीय नागरिकहरू दरभंगा र पटनाबाट प्रसारण हुने आकाशवाणी सुन्थे । अहिले भने आकाशवाणी सुन्नेहरू भारतीय भूमिमै कम हुन थालेको सीतामढीको भिठ्ठामोडका डब्बु कुमार बताउँछन् ।

महोत्तरीको सीमानजिक पर्छ, भिठ्ठामोड बजार । 'एफएमको आवाज तिख्खर हुन्छ, सुन्न समस्या हुँदैन । यही कारण नेपाली रेडियोका भारतीय स्रोता धेरै छन्,' कुमार भन्छन् । 
 
'नेपालका रेडियोहरूले गीत-संगीत त सुनाउँछन् नै, समाचार पनि घण्टैपिच्छे दिन्छन् । देश-दुनियाँको खबर थाहा पाउन सहज भएको छ ।'

भारतीय स्रोताहरूले एकोहोरो नेपाली एफएम मात्र सुन्ने होइनन्, भारतीय नम्बरबाटै आईएसडी कल गरेर गीत फर्माइस पनि गर्छन् । भारतीय स्रोताको क्रेज थाहा पाएका नेपाली एफएमहरूले पनि 'फोन इन' कार्यक्रम सञ्चालन गरेर प्रत्यक्ष गीत-संगीतको आनन्द दिन्छन् । 

त्यस्ता कार्यक्रममा साथीभाइ र आफन्तजनलाई विशेष अवसरमा शुभकामना दिन अभ्यस्थ भइसकेका छन्, भारतीय स्रोताहरू । 

आर्थिक विकासको दौड तीव्र छ, भारतीय भूमिमा । तर, सीमा क्षेत्रमा एफएम स्टेसन खोल्न स्थानीय बासिन्दाको ध्यान गएको पाइँदैन । एफएम सञ्चालनको अनुमति लिन नेपालमा जस्तो सहज पनि छैन, भारतमा । 

झण्झटिलो प्रक्रिया र अनुमतिमा कठिनाइका कारण रेडियो स्टेसन खुलेका छैनन् । त्यही कारण हो, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा र रौटहटका एफएम स्टेसनका स्रोता ठूलो संख्याका भारतीय नागरिकहरू बन्नु पनि । 


एक समय थियो, नेपालमा पनि रेडियो नेपाल मात्र सञ्चालनमा थियो । नेपाली नागरिकहरू अल इन्डिया रेडियोका कार्यक्रमहरूमा रमाउँथे । अहिले अवस्था फेरिएको छ, भारतीय नागरिकहरू नेपाली एफएमका क्रेजी बनेका छन् । मैथिली भाषामै कार्यक्रमहरू सञ्चालन हुनाले पनि उनीहरूलाई सहज बनेको हो । 

उताकै स्रोताको संख्या ठूलो भएकाले भारतीय उद्योगधन्दा, व्यवसाय र उत्पादनहरूका विज्ञापन पनि नेपाली एफएमहरूले पाइरहेका छन् । नेपाली रेडियोहरूमा बज्ने अधिकांश विज्ञापन भारतीय बजारकै हुने गर्छ । 

चुनावी अभियानमा उम्मेदवार र राजनीतिक दलहरू प्रचारप्रसारमा जुट्नु नौलो विषय होइन । रेडियोहरूमा उम्मेदवार र राजनीतिक दलहरूको प्रचारप्रसार गर्ने चलन नेपालमा पनि नौलो होइन । त्यही शैली पछ्याएका छन्, भारतीय राजनीतिक दल र उम्मेदवारहरूले । पारिपट्टि हुने स्थानीयदेखि केन्द्रसम्मको चुनावमा नेपाली एफएमहरू प्रशस्त विज्ञापन पाउँछन् । सोही कारण नेपाली स्रोता पनि अपडेट रहन्छन्, भारतीय चुनाव, उम्मेदवार र परिणामबारे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।