सोमबार, वैशाख ८, २०८२

अस्पतालको बेडमा मुर्झाइरहेका सपना

‘बुवाको शव लैजाँदा लोलाइरहेका श्रीमान‍्का रुग्ण आँखा टिलपिलाइरहेका थिए। उनले आफूलाई सम्हाल्न सकेनन्। घोप्टो परे। र, सुँक्कसुँक्क गर्न थाले!’
 |  शनिबार, जेठ ८, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, जेठ ८, २०७८

vianetvianet

‘बुवाको शव लैजाँदा लोलाइरहेका श्रीमान‍्का रुग्ण आँखा टिलपिलाइरहेका थिए। उनले आफूलाई सम्हाल्न सकेनन्। घोप्टो परे। र, सुँक्कसुँक्क गर्न थाले!’

triton college

काठमाडौं - बिहीबार राजधानी झरिले भिजिरहेको थियो। दिनभन्दा धेरै धुम्म थियो अस्पतालका कोरोना पीडित र आफन्तको मन। पानीभन्दा धेरै उनीहरूका आँखाबाट आँसु खसिरहेका थिए। लाग्थ्याे, उनीहरू चलचित्रका पात्र हुन्। त्यहाँ वास्तविकता होइन, चलचित्रका दृश्य देखिइरहेका छन्। जहाँ प्रत्येक पात्रभित्र एउटा दर्दनाक कथा छ। 

यतिबेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमितको चाप कम भएको छ। बाहिरी दृश्य शान्त देखिन्छ। तर, त्यहाँ हुनेहरू प्रत्येकको कथा दु:खदायी छ। उपचार पाएर पनि उनीहरूकाे भाेगाइ बडाे दर्दनाक छ। कोरोना संक्रमित भएर अस्पतालमा बस्नेहरू एकै परिवारका तीन/चार जनासम्म छन्। 

‘ऊ... आर्मीको गाडी गयो। के बुबाको देहान्त शरीर लगिरहेको हो?,’ अस्पताल टहरामा संक्रमित भएर छटपटाइरहेका छोराले पत्नी अरुणा शाक्यसँग सोधे। ससुराको शव बोकेर हुइँकिएको गाडी त्यही थियो। तर, अरुणाले पतिको आत्मबल घट्ने डरले खै भन्दै टारिदिइन्। केही समयअघि उनले ससुराको शव अत्येष्टिका लागि लैजान आर्मी टिमलाई सबै कागजपत्र दिएकी थिइन्।

National life insurance

पतिका आँखा टिलपिलाइरहेका थिए। उनले आफूलाई सम्हाल्न सकेनन्। घोप्टो परे। र, सुँक्कसुँक्क गर्न थाले! नेपाल आर्मीको गाडी नआउन्जेल अरुणाको दौडधुप थियो। अस्पतालको कुनामा ससुराको मृत शरीर असरल्ल थियो। जेठको बेमौसमी झरी ससुराकाे डेथ बडी ब्यागमाथि तपतप चुहिरहेकाे थियो। उता छोरा-बुहारीको आँखाबाट बलिन्द्रधारा आँसु!

 

अरुणाको मन करुणाले भरिएको थियो। एकैछिनमा ससुराको शव हेर्न पुग्थिन् उनी। एकैछिनमा बिरामी पतिको बेडमा। उनको पीडादायी अवस्था मनै थाम्न नसकिने खालको थियो। उनी आफैं पनि कोरोना संक्रमित हुन्। पतिसँगैको अर्को बेड उनका लागि छुट्याइएको छ। तर,पतिको भन्दा अवस्था केही सहज भएकाले उनी पानीमा भिज्दै यताउती दौडिरहेकी थिइन्।

१५ दिनअगाडि उनीहरू अस्पताल भर्ना भएका हुन्। पतिको स्वास्थ्यमा थोरै सुधार हुन थालेको पाँच दिन मात्रै भएको छ। सोही समयमा बुवा बित्दा उनी फेरि शिथिल बनेका छन्। बुवाको निधनपछि चिन्तित बनेको उनको अक्सिजन लेबल फेरि घटेकाे छ।

