काठमाडौं- एक्टर र फेसन काेरियोग्राफर प्रशान्त ताम्राकार फुटबलका ठूला फ्यान हुन् । उनलाई विश्वकपको ज्वरो यसरी लाग्दैछ कि खेल अवधिभर कुनै काम नगर्ने सोच बनाएका छन् ।
नेपाली जनमनमा गहिरो गरी बसेको छ, फुटबल । शायद मान्छेहरूको प्रिय खेल नै हो यो । ताम्राकार पनि त्यसभन्दा फरक छैनन् । आफूलाई मन पर्ने खेलाडीले लगाउने रङको टी–सर्ट किनिसकेका छन् । भन्छन्, ‘शुरुदेखि अन्त्यसम्म खेल हेर्नेछु ।’
विश्वकपले उनी जति उत्साहित छन्, त्यति नै निराश पनि । कारण हो, लियोनेल मेस्सीको संन्यास । मेस्सी उनलाई मन पर्ने खेलाडी हुन् । जादुयी फुटबल खेलाडी मेस्सीले संन्यास लिने निर्णयप्रतिले ताम्राकार दुःखी छन् । भन्छन्, ‘वल्र्डकप जितेर मात्रै संन्यास लिइदिएको भए हुन्थ्यो ।’
मेस्सीकै टी–सर्ट लगाएर ताम्राकार यसपटकको विश्वकप हेर्न चाहन्छन् । खेलभरि खेलाडीहरूले अनुशासनका साथ खेलिदिऊन् भन्ने उनको चाहना छ । उनी भन्छन्, ‘मन परेको खेलाडीले रफ खेल्यो भनेर कुरा नकाटियोस् ।’ फुटबलप्रतिको उनको लगाव झल्काउँछ, यस धारणाले ।
फुटबल बुझ्न सहज छ । पुरानो खेल भएकाले होला ग्रामीण भेगमा पनि यसप्रति उत्तिकै आकर्षण छ । गाउँघरसम्म बिजुली र टेलिभिजनको पहुँच पुगेकाले यसपटक विगतभन्दा बढी देशव्यापी रौनक छाउने सम्भावना पनि नभएको होइन ।
फिफा वल्र्डकप हेर्न नचाहने को नै होला र, जो चार वर्षमा एक पटक मात्र आउँछ ।
शुरूदेखि नै हेर्यो भने खेलाडी चिन्न सहज हुन्छ । ताम्राकारले पनि विश्वकप अवधिका लागि साथीहरूलाई अहिलेदेखि नै जानकारी गराएका छन् । किनभने, उनी घरमा बसेर विश्वकप हेर्न चाहँदैनन् । भन्छन्, ‘साथीहरूसँग बसेर खेल हेर्दाको मजा बेग्लै हुन्छ ।’
त्यसैले, यसपालिको विश्वकप कुनै शानदार रेस्टुराँमा हेर्ने योजना बनाएका छन् । ‘शायद त्यो ‘लोकेसन’ दरबारमार्ग हुनसक्छ,’ उनी भन्छन्, ‘हरेक खेलाडीको खेललाई मूल्यांकन गर्दै साथीहरूसँग रमाउनुको मजै बेग्लै ।
उनका साथीहरूले अप्रत्यक्ष बाजीको प्रस्ताव पनि राखेका छन् । साथीहरूसँग बसेर त्यस किसिमको ‘फण्डा’ गर्ने रहर उनमा पनि छ । भन्छन्, ‘साथीहरूमा विस गर्न पनि नर्मल बाजीहरू राख्छौं ।’
उनको भनाइमा बाजीले दर्शकलाई धैर्यशील बनाइराख्छ । खेल हुनुअघिको उत्साह जगाइराख्छ । सही खेलबारे बोल्न ऊर्जा प्रदान गर्छ ।
हरेक खेलमा हारजित हुन्छ । जसले हारे पनि खेलप्रतिको मोह साथीहरूमा सेयर गर्छन्, ताम्राकार । खेल हुन्जेलसम्म साथीहरूबीच मितव्ययिता कायम भइरहन्छ । ‘यस किसिमको जमघटले मित्रतालाई प्रगाढ बनाइरहन्छ,’ उनी भन्छन्, ‘वर्ल्ड कपले खेलप्रेमीलाई थप एकाग्र पनि बनाइरहन्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४