पटना (भारत)- कोरोना संक्रमित व्यक्तिमा ब्ल्याक फंगसका साथै ह्वाइट फंगसको पनि समस्या देखिएको छ। भारतको विहारस्थित पटना मेडिकल कलेज तथा अस्पताल (पीएमसीएच)मा चार जनामा ह्वाइट फंगस (क्यान्डिडाइसिस अर्थात् सेतो ढुसी)को समस्या देखिएको विहारका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका हुन्।
'पटना मेडिकल कलेजमा चार जनामा कोरोनाको जस्तै लक्षण देखिएको थियो। परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण नदेखिए पनि ह्वाइट फंगस देखियो,' कलेजमा माइक्रोबायोलोजी विभाग प्रमुख एसएन सिंहले भने, 'ह्वाइट फंगस देखिएका बिरामीलाई एन्टिफंगल मेडिसिन दिइएको र उनीहरूको अवस्था सुधारोन्मुख छ।' कोरोना संक्रमण निको भएका बिरामीमा ह्वाइट फंगसको समस्या देखिएको बताइएको छ।
'यीमध्येका एक जना बिरामी चिकित्सक नै हुन्। ह्वाइट फंगसको समस्या देखिएका उनको कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोमा समस्या देखिएको छ,' पटना मेडिकल कलेजका अर्का चिकित्सकले भने।
ह्वाइट फंगसको समस्या देखिएका सबै बिरामीहरूको फंगस कल्चर परीक्षण गरी सावधानीपूर्वक उपचार गर्न स्वास्थ्य विभागले निर्देशन दिइसकेको छ।
चिकित्सकहरूका अनुसार सेतो ढुसीले फोक्सोका साथै नङ, छाला, पेट, मिर्गौला, मस्तिष्क, गुप्ताङ्ग र मुखमा समस्या निम्त्याउँछ। ब्ल्याक फंगस (म्युकरमाइकोयोसिस अर्थात् कालो ढुसी)भन्दा पनि ह्वाइट फंगस बढी जोखिमपूर्ण हुने चिकित्सकहरूले बताएका छन्।
विहारमा यसअघि नै कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा ब्ल्याक फंगसको समस्या देखिएको थियो। कालो ढुसीले रोग प्रतिरोधात्मक क्षमता कम भएका, मधुमेह, मिर्गौला रोगी, अंग प्रत्यारोपण गरेका वा स्टेरोइड, किमोथेराप्युटिक एजेन्टस् प्रयोग गरिरहेका बिरामीलाई बढी असर गर्दछ।
कोरोना संक्रमण कम हुँदै गए पनि ब्ल्याक फंगस र ह्वाइट फंगसको समस्यायुक्त बिरामीको संख्या बढेको भन्दै विहारका स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। विहारमा एक सय भन्दा बढी कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा ब्ल्याक फंगसको समस्या देखिएको छ। उनीहरूको पटना मेडिकल कलेज र इन्दिरा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचार भइरहेको छ। -डाउन टु अर्थ