त्यही डरले अरुणाले पतिलाई ससुराको देहान्त भएको खबर सुनाउन चाहेकी थिइनन्। तर, पतिले प्रत्येक पटक बुवालाई कस्तो छ भन्दै सोध्दा अरुणा भक्कानिन्थिइन्। उनीसँग मृत्युको खबरबाहेक अरू उत्तर थिएन। जति गर्दा पनि उनले पीडा लुकाउन सकिनन् र सुनाइन्।

अरुणा शारीरिक र मानसिक रुपमा कमजोर भइसकेकी छन्। उनीहरूको पीडा त्यत्तिमै सीमित छैन। १७ दिन अगाडि मात्रै अरुणाले कोरोनाकै कारण जेठाजु गुमाइन्। त्रिवि शिक्षण अस्तालमा उपचारका क्रममा जेठाजुकाे निधन भएकाे उनले बताइन्। थानकोटस्थित घरमा अहिले जेठानी र उनका छोराछोरी मात्रै छन्।

‘छोरालाई पनि ज्वरो आएको छ भन्दै दिदीले रुँदै फोन गर्नुभएको थियो। यता अस्पतालमा हाम्रो आफ्नै यस्तो अवस्था छ। दैव लागेपछि आखिर के गर्न नै पो सकिँदो रहेछ र?', उनले भनिन्, '१७ दिनमा ससुरा र जेठाजु गमाएँ। पतिको यस्तो अवस्था छ। आफैं संक्रमित छु। अर्को छोरा पनि संक्रमित छ। हाम्रो त वंश नै सकिन्छ कि? डर लागिरहेको छ।’

जेठाजुको वैशाख २१ गते उपचारकै क्रममा मृत्यु भयो। त्यसपछि परिवारका सबै सदस्यले पीसीआर परीक्षण गरे। सबैको रिपोर्ट नेगेटिभ आयो। उता श्रीमानको स्वास्थ्यमा असहजता भइरहेको थियो। उनले टेकु ल्याइन्। फेरि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो। श्रीमानको स्याहार गर्दागर्दै उनी आफैं पनि संक्रमित भइन्।

'ससुराले बुहारी तिमी घर आउ। म आउँछु छोरालाई कुर्न अस्पताल भन्नुहुन्थ्यो', उनले भनिन्, 'हामीलाई ढाडस दिइरहने बुवा छोराको मुख देख्न नपाउँदै सदाका लागि हामीलाई छोडेर जानुभयो।' उनले बुढो मान्छेलाई अस्पतालमा केही गरी संक्रमण भए गाह्रो हुने भन्दै आउन नदिएको बताइन्। घरमै रहँदा पनि ससुरालाई संक्रमण भएको र जति गर्दा पनि बचाउन नसकिएको उनी बताउँछिन्।

‘बुवा  अस्पताल आउनुभयो। तर, बिरामी भएर। अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभयो। न छोराले बुवाको अनुहार हेर्न पाउनुभयो न बुवाले छोराकाे। मंगलबारसम्म त सञ्चै हुनुहुन्थ्यो। नआत्ति बस्नु भन्दै फोन गर्नुभएको थियो। तर, भोलिपल्ट बुधबार बिहानै उहाँलाई गाह्रो भयो। ४ बजे अस्पताल पुर्‍याइयो। ११ बजे नै प्राण त्याग्नु भयो', उनले गह भर्दै भनिन्।

०००

अरुणाको कुरा सुन्दै छेवैमा अर्का संक्रमितका आफन्त बसिरहेका थिए। अरुणाका कुराले ती आफन्तका आँखा टिल्पिलाइरहेका थिए। 

उनलाई पंक्तिकारले एक हप्ता अगाडि समाचार संकलनका लागि जाँदा त्यही अस्पतालमा देखेको थियो। ती हुन्- नेत्र ठकुरी। एक हप्ता अगाडि उनीसँग कुरा गर्दा २९ वर्षीय छोराको आईसीयूमा उपचार भइरहेको बताएका थिए। र, आफ्नो फोन नम्बर पनि दिएका थिए।

