सोमबार, असार २९, २०८३

रामचन्द्रले सुनाए घोर्ली बाख्रो हराएको कथा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी सार्वजनिक गरेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार खोरबाट घोर्ली बाख्रो हराएको उखानलाई एक तीर दुई निशाना बनाए ।

उनको तीर ‘पार्टी सभापति देउवाको नालायकीपना’ र ‘प्रधानमन्त्री केपी ओलीको अधिनायकवादी बाटो’ दुवैतिर सोझिएको थियो ।

प्रधानमन्त्री ओलीले संसद्मा प्रतिपक्षी दल नै नरहेको भनेर अभिव्यक्ति दिएकै भोलिपल्ट सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले मौन समर्थन गर्नु गल्ती भएको पौडेलले औंल्याए । अनि, दुई तिहाइको सरकार बनाउन दुई कम्युनिस्ट पार्टी एक हुनु र मधेशकेन्द्रित दलका नेता उपेन्द्र यादवलाई ल्याउन मरिहत्ते गर्नु संयोग मात्र हुन नसक्ने बताए ।

‘जंगलमा बाघ कराउनु र खोरबाट घोर्ली बाख्रो हराउनु संयोग मात्र हुन सक्दैन,’ पौडेलले भने, ‘कांग्रेस नेतृत्वको कमजोरी र दुई तिहाइ पुर्‍याएरै छाड्ने कम्युनिस्टहरूको गतिविधिलाई कसरी संयोग मान्न सकिन्छ ?’

उनले थपे, ‘नत्र, प्रचण्डजीले पोखरा पुगेर अब कार्यकारी राष्ट्रपति चाहियो भनेर किन भन्नुपर्‍यो ?’

कांग्रेसलाई पार्टीभित्र र बाहिर दुवैतिरबाट घेराबन्दीमा पार्ने काम भइरहेको पौडेलको दाबी थियो । ‘पैसाको खोलो बगाउने काम भयो,’ उनले भने, ‘अब कांग्रेसले विगतमा गरेको गल्ती सुधार्दै कर्मशील बाटोमा नलागे अस्तित्वमाथि नै चुनौती आउनेछ ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको वर्तमान नेतृत्व र भताभुंग भएको संगठनले दुई वटा पार्टी मिलेर बनेको सत्तारुढ दलसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । कम्युनिस्ट पार्टीको आधारभूत चरित्र नै अधिनायकवाद भएकाले वर्तमान सरकारको गलत कार्यको प्रतिरोध गर्न नेविसंघलाई उनले निर्देशन दिए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले राज्य संयन्त्रलाई कमजोर बनाउन अनेकौं चालबाजी गरिरहेको बताए । कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध लड्न कांग्रेसलाई सदन र सडकको मैदान खाली भएको उनको भनाइ थियो ।

सिटौलाले भने, ‘कांग्रेस कमजोर भएको छैन । अब विद्यार्थीले सडक तताउनुको विकल्प छैन ।’

पूर्वसह-महामन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारको नेतृत्वबाट लोकतन्त्रको संरक्षण सम्भव नभएको बताए । वर्तमान सरकारले ४० प्रतिशतसम्म मूल्यवृद्धि गरेको र आगामी पाँच वर्षसम्म लगानी गर्नेको सम्पत्तिको स्रोत नखोज्ने भनेर लिएको निर्णयले कालोबजारी गर्नेहरूलाई संरक्षण दिएको बताए । सिंहले भने, ‘सरकार साँच्चैको भ्रष्टाचारविरोधी हो भने सुनकाण्डको छानविन गहिराइमा गएर गर्न चुनौती दिन्छु ।’

युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री ओली राति दुई बजेसम्म नसुत्ने गरेको सूचना गम्भीर भएको बताए । उनले भने, ‘कांग्रेसलाई गाली गर्न शब्द र उखान तुक्का खोज्नका लागि समय खेर फालिरहनुभएको छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कांग्रेस नेतृत्वले थप्पडी बजाएर अनुमोदन गर्दै सरकारलाई निरंकुश बन्न मौका दिएको आरोप पौडेलले लगाए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।