एजेन्सी- भारतमा कोरोनाको दोस्रो लहरमा ४२० जना डाक्टरको निधन भएको छ। इन्डियन मेडिकल एसोसियसनका अनुसार दोस्रो लहरमा सबैभन्दा बढी दिल्लीमा १०० डाक्टरको निधन भएको छ।
गत अप्रिल महिनादेखि तीव्र रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर दिल्लीमा केही दिनयता केही सुस्त देखिएको छ।
भारतीय समाचार एजेन्सी एएनआईले एसोसियसनलाई उधृत गर्दै जनाएअनुसार बिहारमा ९६ जना डाक्टरको निधन भएको छ भने उत्तर प्रदेशमा ४१ जनाको निधन भएको छ।
यसै हप्ताको सुरुमा एसोसियसनले भारतमा २७० जना डाक्टरको निधन भएको जनाएको थियो। कोरोनाको दोस्रो लहरमा निधन हुने डाक्टरमा एसोसियसनका पूर्व राष्ट्रिय अध्यक्ष डा. केके अग्रवालसमेत छन्।
उनको गत सोमबार कोरोना संक्रमणका कारण ६५ वर्षको उमेरमा निधन भएको थियो।
महामारीको महिलो लहरमा भारतमा ७४८ जना डाक्टरको निधन भएको थियो। बीबीसीका अनुसार एसोसियसनमा साढे ३ लाख डाक्टरको मात्र रेकर्ड छ। जबकि भारतमा साढे १२ लाखभन्दा धेरै डाक्टर छन्।