अहिले पनि छोराको उपचार भेन्टिलेटरमै भइरहेको छ। उनी २४ सै घन्टा आईसीयूको गेटमा कान ठाडो पारेर बसेका हुन्छन्। उनका कान दुई कुरा सुन्न सधैँ आतुर हुन्छन्। एउटा छोरालाई ठिक हुँदै गएको खबर र अर्को छोरालाई आवश्यक पर्ने औषधि ल्याउन। डाक्टरले यो औषधि ल्याउनुस् भन्दा उनको वृद्ध शरीर लर्बराउँदै फार्मेसीतिर कुदिहाल्छ। १८ दिन अगाडिदेखि उनका छोरा उपचाररत छन्।

नेत्र ठकुरीका अनुसार अस्पताल ल्याउनु ५ दिन अगाडि छोरालाई घाँटी दुखेको थियो। 'टनसिलको औषधि खुवायौं। निको भएन। नाकबाट रगत बग्न थाल्यो। मेडिकल गएर जचाई पिनासको औषधि ल्यायौं। तेस्रो दिनदेखि ज्वरो आउने, रुघा लाग्ने भयो, कोरानाको शंका लागेर तातो पानी दिने,  औषधि खुवाउने गर्‍यौं। तर, समस्या झनै बल्झियो', उनले भने।

अस्पतालमा बेड प्याक रहेका खबर आइरहेका थिए। उनले अस्पताल चहार्दा झनै जोखिम हुने ठानेर छोराको घरमै राम्रो रेखदेख गरिरहेका थिए। तर, अवस्था झनै नाजुक बन्दै गएको थियो। तर, छोरालाई च्याप्दै लग्यो। छोराको एक्सरे गर्दा फोक्सोमा इन्फेक्सन देखियो। र, उनले टेकु ल्याए। त्यसपछि छोराको अवस्था झनै खस्किँदै गयो। जसले गर्दा अहिले उनका छोराको आईसीयूमा उपचार भइरहेको छ।

१८ दिन अगाडि टेकुको इमर्जेन्सीमा ल्याएको र आठ दिनपछि बल्ल भेन्टिलेटरमा राखिएको उनी बताउँछन्। अहिले छोराको जीवन रक्षाको कामना गर्दै दिनकै अस्पतालमा कुरिरहेको उनले बताए।

अस्पतालसँग उनको कुनै गुनासो छैन। गुनासो छ त केबल आफैंसँग। किनकि सम्भावित अवस्थालाई नजरअन्दाज गर्दागर्दै  छोरालाई समयमै अस्पताल नल्याएकोमा पश्चताचाप लागिरहेको उनले बताए।

उनी छोराको स्वास्थ्यवस्था भन्दा उपचारमा सधैँ एक कदम पछाडि परे। जतिबेला छोरालाई आईसीयूको आवश्यकता थियो त्यो बेला अक्सिजन मात्रै पाए। जब आईसीयू बेड पाए तब भेन्टिलेटरको आवश्यकता परिसकेको थियो। अहिले उनी भेन्टिलेटरमा छन्। तर, अवस्था निकै नाजुक भइसकेको चिकित्सकले बताएका छन्। छोराको इन्जिनियर हुने सपना थियो। उनी कुनै चमत्कार भएर छोरो इन्जिनियर भएको हेर्न चाहन्छन्।

साँच्चै अस्पतालमा देखिने यस्ता दृश्य निकै कारुणिक छन्। आईसीयूको गेटमा आफन्तहरू प्रियजनको जीवन रक्षाको कामना गर्दै ढोकातिर आँखा लोलाइरहेका हुन्छन्। बिरामीका पैतालाका चप्पल आईसीयू छिर्ने ढोका छेवैको झोलामा कुरिरहेका छन्। उनीहरूका कपडा पनि शरीरमा उनिनका लागि आतुरझै देखिन्छन्।

प्रकाशित: May 22, 2021| 06:45 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।